सोनामाई मन्दिरमा ३ सय ६५ दिन नै बोकाको बलि चढाइन्छ

|

जनकपुरधाम : बडा दसैंका बेला अनादिकालदेखि नै भूत मेलाका लागि प्रख्यात महोत्तरीको सोनामाई मन्दिरमा बुधबारदेखि भूत मेला सुरु भएको छ। महोत्तरीको औरही नगरपालिका-७ मा अवस्थित सोनामाई शक्तिपीठमा परापूर्वकालदेखि नै भूत मेलाका लागि प्रख्यात रहेकोले षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने भूत मेलामा हजारौं पीडित (कारनी) र दर्शनार्थी मेला हेर्न आउन थालेका छन्।

प्रत्येक वर्ष बडा दसैंको षष्ठीदेखि विजयादशमीसम्म सोनामाइमा लाग्ने भूत मेलामा भूतप्रेत र मृत आत्माले सताइएका हजारौं पीडित प्रत्येक वर्ष  मेलामा आउने र सोनामाईको कृपाले मानिसहरु निको भएर जाने गरेको जनविश्वास रहेको सोनामाई मन्दिरका पूजारी कामेश्वर झाले बताए।

सोनामाई मन्दिरमा भूत, पिशाच, कालो जादुटुनाको कुचक्रमा परेर जीवन मृत्युको दोधारमा परेकाहरु सोनामाईको सीमा क्षेत्रमा आउनेबित्तिकै आफू कसबाट सताइएको भन्नेबारे लड्दै-पड्दै, रुँदै हाँस्दै आफैं बक्न थाल्दै देवी दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई आ-आफ्ना घर फर्कने गरेको अर्का पूजारी झगरु झाले बताए।

मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, सप्तरी रौतहटलगायत सुनसरी, मोरङ र काठमाडौंदेखि सीमावर्ती क्षेत्र भारतका सीतामढी, मधुवनी र पटना सहरसम्मका हजारौं मृत दुष्ट आत्माबाट सताइएका पीडित महिला तथा पुरुषहरु आफ्नो दुःख निवारणका लागि आउने गरेको रामगोपालपुरका अम्बिका कुमारी बताउँछन्।

सोनामाई शक्ति पीठमा धामी झाँक्री रात दिन भजन कीर्तन र भूत भगाउने काममा तल्लीन रहन्छन् भने, २४ सै घन्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरुको पीडा हरण गर्ने गरेको पूजारी झाले बताए।

सोनामाईमा भूत मेलामा आत्माले सताइएका आउँछन् र निको भएर जाने जनविश्वको आधारमा परापूर्वकालदेखि नै लाग्दै आएको मान्यता रहेको छ। सोनामाई स्थानबाट प्रख्यात रहेको उक्त मेलामा एक दिनमा करिब हजारौको संख्यामा बोकाको बलि चढाइन्छन् भने केही संख्यामा राँगाको बलिसमेत चढाइन्छ।

सोनामाई मन्दिरमा ३ सय ६५ दिन नै बोकाको बलि चढाइन्छ। सामान्य दिनको तुलनामा सप्तमीदेखि विजयादशमीको दिनसम्म बढी बोका बलि चढाउने गरिएको सहायक पूजारी अरुण झा बताउँछन्।

सोनामाईको असिम कृपाले निको भएर गएका भारत मधुवनी हिंसार बरहीका किरण देवी महतोले आफ्नो दुःख निवारण भएपछि भाकल गरेको बोका बलि बढाउन यस वर्ष पनि आएको बताइन्। माताको दरबारमा एकपटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूत प्रेत र जादु टुनामुनाको शक्ति नलाग्ने विश्वास जनमानसमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.