विचार

पशु बलिः ठीक कि बेठीक?
SHARES

असोज १२, २०७४

    'मान्छे स्वभावैले हिंस्रक छ'

    मान्छे स्वभावैले हिंस्रक हुन्छ। त्यसैले हामी हिंसाप्रति आकर्षित भएका हौँ। किन महाभारतकालीन लामो कालखण्डको गीताको चर्चा यति धेरै छ? किन रामायणका अरू प्रसंग गौण छन् तर राम र रावणको युद्धको सन्दर्भलाई महत्त्व दिँदै हामी दसैँ मनाउँछौँ? किन दुर्गा र महिषासुरको युद्धलाई हामीले यतिविघ्न महत्त्व दिएका छौँ? 

    आधुनिक इतिहासको अनेकन आयाममा पनि प्रथम तथा दोस्रो विश्व युद्धका सन्दर्भमा धेरैको चाख छ। किन आम सञ्चारका माध्यममा हिंसाका सामग्री नै बिक्री हुने गरेका छन्? किन सानासाना अबोध बालबालिकाहरूले कमिला तथा अन्य कीराहरूलाई देख्नेवित्तिकै किचिरमिचिर पार्छन् हो, मान्छे स्वभावैले हिंस्रक हुन्छ। 

    हिंसाको सन्दर्भमा गज्जबको कुरा छ। जुन मानिसमा जति गहिराइमा हिंसाको भाव छ, त्यति नै मात्रामा उसमा ममता पनि हुन्छ। हिन्दू धर्मका सन्दर्भमा सबैभन्दा उग्र र प्रचण्ड देवी, काली र सबैभन्दा ममतामयी देवी पार्वती एकै देवीकै फरक फरक रूप हुन्। दसैँका सन्दर्भमा पनि त्यस्तै मनोदशाले काम गरेको हुन्छ। दसैँमा पशु बलि सँगसँगै पूजा, आशीर्वाद र ममता पनि त छ।  

    हिंसाको कारण ‘म’ र ‘मेरो’ भाव हो 
    हिंसाको स्रोत भन्नु ‘म’ र ‘मेरो’ भाव हो। जहाँ मेरो र आफ्नोको सिमाना खिचिएको हुन्छ, त्यहाँ सँगसँगै परायाको पनि सिमाना खिचिएको हुन्छ। जहाँ मित्रको साँध बनाइएको हुन्छ, त्यहाँ सँगसँगै शत्रुको पनि साँध तयार हुन्छ। त्यही मेरो, आफ्नो र परायाको बीच खिचिएको रेखा नै हिंसाको कारण हो। हामी जब आफ्नालाई, मित्रलाई ममता गरिरहेका हुन्छौँ, तब परायामाथि, शत्रुमाथि हिंसा गरिरहेका हुन्छौँ। 

    वास्तवमा ‘म’ भावको निमूल नभई मान्छे अहिंस्रक बन्नै सक्दैन। अहिंस्रक मान्छेमा हिंसा सँगसँगै ममताको पनि विलय हुन्छ। त्यस्ता मानिसमा करुणा भाव विकास भएको हुन्छ। अहिंसाको बोध नभएकाको हिंसाको विरोध गर्नु वा पशु बलि चलनको विरोध गर्नु भनेको त्यो झूट हो। हामी मासु खान मनपराउँछौँ अनि हिंसाको विरोध गर्छौं भने अथवा हामीलाई रिस उठ्छ, आफैँमा हिंस्रक स्वभावका छौँ भने बलि दिने चलनको विरोध गरेर जनावरको बध गर्नेहरूसँग आक्रामक हुन्छौँ भने पशु बलिको विरोध गर्नु झूट हो। 

    यदि मनमा व्याकुलता छ भने मूर्ति पूजा गर्नु वा मूर्ति पूजाको विरोध गर्नु यी दुवै पक्षमा उभिएका मानिस उस्तै हुन्। अनि व्यकुलता छ भने भगवान् मान्नु वा नमान्नुमा के फरक पर्छ? हो, हिंसा नराम्रो कुरा नै हो, तर हिंसा मानिसको स्वभाव पनि त हो। तसर्थ, पशु बलि गर्ने चलनका सन्दर्भमा पनि विरोध वा समर्थनमा उत्रनुभन्दा पनि त्यसको मनोवैज्ञानिक पाटो र अध्यात्मको पाटो केलाउनु जरुरी हुन्छ। 

    मानिस स्वभावैले हिंस्रक भएकै कारण पशु बलि दिने चलनले यतिविघ्न महत्त्व पाइरहेको छ। तर किन दसैँ जस्तो महान् पर्वमा बलि दिइन्छ? किन जात्राका उत्सवहरूमा बलि दिइन्छ? किन पूजा जस्तो पावन कार्यमा बलि दिइन्छ? किन मन्दिर जस्तो पवित्र स्थलमा बलि दिइन्छ? बलि दिनुको अध्यात्मिक महत्त्व के छ त? बलीको सन्दर्भमा कस्तो मनोविज्ञानले काम गर्छ?

    वर्षौंदेखि पशु बलि दिएर हामीले नकाम गर्‍यौँ भनेर केही मानिसमा हीन भावना आउन सक्छ। हिंसाको सट्टा अहिंसाले प्रतिस्थापन गर्छ भने त्यो राम्रो हो। तर हिंसाको साटो हीनताले ठाउँ लिन्छ भने त्यो अर्को समस्या बन्नेछ। अर्को पाटोमा यदि हामीले हिंसालाई ठीक हो भनेर व्याख्या गर्‍यौँ भने हामीभित्रको हिंस्रक प्रवृत्तिले मलजल पाउनेछ। यी दुवै अर्थमा नोक्सानि मात्र हात लाग्नेछ। 

    अध्यात्ममा बलि : आफैँभित्रको पाशविक चरित्रको नाश 
    अध्यात्म भनेको आफ्नै शरीर र मनको सन्दर्भमा सचेत भई रूपान्तरित हुने प्रक्रिया हो। अध्यात्ममा पशु बलि भनेको आफूभित्रको पाशविक चरित्रको नष्ट गर्नु भन्नु नै हो। भगवान् शिवले आफूभित्रको पशु प्रवृत्तिको बलि दिएकै कारण शिव पशुपति कहलिएका हुन्। हरेक मानिसमा आफूभित्रको पशुवत प्रवृत्तिको बलि दिने क्षमता छ। अर्थात् हरेक मानिस पशुपति बन्न सक्छ। तर सबै मानिस आफैँप्रति सचेत हुन सक्ने तयारी हालतमा हुँदैनन्। तिनको सन्दर्भमा आन्तरिक पशु प्रवृत्तिको बलि दिनु भनेको कुनै काल्पनिक कुरा मात्र हुन जान्छ। 

    तर अध्यात्मिक उपलब्धिका लागि कल्पनाभन्दा महसुस गर्नुले महत्त्व राख्छ। त्यसैले स्वयंमा सचेत हुन नसक्ने मानिसका रूपान्तरणका सन्दर्भमा ऊभित्रको पशु प्रवृत्ति, विशेषतः ऊभित्रको हिंस्रक प्रवृत्तिको बोध गराउनु नै पशु बलि दिने कार्यको उद्देश्य हो। जताततै निर्दोष पशु मारिँदै गर्छन्  भने चेतनशील मानिसमा एक प्रकारको असहजता पैदा हुन्छ। असहज अवस्थामा मात्रै मानिसले आफ्नो चित्तमा भएको मनोदशाको दर्शन गर्नसक्छ। सहज अवस्थामा मानिसलाई आन्तरिक मानोदशाको ज्ञान हुँदैन। 

    दसैँमा बलि किन? 
    दसैँका सन्दर्भमा पशुलाई दैँत्य महिषासुरका प्रतीक मानेर बलि दिइँदै आएको मान्यता प्रचलनमा छ। अज्ञानीका लागि यो कुरा आफ्नो हिंस्रक प्रवृत्तिलाई ढाकछोप गर्ने धार्मिक कवच भएको छ। तर पशुलाई महिषासुर सम्झनु भन्नुको अर्थ भनेको पशु बलि दिइरहँदा वा पशु बलिको नजिकैबाट अवलोकन गरिरहँदा आफूभित्रको पशुवत प्रवृत्तिप्रति सचेत हुँदै पशु बलि दिनु  वा पशु बलि नियाल्नु भनेको हो। यसो गर्दा हामीले आफूभित्रको हिंस्रक चित्तको बोध गर्न सक्छौँ अनि हामीमा हिंस्रक मनको रूपान्तरण हुन सक्छ। हिंस्रक र ममताबाट अहिंसामा मस्तिष्क रूपान्तरित हुन सक्छ। वास्तवमा अहिंसालाई बोध गर्न हिंसाबाट गुज्रनै पर्छ। अर्को कुनै उपाय नै छैन। 

    त्यसलै आफूभित्रको हिंसाको हेक्का राख्दै सचेत हुँदै पशुबध गर्दा वा पशुबध गरेको नियाल्दा मानसिक रूपान्तरण भएकाहरूका सन्दर्भमा दसैँ उत्सव नै हो। सांकेतिक अर्थमा फूलपाती र अष्टमीका दिन बलि दिइनु र नवमीमा र दशमीमा पशु बलि नगरिनु, बरु त्यसको साटो नवमीमा पूजा गर्ने र दशमीको दिन टीका ग्रहण गर्ने सन्दर्भ पनि सप्तमी र अष्टमीपश्चात् आफूभित्रको पशु प्रवृत्तिको अन्त्य भएर उत्सव स्वरूप दशमीका दिन टीका लगाइएको हो। तर यहाँनेर प्रश्न उठ्छ, यत्रो वर्षौंसम्म पशु बलिमार्फत् हिंसाको यत्रो शृंखला चलिरहँदा पनि किन हिंसामा कमी आएको छैन त? किन आम मानिसमा रूपान्तरण आएको छैन त? 
    पशु बलि जायज हो त? 

    हो, सिंगै समाजको सन्दर्भमा बलि दिने प्रचलन ज्यूँका त्यूँ छ। तर व्यक्तिका मानसिक रूपान्तरणका सन्दर्भहरूमा कोही मानिसमा परिवर्तन भएको हुन सक्छ। हिजो मार हान्दै हिँड्ने वा पशुको बधलाई नजिकबाट हेरेकाहरूको चित्त आज अहिंस्रक भएको हुन सक्छ। तर केही समस्या छ। एक त पशुबध गरिरहँदा आफ्नै चित्तलाई नियाल्ने सन्दर्भमा हामीलाई आजसम्म कुनै धर्म गुरुले सिकाएका छैनन्। अर्को कुरा प्रायजसो मानिसहरू सचेत हुँदैनन्। जसलाई स्वयंको चेतनाले झकझाउँदैन, त्यस्ता मानिसका सन्दर्भमा पशु बलिको परम्पराले रूपान्तरण ल्याउनै सक्दैन। 

    उदाहरणका लागि, महाभारत युद्ध हुनु अगाडि अर्जुन जस्तो महायोद्धाले युद्ध गर्ने सन्दर्भमा कठिनाइ महसुश गरे। तर किन मैदानमा रहेका अन्य योद्धाका सन्दर्भमा कृष्णले हिंसा र ममताभन्दा परको अवस्था अहिंसा प्राप्त गर्नका लागि हिंसा वा युद्धको उपयोग गर्ने सन्दर्भमा कसैलाई केही बताएनन्? स्वचेतनाले किन अन्य योद्धालाई झकझकाएन? पशु बलि गर्ने परम्परा पनि अचेत मानिसका लागि मासुले मुख मीठो बनाउने सन्दर्भमा बाहेक लाभदायक हुन सक्दैन। तर चेतनशीलहरूका लागि यसले अवश्य परिवर्तन ल्याउन सक्छ। 

    यहाँनेर फेरि अर्को जिज्ञासा उब्जन्छ, उसो भए के मानिसको रूपान्तरणका लागि निर्दोष पशुहरूको बध गर्ने कार्य जायज छ त? होइन, पशु बध जायज वा नजायज दुवै होइन। जायज र नाजायज भन्दा मानिसको रूपान्तरणले महत्त्व राख्दछ। तर पशु बलिको अर्को पनि मनोविज्ञान छ। 

    मानिस स्वभावैले हिंस्रक भएको सन्दर्भमा उसको त्यो भावलाई दबाइराख्नु ज्यादै खतरायुक्त हुन्छ। मानिसभित्रको हिंसा भावले निकास पाउन जरुरी हुन्छ। पशु बलि परम्परा मानिसभित्रको हिंसालाई व्यवस्थापन गर्ने विधि पनि हो। मानिसको मनभित्र दबाइएको हिंसालाई बाहिर निकास हुन दिने सन्दर्भमा सकेसम्म कम जोखिमका साथ धेरै हिंसाको बाहिरी निकास हुन दिनु बुद्धिमता हुन्छ।

    यदि हामीले पशु बलिलाई रोक्न खोज्यौँ भने मानिसभित्रको जबरजस्त प्राकृतिक स्वभाव हिंसाले निकास नपाउँदा हत्या, अपराध वा द्वन्द्वका घटनाहरू बढ्न सक्छन्। परिवारभित्रै हिंसाका घटनाहरू हुन सक्छन्। अनि अन्तरमुखी मानिसका सन्दर्भमा भने तिनले आत्महत्या गर्ने वा आफैँमाथि हिंसा गर्न पनि सक्छन्। 

    बलि प्रथाको विरोध र समर्थन दुवै ठीक होइन
    वर्षाैंदेखि पशु बलिलाई हिन्दू संस्कारसँग अन्योन्याश्रित सम्बन्धका रूपमा व्याख्या गरिँदै आएको छ। तसर्थ कुनै समूहले यदि पशु बलिको विरोध गर्‍यो भने परम्परादेखि पशु बलि गर्दै आएकाहरूले त्यसलाई नकारात्मक रूपमा लिन सक्छन्। 

    हिंसा मानिसभित्रको अनेक व्याकुलतामध्ये एक प्रमुख प्रकार हो। मानसिक व्याकुलताका सन्दर्भमा अर्को मनोविज्ञानले पनि काम गर्छ। यदि कसैले पशु बलि परम्परामाथि जबर्जस्त रूपमा आक्रमण गर्‍यो भने प्रतिउत्तरमा केही मानिस विरोधीहरूप्रति हिंस्रक हुन सक्छन्। अथवा वर्षौंदेखि पशु बलि दिएर हामीले नकाम गर्‍यौँ भनेर केही मानिसमा हीन भावना आउन सक्छ। हिंसाको सट्टा अहिंसाले प्रतिस्थापन गर्छ भने त्यो राम्रो हो। तर हिंसाको साटो हीनताले ठाउँ लिन्छ भने त्यो अर्को समस्या बन्नेछ। अर्को पाटोमा यदि हामीले हिंसालाई ठीक हो भनेर व्याख्या गर्‍यौँ भने हामीभित्रको हिंस्रक प्रवृत्तिले मलजल पाउनेछ। यी दुवै अर्थमा नोक्सानि मात्र हात लाग्नेछ। 

    त्यसैले विरोध र पक्षमा वकालत गर्नुभन्दा पशु बलिलाई मानिसको मनको रूपान्तरणका सन्दर्भमा उपयोग गर्नुमा केन्द्रित गर्नु जरुरी छ। यदि पशु बलिलाई मानिसको मनको रूपान्तरणका सन्दर्भमा उपयोग गर्दै जाने हो भने एक दिन अवश्य हिंसा र ममताको साटो अहिंसाले ठाउँ लिनेछ। पशुप्रतिको करुणाले ठाउँ लिनेछ। र, एक दिन अवश्य पशु बलि परम्पराको समूल नष्ट हुनेछ।

महेश श्रेष्ठ

लेखक श्रेष्ठ अध्यात्मबारे कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]