विचार

भाइचाराको पर्व दसैँ
SHARES

असोज १३, २०७४

    नेपाली आँगनमा दसैँको चहलपहल सुरु भइसकेको छ। संसारमा जहाँजहाँ नेपाली छन्, त्यहाँत्यहाँ दसैँको तयारी छँदै छ। दसैँ पहिले धार्मिक पर्वको रूपमा मनाइन्थ्यो भने अहिले विशुद्ध साँस्कृतिक चाडको रूपमा मनाउन थालिएको छ। पहिले यो चाड विशुद्ध हिन्दूको मात्र पर्व थियो भने अब यो पर्वलाई खासगरी बहुधार्मिक नेपाली मात्रको साँस्कृतिक पर्वको रूपमा मनाउन थालिएको छ। 

    दसैँको आधार आश्विन शुक्ल दशमीको दिन नै हो। नौ दिनको पूजाआजा पश्चातको दसौँ दिनको महत्त्वलाई यसले सँगालेको छ। त्रेतायुगमा श्रीरामले रावण जस्तो वीरलाई पराजित गर्नका लागि देवीको अतिरिक्त शक्तिको आह्वान गर्दै नौ दिनसम्म देवीलाई विभिन्न स्वरूपमा पूजाआजा गरेको प्रसंग एकातिर आउँछ भने अर्कोतिर देवीको आह्वानका लागि चैत्र र आश्विनमा दुई पटक नवाह लगाउने चलन पनि छ। नेपालमा अहिले पनि चैते दसैँ र वडादसैँ मनाउने चलन छ। युधिष्ठिरले पनि देवीको आह्वान गरेको प्रसंग पढ्न पाइन्छ, अतिरिक्त शक्तिका लागि महाभारतको युद्धभन्दा पहिले नै। 

    वास्तवमा यो बेला भनेको प्रकृति पुजनको बेला हो। आखिर जीवन प्रकृतिको देन हो र प्रकृतिले नै बचाउने हो। दिनरात बराबरी हुने, आश्विन शुक्ल पक्षमा जाडोको सुरुवात र चैत्रमा गर्मीको सुरुवात हुने बेलाको देवी पुजनको समय मानिएको छ। देवी भनेकी प्रकृति हुन् र मार्कण्डेय पुराणअन्तर्गतको सप्तशती चण्डी महिमा पढ्दा विशुद्ध प्रकृति पुजनको महत्त्व देखिन्छ। त्यहाँ वर्णित असुरहरूमा मानिसको प्रकृतिमा देखिने अहंकारसँगको तादत्म्य पाइन्छ भने विवेकरूपी शक्तिको रूपमा देवीलाई वर्णन गरिएको छ। विवेकले मात्र ती अहंकार, दम्भ र आसुरी प्रवृत्तिमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने आसय पाइन्छ। तिनै विवेकको सृजना गर्ने ज्ञान नै देवी हुन् र असुरको नाश गर्नका लागि उनको उत्पत्ति भएको भनेको विवेकको उत्पत्ति या प्रयोग नै हो। 

    दसैँलाई नेपालीहरूका लागि धार्मिक पर्वभन्दा परिवारका बीचको आपसी भेटघाट र सम्बन्ध वृद्धि गर्ने सामाजिक मनोविज्ञानको सकारात्मक स्वरूपमा बुझ्न सकिन्छ। जसरी नेपाली समाज संक्रमित रूपमा अघि बढिरहेको छ र विश्वव्यापीकरणले नेपाली समाजलाई विभिन्न स्वरूपमा विश्वभर छरिन सक्ने बनायो, त्यसैगरी अहिले दसैँ पनि विश्वभर नेपालीहरूलाई एकतामा जोड्ने पर्वको रूपमा देखिएको छ। यसका स्वरूप पनि स्थानअनुसार फरक फरक पनि हुन सक्ने संभावना बढेर गएको छ। विश्वभर नेपालीको महान चाड भनेर दसैँ र तिहारलाई सबै धर्म र सँस्कृतिका मानिसहरूले स्वीकार गरिसकेको अवस्था पनि अहिले देखिन्छ। अमेरिकी पूर्व राष्ट्रपतिहरू जिम्मी कार्टर, बिल क्लिन्टन र बाराक ओबामाले अमेरिकामा बसेका नेपालीहरूलाई शुभकामनासमेत दिएको सुनिएको थियो, उनीहरूको कार्यकालमा। 

    पुरानो समयमा पनि दसैँले परिवारहरूलाई संगठित र पुनर्संगठित गर्दथ्यो र अध्यात्मिक चिन्तनमा लिप्त गराउँथ्यो। नौ दिनसम्म जमरा राखेको ठाउँमा विभिन्न स्वरूपमा देवीको आह्वानमा पूजा गर्दै जस्तोसुकै समस्यासँग जुधेर विजयी हुनका लागि त्यसले मनोवैज्ञानिक ऊर्जा प्रदान गथ्र्यो र विजया दशमीको रूपमा स्वीकृत थियो। तर पनि दसैँ खानपिन र राम्रो लगाउने चाडको रूपमा नै स्वीकृत थियो। त्यति हुँदा पनि नेपालमा मनाइने दसैँ या नवरात्रिको सामाजिक मान्यता र नेपालबाहेक अन्य देशमा मनाइने दसैँको महत्ता र प्रक्रियामा मौलिक रूपमा नै अन्तर पाइन्थ्यो। प्रत्येक परिवारले आफ्नो घरमा जमरा राखेर देवीको पूजा गर्नु र प्रत्येक परिवारले देवीको प्रसादका रूपमा विजया दशमीका दिन फूलको सट्टा जमरा लगाउनु नेपाली विशेषता हो।

    महिषासुरको बधका कारणले केही समुदायले महिष बध गरेर खाने र अरूले खसी, बोका, हाँसको बध गरेर प्रसादको रूपमा मासु खाने चलन पनि विशेषताको रूपमा नेपालमा मात्र पाइन्छ। मासु खाने काम ठीक हो कि होइन भन्ने विवाद पहिले देखि नै छ र पनि आमरूपमा दसैँ भनेको मासु खाने चाडको रूपमा नै लिइन्छ। सायद नेपाल नै यस्तो साँस्कृतिक चाडमा सरकारले दिने लामो बिदा पाइने देश हुन पनि सक्छ। जसले दसैँ मनाउँछ, त्यसले त मनाउने नै भयो, जुन समुदायले दसैँ मनाउँदैनन्, तिनले पनि यसलाई नेपालमा राष्ट्रिय चाडको रूपमा मीठो मीठो खाएर र पर्व मनाउनेलाई शुभकामना दिएर मनाउँछन्।

    टीकाको लगाई पनि नेपालमा ठाउँअनुसार फरक फरक देखिन्छ। काठमाडौँ वरिपरि र पूर्वतिर कोजाग्रत पूर्णिमाका दिन जमरा सेलाउन नलगुन्जेलसम्म टीका लगाउने चलन छ भने गण्डकी अञ्चलदेखि पश्चिम र मध्यपश्चिमको माथिल्लो भेगसम्म दसैँको टीका अर्थात् दशमीका दिन मात्र टीका लगाउने चलन अझै पनि छ। नेपालीहरू जहाँजहाँ गएका छन्, त्यहीँ आफ्नो मौलिक रैथाने चलनलाई मान्दै आएका पनि देखिन्छ। 

    नेपालमा दसैँ र तिहार मनाउने चलनमा मौलिकता छ तर यसको अनुसन्धान कमै भएको पाइन्छ। देवी पूजाबाहेक यसका विशेषताहरूमा पर्छन्– पिङ खेल्ने, मासु खाने, टीका लगाउने र टीका लगाउन र आशीर्वाद ग्रहण गर्न आफ्ना नातेदारहरूका घरमा जाने। बहिनी, छोरीहरू माइत आउने, ससुराल जाने र भान्जाभान्जीहरू मावलमा टीका लगाउन आउने चलन कायमै छ। 

    टीकाको लगाई पनि नेपालमा ठाउँअनुसार फरक फरक देखिन्छ। काठमाडौँ वरिपरि र पूर्वतिर कोजाग्रत पूर्णिमाका दिन जमरा सेलाउन नलगुन्जेलसम्म टीका लगाउने चलन छ भने गण्डकी अञ्चलदेखि पश्चिम र मध्यपश्चिमको माथिल्लो भेगसम्म दसैँको टीका अर्थात् दशमीका दिन मात्र टीका लगाउने चलन अझै पनि छ। नेपालीहरू जहाँजहाँ गएका छन्, त्यहीँ आफ्नो मौलिक रैथाने चलनलाई मान्दै आएका पनि देखिन्छ। 

    नेपालको दसैँमा महाभारतकालीन झझल्को देखिन्छ। टीकाका दिन मान्यजनले लगाइदिने टीकाको आशीर्वादमा मुख्यतः यस्तो भनिन्छः

    आयुद्र्रोणसुते श्रेयो दशरथे शत्रुक्षयं राघवे।
    ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।।
    दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
    विज्ञानेविदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

    अर्थात् आयु अश्वत्थामा वा द्रोणपुत्रको जस्तो होस्। चिरञ्जीवी हुनू। रामचन्द्रको जस्तो शत्रु दमन गर्न सक्ने क्षमता होस्। नहुष राजाको जस्तो ऐश्वर्य अर्थात् स्वर्गको इन्द्रको पदवी पाएका नहुषको जस्तो सम्पत्ति श्री बढोस्। वायुको जस्तो अनवरत, कहिल्यै नरोकिने गति होस्। दुर्योधनको जस्तो मान होस्, जसलाई गुरु, पितामहसम्मले राजाको रूपमा मान दिएका थिए। दानशीलता कर्णको जस्तो होस्, जसले मागेको दिनका लागि आफ्नो छालासमेत काडेर आफ्नो कवच दान दिएका थिए। कर्ण जस्तै दानवीर हुनू। बलमा बलराम जस्तो हुनू। सत्यको सम्मान गर्नका लागि युधिष्ठिर जस्तो सत्यवादी हुनू। विदुर जस्तै ज्ञानी, विवेकी हुनू र नारायण कृष्णको जस्तो कीर्ति फैलियोस्। 

    यो आशीर्वचन कसले लेख्यो, कसले भन्न सुरु गरेको हो, सायद कसैलाई पनि थाहा छैन। तर यो आशीर्वचनले के देखाउँछ भने महाभारतकालको प्रभावले दसैँ आच्छादित छ। सायद नेपाल र भारतको दसैँ मान्ने परम्पराका बीचमा पाइने अन्तरमा कुनै साँस्कृतिक कारण हुन सक्छ, जसको अझै अनुसन्धान गरिएको छैन। 

    प्रकृति देवीको आराधना, समशीतोष्ण मौसम, खेतीको लगाउने काम समाप्त भएको, हिलोसँग खेलेर भर्खर बसेको बेला, मीठोमीठो खाने, अझ मासुका परिकारहरू पनि खाने अनि सपरिवार भेटघाटका लागि देवीको प्रसाद टीकाको बहानामा मान्यवरले आशीर्वचन पनि दिने कति रमाइलो समयको परिकल्पना गरिएको! जमराका बारेमा भनिन्छ— यो लगाउने कि खाने हो? लगाउने चलन त छँदै छ, जमरालाई खाने चलन पनि आयुर्वेदले कल्पना गरेको छ, औषधिको रूपमा। 

    धार्मिकभन्दा सामाजिक सम्बन्धलाई बढी जोड दिइएको नेपाली मात्रको विशेष चाड दसैँलाई कम खर्चमा मनाउने चलन गर्नु जरुरी छ। अहिले अहिंसावादी तथा पशु अधिकारवादीहरूले हिंसाविहीन दसैँका लागि पनि अभियान चलाउन थालेको प्रसंगमा तथा माता भवानीका लागि यो संसारका सबै जीव सन्तान भएकाले माताको खुसीका लागि कुनै जीवनको हत्या गरिनु हुँदैन र माता खुसी हुने कुरा पनि होइन भन्ने कडा तर्क पनि आएको छ, जसलाई गलत भन्न पनि सकिँदैन। सँगै चलेको चलनलाई नमान्नु पनि भन्न नसकिने दोधारमा नेपाली समाज परेको बेला छ अहिले। 

    नेपाली मात्रको विशिष्ट पहिचान देखिने मौलिक चाड दसैँलाई आपसी भाइचाराको सम्बन्ध वृद्धि गर्न र सदियौँदेखिको नाता परिवारलाई एकजुट बनाउन, कुनै रिसइवीविनाको समाज निर्माणको मनोविज्ञान लिएको यो चाडलाई अझ परिमार्जित गरी सबै धर्म र सँस्कृतिको साझा चाडको रूपमा मनाउन जरुरी छ। 

    अहिले नेपालीहरू विश्वभर छरिएका छन्। नेपालबाहिर गएको छोरो, छोरी, भाइ या बहिनी, नाति, नातिनी घर फर्कने यो एउटा सुअवसर बनेको छ। पहिले बाटाघाटाको कुनै सुविधा नहुँदा परदेश गएका घरका सदस्यहरू जमघट हुनका लागि कुर्ने समय यही थियो। चेलीबेटी, ज्वाइँ, भान्जाभान्जीलाई स्वागत गर्ने समय यही थियो। अहिले पनि परिवारको मात्र नभएर नेपाली नेपालीका बीचमा सम्बन्ध ताजा र पुनर्ताजगी गराउने पर्वको रूपमा नेपालबाहिर पनि यसलाई मनाउन थालिएको छ। चियापान गरेर दसैँको शुभकामना आदान प्रदान गर्ने चलन पनि व्यापक रूपमा चलेको छ, समाजीकीकरणको सहज र सरल उपायका रूपमा। 

    यो मौलिक चाडमा सम्पूर्ण मानव जातिको कल्याण होस्, शान्तिपूर्ण जीवन यापन गर्नका लागि माता भवानीले सबैलाई वरदान दिनुहोस् र सम्पूर्ण नेपालीको हितका लागि माताले विशेष आशिष दिनुहोस् भन्ने कामना गरौँ। 

    या देवी सर्वभूतेषु शान्तिरूपेण संस्थिता। 
    नमस्तस्यैः नमस्तस्यैँः नमस्तस्यैः नमोनमः।।

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]