|

डडेल्धुरा : दशैँ लागिसकेको छ र तिहार नजिक छ। यससँगै आरन व्यवसायीहरुको व्यस्तता समेत बढेको छ। दशैँको सुरुवातदेखि वैशाख महिनासम्म पुजाआजामा आवश्यक पर्ने सामग्रीको माग बढी हुने गरेको तुफान डाँडामा आरन व्यवसाय सञ्चालन गर्दै आएका आरन व्यवसायी महादेव ताम्राकारले बताए।

‘फलामका भाडाँकुडा भन्दा पनि तामा र पितलका भाडाकुडाको बढी माग हुने गरेको  छ,’ उनले भने, ‘सामग्रीको आकार अनुसार मूल्य निर्धारण हुने गरेपनि एक महिनामा २० देखि २५ हजारसम्म आम्दानी हुने गरेको छ। दशैं लाग्नु भनेको वैशाखसम्मका लागि हाम्रो सिजन सुरु हुनु हो।'

यहाँ उत्पादन गरिएका पुजामा आवश्यक पर्ने सामग्री सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लादेखि मध्यपश्चिमका हुम्ला, जुम्ला लगायतका जिल्लासम्म निर्यात गर्ने गरेको अर्का आरन व्यवसायी नारायण ताम्राकार बताउँछन्।

सिजनमा माग अनुसारको आपुर्ती गर्न नसकिने समेत उनको भनाइ छ। ‘आरन व्यवसाय गरेर नै घर खर्च चलाउँदै आएका छौँ,’ उनले भने,‘दशैँ तिहारको बेल सोचे जस्तो कमाई पनि हुन्छ। खुशी नै छौँ।’

जिल्ला सदरमुकाममै आरन व्यवसाय गर्दै आएका ६८ वर्षीय उदय सिंह लोहार भने आरन व्यवसायको अधुनिकीकरणका लागि सरकारी तथा गैर सरकारी संस्थाले उल्लेख्य भूमिका खेल्न नसकेको गुनासो गर्छन्।

‘कृषि गर्ने मुल आधार भनेको फलाम हो। गाउँ–टोलमा फलाम बिना केही पनि हुँदैन्,’ उनले थपे, कोदालो, हसिया नभएर कुनै काममै हुँदैन। यो प्राचिन व्यवसायको संरक्षणका लागि सरकार तथा अन्य संस्थाले जति गर्नुपर्ने हो। त्यति गर्न सकेका छैनन्।’

सिजनमा मात्रै काम हुने र अन्य समयमा दिनको गुजारा गर्नका लागि समस्या हुने भएकाले आरन व्यवसायलाई समयको मागसँंगै आधुनिकीककरण गर्न सके युवा पुस्तालाई पनि यो पेशामा संलग्न गर्न सकिने यहाँका आरन व्यवसायीहरुको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.