द्वादशीको दिन आफन्तको जमघट र भोज

|

काठमाडौं : दसैं हिन्दू नेपालीहरुको महान् पर्व हो। दसैंको धार्मिक र सामाजिक महत्त्व एकै भएता पनि यसलाई मनाउने तौरतरिका ठाउँ, समाज र परिवेशअनुसार फरक-फरक छ। एकै परिवेश र समाजमा पनि आर्थिक अवस्थाअनुसार दसैं मनाउने तौरतरिका फरक पर्छ।

दसैंको अर्को एउटा पाटो यो पनि हो, यसबीचमा देवीदेवतालाई हाँस, कुखुरा, बोकालगायत पशुपक्षी बलि चढाइन्छ। महानवमीको दिन पञ्चबलि दिने चलन पनि छ। टीका लगाउने समय पनि ठाउँ विशेषअनुसार फरक छ। गुल्मी, पाल्पा लगायतका केही स्थानमा विजयादशमीको दिन मात्रै दसैंको टीका/जमरा लगाउने चलन छ, देशका अधिकांश क्षेत्रमा कोजाग्रत पूर्णिमाको दिनसम्म नै टीका थाप्ने चलन छ।

नेपालमा पाण्डेहरुलाई सम्भ्रान्त घरानाको रुपमा लिइन्छ। राजा पृथ्वीनारण शाहका भारदार कालु पाण्डे र त्यतिबेलाका अग्रजहरुले दसैं मनाउने तौरतरिकालाई आजसम्म पनि उनका नाति-पनातिहरुले पछ्याउँदै आएका छन्। तर, केही कुरामा भने परिवर्तन आएको छ। तिनै कालु पाण्डेका वंश नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेको दसैं मनाउने शैलीबारे हामीले यहाँ चर्चा गरेका छौं।

फेरियो बलि प्रथा

दसैंमा देवी देवतालाई खुसी पार्न बोका तथा राँगा चढाउने चलन छ। पाण्डे परिवारमा सामान्यतया दसैंका ९ दिन नै शक्तिपीठहरुमा बोका चढाउने गरिन्छ। 'हामी त कालुपाण्डेका सन्तानहरु, हामीले लगातार नौ दिन शक्तिपीठमा बोका चढाउने चलन हो,' उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेले भने, 'तर, अहिले बोकाको सट्टा कुभिन्डो र त्यो नपाएमा नरिवल चढाउने गरेका छौँ।' काटमार गरेर वा रगत चढाएर राम्रो नहुने बुझेर संस्कारलाई निभाउनकै लागि कुभिन्डो बलि चढाउने गरेको उनी बताउँछन्।

९ दिन नै शक्तिपीठ गएर पूजा आराधना 

नवरात्रिका नवैदिन पाण्डे परिवार विभिन्न शक्तपीठमा जाने गर्छन्। हरेक दिन चण्डी पूजा लगाउने पुरानो संस्कार पनि नछाडेको पाण्डे बताउँछन्। पुर्खाले अंगिकार गरेको संस्कार निभाउँदा आनन्द महसुस हुने गरेको बताउने पाण्डे आफ्ना पिँढीले पनि यसलाई निरन्तरता देओस् भन्ने चाहन्छन्।

'म सबै दिनजसो मन्दिर जाने गर्छु, अनि पूजारी बोलाएर चण्डी पाठ पनि गर्छु, निकै आनन्द भएको महसुस हुन्छ,' उनले भने। उनी दसैंको समयमा मात्र होइन अरु बेलामा पनि मठमन्दिर धाउन र पूजा आराधना गर्न रुचाउने व्यक्ति हुन्।

अझै रोचक कुरा त के भने पूजापाठ छुट्छ भनेर नै उनी अहिलेसम्म दसैंका बेला विदेश गएका छैनन्। काम विशेषले जानुपरे पनि दसैंको बेला फर्किने गरेको उनको भनाइ छ।

घट्यो टीका लगाउने दिन

सामन्यतया विजयादशमीदेखि पूर्णिमाको दिनसम्म टीका लगाउने चलन छ। सरकारले दसैंको बिदा घटाएजस्तै पाण्डे परिवारले टीका लगाउने दिन पनि घटाएको छ। उनीहरु न त अधिकांश नेपालीलेजस्तो पूर्णिमाको दिनसम्म टीका लगाउँछन्, न त पश्चिम नेपालका केही जिल्लामा जस्तो विजयादशमीको दिन मात्र। आफूहरुले ३ दिनसम्म विजयादशमीको टीका लगाउने गरेको उनी बताउँछन्।

उनी भन्छन्, 'पहिले टाढाटाढाका आफन्तकोमा टीका लगाउन जान समय लाग्थ्यो, अहिले त तत्काल पुगिहालिन्छ, किन चाहियो ५ दिन?'

चुतुर्दशी र पञ्चमीको दिनमा भने उनी परिवारलाई नै लिएर कतै घुम्न जाने गरेका छन्। 'टीका लगाउने समय घटाएर दुई दिनको समय बच्छ, त्यो समयमा मैले मेरो परिवारलाई घुमाउन लैजाने गरेको छु,' पाण्डेले भने।

अफिसमा धेरै काम पर्दा भने यो दुईदिन अफिसकै काममा व्यस्त हुने गर्छन्।

 

द्‍वादशीको दिन भोज

घरमा ३ छोराबुहारी र नातिनातिना गरी १४ जनाको परिवारलाई विजयादशमीको दिन साइतमै टीका लगाइदिने गरेका उनले अन्यलाई भने टीकाको तेस्रो दिन अर्थात् द्वादशीको दिन घरमै बोलाएर टीका लगाइदिने गरेका छन्।

पारिवारिक जमघट र रमाइलो यसै दिन गर्ने गरेको उनी बताउँछन्। यसदिन उनको घरमा २ सयजना जति आफन्तहरुको जमघट हुने गरेको छ। यसैदिन आफन्तलाई भोज खुवाउने गरिन्छ।

सत्यको जित

दसैंलाई असत्यमाथि सत्यको विजयको पर्व मानिन्छ। उद्योगी पाण्डे पनि आफ्नो जीवनकाललाई जोड्दै यसको महत्त्व ठूलो रहेको बताउँछन्। 'कहिलेकाहीँ असत्यलाई जिताउन पनि खोजिन्छ, यो पर्व असत्यमाथि सत्यको जित भएको पर्व हो, मेरै जीवनकालमा पनि असत्यमाथि सत्यले धेरैपट जित हासिल गरेको छ,' उनी सम्झिन्छन्।

'सत्य बोल्नु, धर्म गर्नु, कसैको कुभलो नगर्नु हाम्रो संस्कार हो, यस्तो गर्न सक्दा आफ्नो पुस्ता सधैँ राम्रो हुन्छ,' पाण्डेले भने। शक्ति वा आडम्बरको नाममा कुनै एक व्यक्तिको चरित्रहत्या भएता पनि पुस्ताको चरित्र हत्या गर्न नसकिने र पछि सत्यले जित्ने गरेका उदाहरण थुप्रै भएको उनको भनाइ छ।

उद्योगीको दसैं

पाण्डे नेपालका ठूला उद्योगी पनि हुन्। दसैंमा आफ्नो परिवारलाई सुखी राख्नु घरमूलीको दायित्व भएजस्तै उनी आफ्नो कम्पनीमा काम गर्ने कर्मचारीलाई खुसी राख्नु धर्म हो भन्छन्। तर, दसैं मनाउनु उद्योगी/व्यवसायीका लागि निकै महँगो पर्न जान्छ। आफ्ना कर्मचारीलाई मात्रै होइन धेरैलाई खुसी बनाउनुपर्ने बाध्यता आइपर्छ। 'मेरोमा काम गर्ने कर्मचारी त मेरो परिवारका सदस्य जस्तै हो तर, घर दैलोसम्म आउने अरुलाई पनि खुसी बनाउन रहर लाग्छ,' उनले भने।

दसैंलाई आडम्बर नभई आफ्नो क्षमता अनुसारले मनाउन सम्पूर्ण नेपालीलाई उनको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.