|

झापा : दसैंको अवसरमा झापा र मोरङमा बसोबास गर्ने सन्थाल जातिको परम्परागत नाच, बाजा गाजा र दसैँ मेलाको चहलपहल सुरु भएको छ।

सन्थाल समुदायका मानिसहरुले  दसैँ छुट्टै किसिमबाट रमाइलो गर्दै र आफ्ना परम्परागत नाच प्रस्तुत गरेर मनाउन सुरु गरेका छन्। आफ्ना पितृ र देवी देउतालाई  खुसी बनाउँदै आफ्नो बासस्थान वरपर आफ्नो समुदायका साथै समाजकै भलो होस् भन्ने कामना गर्दै प्रार्थना गरेर दसैंमा दुर्गा मन्दिरहरुमा गई समूह समूह बनाएर पूजाआजासहित नाच नाच्ने गर्छन्। 

सन्थालहरुले नाच नाच्दै जाँदा  आफ्नै जातीय भाषामा पेड....पेड...भन्दै गरेको उच्चारणले सबैको ध्यानाकर्षण गराउँछ भने बाजाको तालमा आफ्नो शरीरलाई हल्लाउने उनीहरुको कला हेर्न मनमोहक हुने गर्दछ।  रङ्गीचङ्गी कमिज, धोती लगाएर शिरमा मयूरको प्वाँख, ऐना र  झुम्काले बनाएको रंगीन फेटा लगाएर शरीरभरी कल्ली बाँधेर एउटै ताल, सुरमा  छुट्टाछुट्टै समूह बनाएर नाचिने गरिन्छ।

कमल गाउँपालिका १ सराङपाडाका नेपाल सन्थाल माराङबुम युवा क्लबका अध्यक्ष प्रकाश मार्डीले संस्कृतिको जगेर्ना गर्न पनि आफूहरु लागिपरेर आफ्नो दसैँ नाच देखाउँदै बजारमा गएको बताए।

 उनले भने, ‘कुनै समय यही नाचका कारण हामी विभेदमा पर्यौँ, त्यसैले हाम्रो पराम्परा हराउँदै गएको थियो अब भने, हामी पनि पराम्परा जगेर्णा गर्न लागेका छौँ, पुस्तान्तरण हुन नसकेको यो नाचलाई युवा पुस्तामा हस्तान्तरण गर्न पनि यस्ता मेलाहरुमा सहभागी हुँदै गएका छौँ’।

 यस्तै, कमल गाउँपालिका १ स्थित नयाँ बस्तीका माझिहडाम (सन्थालका मुखिया) सुक्ला टुडुले संस्कार संस्कृतिको विकास गर्न नाच प्रस्तुत गरिएको बताए। उनले सदियौँ कालमा जंगल फडानी गरेर बसेका सन्थाल बिरामी पर्दा देवीलाई खशी पार्न यो नाच नाच्न थलिएको बताए। उनले भने,‘ त्यस बेला डाक्टर हुँदैन थिए रे, बिरामी सन्थालको उपचार गर्दा झाँक्रिले देवीलाई खुसी पार्न यो नृत्य देखाउनुपर्छ भनेदेखि हाम्रा पुस्ताले यो नाच सुरु गरेका हुन् रे।’

प्रकृतिपूजक सन्थालहरू आदिकालदेखि नै हिन्दूहरूको चाड दशैं र तिहारको बेला दसैँ नृत्यमा रमाउने गर्छन्। दसैँ र तिहारको समयमा गाउँ–गाउँमा लाग्ने मेलामा सन्थाल समुदायका मानिसहरुको नाच प्रमुख आकर्षण हुने गरेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.