|

झापाः जताततै दसैँको रमझम छ। सबै दसैँका लागि किनमेल गर्न जान्छन्। दसैँमा नयाँनयाँ लुगा किन्नेको बजारमा भीड लाग्छ। तर उनीहरूलाई अझैसम्म दसैँ आएको छैन। 

२६ वर्ष भयो उनीहरूले राम्ररी दसै मनाउन नपाएको। उनीहरू अर्थात् झापाको दमक र मोरङको पथरी–शनिश्चरे शिविरमा बसोवास गर्दै आएका भुटानी शरणार्थीहरू। भुटानमा हुँदा उनीहरूले धुमधामका साथ दसैँ मनाउँथे। आफन्तकोमा जाने। नयाँ लुगा लगाउने गरेर दसैँ मनाएको उनीहरूलाई अहिले जस्तो लाग्छ। तर देश छाडेर शरणार्थीको रूपमा बस्नुपरेदेखि उनीहरूमा न दसैँ आएको छ, न मुहारमा खुसी नै आएको छ। 

शरणार्थी भएपछि उनीहरूले सधैँ पीडा मात्र भोग्नुपरेको छ। कहिले खानाको चिन्ता, कहिले दर्ताविहीन हुनुको पीडा त कहिले आफन्त सबैले छाडेर विदेश जानुको पीडा। सधैँ यस्तै पीडामा रुमलिएर बस्न बाध्य छन् उनीहरू। 

केही वर्ष पहिलासम्म त कम्तिमा सबै परिवार एकै ठाउँ अर्काले रासनका रूपमा दिएको खाएर भए पनि दसैँ मनाउँथे। तर जब तेस्रो मुलुक पुनर्वासको कार्यक्रम अघि सरियो, तबदेखि उनीहरूलाई दसैँ नआएको भए हुन्थ्यो जस्तो लाग्छ रे! पारिवारिक बिचलनले यस पटकको दसैँ मनाउन नसकेको बेल्डाँगी शरणार्थी शिविर जी १ छाप्रो नम्बर ४१ मा बस्ने ७६ वर्षका दुर्जुधन गुरुङ बताउँछन्।

उनका आठ जना छोराछोरीमध्ये उनीसँग अहिले कोही छैनन्। शिविरमा रहेको एउटा छाप्रोमा उनी मात्र छन्। ‘भुटानमा हुँदा हामीले बस्न पाउनुपर्छ भनेर आन्दोलन गर्‍यौँ, आन्दोलन गरेकै कारणले भागेर यहाँ अउनुपर्‍यो’, उनी भन्छन्, ‘त्यस बेला म एक छोरी र दुई छोराका साथ यहाँ आएँ। अहिले मसँग कोही छैन।’ उनका श्रीमती, दुई छोरा र एक छोरी भुटानमै छन्। २६ वर्षअघि भुटानबाट भागेर आएयता उनी भुटान फर्कन पनि सकेका छैनन्। श्रीमती र छोरा छोरीसम्म भेट्न पाएका छैनन्। उनीसँग आएका छोराछोरी पनि अमेरिकातर्फ लागे। ‘सबै छोराछोरीले छाडे, मचाहिँ तेस्रो मुलुक जान्नँ, लगे भुटान जान्छु, नभए मर्ने बेला भइहाल्यो, यहीँ बस्छु’, उनले भने।

उनलाई भुटान छाडेर हिँडेदेखि दसैँ आएको छैन रे! ‘आफैँ घर छाडेदेखि कहाँ दसैँ आउँछ र! त्यहीँ माथि आधा परिवार भुटानमा नै छुटेका छन्’, दुर्जुधन भन्छन्, ‘झन् अहिले त मसँग भएका छोराछोरीले पनि छाडेर गए, अब कसरी मनाउनु र!’ 

भुटानमा हुँदा धुमधामका साथ दसैँ मनाएको उनलाई अहिले जस्तो लाग्छ। ‘राँगा, खसी काटेर रामाइलो गर्दै दसैँ मनाउँथ्यौँ, आमाबुबा पनि हुनुहुन्थ्यो। उहाँहरूले टीका लगाइदिनुहुन्थ्यो’, बुबाआमाको फोटो देखाउँदै उनी भन्छन्, ‘अहिले त बुबाआमा पनि हुनुहुन्न।’

यस्तै पथरी–शनिश्चरे शिविर सी २ छाप्रो ३२ का ७० वर्षका बिर्खबहादुर तामाङले भुटानबाट आएदेखि राम्रोसँग दसैँ मनाएका छैनन्। मनाउन् पनि कसरी, आफ्नी जेठी छोरी भुटानमानै छन्। छोरी मात्र होइन, ९० वर्षकी सासुसमेत भुटानमै छन्। ‘दसैँ आउनै हुन्न, श्रीमती रोएर उल्टै समस्या हुन्छ। बरु दसैँ नै नआएको राम्रो’, उनी भन्छन्। रासनमा पनि कटौती भएकाले दसैँ मनाउन थाल्यो भने खान पनि नपुग्ने उनी बताउँछन्।

दर्ताविहीनलाई झन समस्या
दसैँ मनाउन अझ समस्या त दर्ताविहीन शरणार्थीहरूलाई छ। बाहिर काम गर्न खोज्दा पनि काम पाउँदैनन्। रासनसमेत उनीहरूलाई दिइँदैन। त्यसैले धेरैजसो दर्ताविहीन शरणार्थीहरूले दसैँ मनाउन सकेनन्। बेल्डाँगी शिविरमा बस्दै आएका दर्ताविहीन शरणार्थी छविलाल मिश्रलाई दसैँ आउनासाथ समस्याले सताउँछ। घरमा भएका दुई छोरीहरूले नयाँ लुगा खोज्छन्। तर उनीसँग पैसा छैन। ‘काम गर्न जाँदा दर्ता छुटेँ, दसैँ आउनासाथ छोरीहरू राम्रो खान, नयाँ लाउन खोज्छन्’, उनी भन्छन्, ‘दैनिकी चलाउनसमेत साह्रो परेको बेलामा कसरी दसैँ मनाउनु!’ काम गर्न खोज्दासमेत नपाइने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘काम गर्न त खोजेको तर पढेको छैन, त्यसैले काम पनि पाइँएन।’ 

अझ योभन्दा ठूलो पीडा त परिवारसँग बिछोडिनुको छ। उनी भन्छन्, ‘आमा, बाबा, दाजु, भाइ सबै अमेरिकातिर हुनुहुन्छ, अब कसरी एक्लै मैले यता दसैँ मनाउँने र!’ नेपाल आएर पनि पहिला दसैँ मनाएको बताउँदै उनी भन्छन्, ‘तर परिवारका सबै जना तेस्रो मुलुक जानुभयो, त्यसैले दसैँ मनाउन सकिएन।’

उनीसँग बुबाआमासँग हुँदा जनसंख्या कार्डमा आफ्नो नाम भएको प्रमाण पनि छ। उनले पहिला रासन खाएको रासन कार्ड पनि छ। भुटानमा विद्यालयमा पैसा बुझाएको बिल पनि छ। यतिका प्रमाण हुँदा पनि दर्ताविहीन भएर बस्नुपरेको उनी बताउँछन्। ‘यस्तो त कसैलाई नहोस्। हामी त कहीँका पनि नागरिक होइनौँ जस्तो भएको छ, सबै प्रमाण छ, तर दर्ता हुन पाएका छैनौँ’, उनी भन्छन्, ‘सधैँ दुःखमा जिन्दगी बिताउनुपरेको छ।’ 

अरूले सोच्दा अमेरिकाबाट आफन्तले पैसा पठाउँछन् भन्ने सम्झने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘अमेरिकामा उहाँहरूलाई पनि समस्या हुन्छ रे! खान, घर भाडा तिर्न, अरूले सोचेजस्तो हामीलाई पठाइदिनुहुन्न।’

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.