पछिल्लो पुस्ताले चासो नदेखाउँदा स‌ंस्कृति स‌ंकटमा

|

जनकपुरधाम : मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्यांगनाको समूह अब देखिन छाडेको छ। ‘तोहरेलागि झिझिया बनैली हो बरमबाबा‘!’  को रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रम्हस्थान) स्थलमा पुगेर बडादसैं पर्वमा मिथिलानीहरुले (मिथिलाका नारी) सुरिलो

भाखामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने गरेका यो प्राचीन तान्त्रिक नृत्य अब मिथिलाञ्चलबाट हराउँदै गएको हो। असुर प्रवृत्तिविरुद्घ सात्विक प्रवृत्ति र असत्यमाथि सत्यको विजयका रुपमा मनाइने दसैं पर्वमा खासगरी मिथिला क्षेत्रको प्रमुख आकर्षण नै विगतमा झिझिया नृत्य रहने गरेको थियो।

‘दसैं लागेपछि प्रत्येक रात बस्तीका महिला सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन, देखिन छाडेको छ’ जनकपुर १४ का सुनिता सिंह भन्छिन्, ‘अब त बरु हामीले बुझ्दै नबुझ्ने भाषाका गीत टोल बस्तीमा सुनिने गरिएको छ।’ डिस्को बाजासँगै कर्कस स्वरमा गाउँनगर बस्तीमा सुनिने गीतप्रति सिंहले व्यंग्य  गरिन्।

दसैं लागेपछि देवी दुर्गाबाट पराजित भएका दुष्ट आत्मा टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दुःख दिनसक्ने रुढी विश्वासका आधारमा त्यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीले राति जाग्राम रही ग्राम देवतालाई पुकार गर्दै गाउने गीत र नृत्यलाई झिझिया भनिने गरिएको छ। दसैं पर्व (नवरात्र) सुुरु हुनासाथ यो गीत र नृत्य पनि प्रराम्भ हुन्छ, मिथिलामा।

असंख्य ससाना प्वाल पारिएको माटोको गाग्रो (घैंटो) भित्र बत्ती बालेर एकजना फनफनी नाच्दै घुम्ने र अरुले गीत गाउँने गरेको यो पुरानो संस्कृति नयाँ पुस्ताका छोरी बुहारीले नअँगालेपछि यो लोप हुने स्थितिमा पुगेको पूर्व प्राज्ञ रामभरोष कापडि भ्रमरले बताए।

‘हुन त यो रुढी विश्वासको परम्परा हो’ कापडीले भने, ‘तर मिथिला संस्कृतिको अंग नै स्थापित भएकाले यसलाई परिमार्जित गर्दै संरक्षण गर्न जरुरी छ।’ तान्त्रिक विधिको यो गीत–नृत्य अब एक समयको कथाजस्तो बनिसकेको कापडीको भनाइ छ।

मिथिलाको पर्व विशेषमा देखाइने यो नृत्य मुलुकको तरल सुरक्षा अवस्थाले समेत हराउँदै गएको बुद्घिजीवीको भनाइ छ। लगातार आन्दोलन, बन्द, हडताल र मारकाटका खबर सुनिरहँदा यो गीत र नृत्यमा रुचि हुने महिला पनि घरबाट निस्कन छाडेपछि यसको रौनक हराउँदै गएको वरिष्ठ पत्रकार विष्णुमणि खनालले  बताए।

जनमनबाट हराउँदै गएको यो मिथिला संस्कृतिलाई विगत वर्षमा गैरसरकारी सामाजिक संघ संस्थाले यदाकदा देखाउने गरेका भए पनि यसपाली दसैंको मुखमै परेको स्थानीय तह निर्वाचनले योबारे कसैले नसोचेका झाले बताएको छ।

मिथिला संस्कृतिको अभिन्न अंग मानिएको झिझिया गीतको नृत्यलाई जीवन्त राख्न पछिल्लो पुस्ताले चासो बढाउनसँगै पहलकदमी लिनुपर्ने बुढापाकाको सुझाव छ। अब झिझियाको लयमा नारी शिक्षाको अवस्था, सुरक्षा अवस्थाको चुनौती र वर्तमान परिवेशसँग मेल खाने भाव समेटेर यसलाई परिस्कृत गर्न सकिने युवा महिला सञ्चारकर्मी नेहा झाले बताइन्।

वर्षौदेखि झिझिया नृत्यलाई निरन्तरता दिँदै आएकी महोत्तरी देवडियाका कल्पना झाले पनि साथी दिनानु दिन घट्दै गएका कारण  यसपालि झिझियालाई निरन्तरता दिन नसकेको बताइन्, उनले भनिन्,  ‘नयाँ पुस्ताका युवा छोरी-चेलीहरुले झिझियाप्रति वास्ता देखाउँदैनन्, ५५ वर्षीया झाले भनिन्,  ‘अब त झिझिया भन्ने कुरा कुनै जमानाको जस्तो गरी सुनाउने स्थिति भइसक्यो।’ यद्यपि सो बस्तीकै सुजिता, शिवानी सहितका नयाँ पुस्ताका किशोरी भने यो पुरानो मिथिला संस्कृति जोगाउन अब आफूहरु लागिपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.