साहित्य

झुमी : संगीत तपाईंकै लागि (कथा)
SHARES

असोज १५, २०७४

    गितार समाएको युवकले निहुरेर लामो कपाल भित्तामा पछार्दै दर्शकलाई भन्यो, जस्ट फर यु। गितारले त्यही भाकामा भन्यो, झङ झङ झङ। स्टेजमा नाच्दै चिच्याइरहेकी युवतीले स्तन हल्लाउँदै दर्शकलाई भनी, जस्ट फर यु। गितारले त्यही भाकामा भन्यो, झङ झङ झङ। युवा जोशका केही दर्शकले उल्लासमय स्वरमा भने, जस्ट फर मी।

    छोटो हाफ पाइन्ट लगाएका दुइटी केटी एउटा केटासँग छाती जुधाउँदै अग्लो सिँडीमा नाच्न थाले। तल बःहालमा संगीतको तालमा नाचिरहेका किशोरहरू तिनका नृत्य हेरेर रमाउँदै सिट्टी बजाउन थाले। केटीहरू झन्झन् उत्तेजित भइरहेका थिए।

    ‘हाई गाइज, तपाईं मलाई बब मार्ले जस्तै देख्नुहुन्छ, होइन? द सेम गाई हु स्याङ्ग नो वमन नो क्राई !’ स्टेजमा अब अर्को युवकको प्रवेश भएको थियो। किशोर दर्शक चिच्याए, ‘या.ऽ..या.ऽ..बब मार्ले, नो वमन नो क्राई।’

    ‘तर, म बब मार्लेले जस्तो वाहियात रिभोल्युसनको गीत गाउनेछैन, यु नो माई डियर? सोकल्ड प्रोग्रेसिभहरूले जस्तो अधिकारको गीत गाएर पनि तपाईंहरूलाई बोर गर्ने छैन। आई विल अफर यु अ परफेक्ट इन्जोयमेन्ट।’ उसले अघि बेस्सरी हल्लाएको कपाल टाउकाबाट झिक्यो र टेबुलमा राख्यो। अब युवकको टाउको मुडुलो थियो। किशोर–किशोरी खुसीले तीन हात उफ्रिए। ऊ मुडुलो टाउको कपाल भएजस्तै गरी हल्लाउन थाल्यो। हल्लाइरह्यो, हल्लाइरह्यो।

    ‘इट इज जस्ट टु मेक यु इन्जोय।’ संगीत टोलीतर्फ दुवै हात उठाएर हरिवंश आचार्यले टेलिफिल्ममा जस्तै उसले आदेश दियो, ‘म्युजिक!’ गितार र ड्रमसेटको चर्को आवाजले टोलका घरहरू थरर्र थर्कन थाले। नेपाली बब मार्ले संगीतको भोल्युमलाई जित्ने गरी गाउन थाल्यो–
    पल्लो घरको झ्यालमाथि एउटी सुन्दरी छे
    स्याउ जस्ता गाला त्यसका, हिमाल जस्ता छाती
    देखाउँदै मलाई भन्छे आऊ न अलि राती
    पल्लो घरको झ्यालमाथि एउटी सुन्दरी छे
    रातीराती सधैँ मलाई त्यसले बोलाउँछे।

    किशोर–किशोरी, युवा–युवती जतिसक्दो जोडले उफ्रँदै नाच्न थाले। यस खेलमा केही अधवैँसे पनि संलग्न थिए। ती सकेसम्म किशोरीका हुलमा कोचिएर उफ्रन्थे र छिनमै घचेटिएर छेउमा पुग्थे। किशोरीका हुलमा पुग्न त स्वयं किशोर र युवा नै प्रतिस्पर्धा गरिरहेका हुन्थे। कतिसम्म भने अनौपचारिक सम्झौता जस्तै हलक्क बढेका किशोरहरू परिपक्व युवतीका हुलमा अनि जिम गरेर पहलमानको जस्तो छाती बनाएका युवकहरू किशोरीको हुलमा पुग्थे र तिनीहरूका पेट र कम्मरमा हात राखेर नाचिदिन्थे। हात त्यहीँ बसिरहनुपर्ने कुनै बाध्यकारी संविधान थिएन। अतः त्यो आरोही जस्तै निरन्तर माथिमाथि सर्दै छातीतिर सल्बलाउन थाल्थ्यो।

    यो सहनृत्यमा किशोर र युवाहरू मात्र अघि बढ्थे भन्नु महिलाजनप्रति अलि अन्याय हुन्थ्यो। किशोरी र युवती पनि त्यतिकै स्वतन्त्रतापूर्वक पुरुषको हुलमा पाइला अघि बढाउँथे र कम्मर थमाउँथे। सत्य कतिसम्म थियो भने त्यहाँ पुरुषको तुलनामा महिलाको संख्या अलि कमचाहिँ थियो।

    ‘ऊ त्यो पसल अगाडि उभिएकी केटीलाई त मैले पछाडिबाट च्याप्पै...। क्या साह्रो रहेछ यार? त्यसले फर्केर हेरी। चप्पल हान्छे कि जस्तो लाग्या थ्यो, मुसुक्क हाँसी। मलाई पनि आँट आइहाल्यो नि, मोबाइल नम्बर मागेको त मस्केर हिँडी।’

    ‘मौका छोप्न खुबै जान्या छस् डाँका, धन्य त्यस्तै केटीको फेला परिछस्।’

    रातको एघार बजे, चर्को संगीत, चर्को स्वर र निमेषमै फेरिरहने बत्तीका विविध रङहरू।

    यो त प्रत्यक्ष कार्यक्रम नै थियो, जसमा गायक–गायिका नै मोडलको रूपमा देखापर्थे। 

    मञ्चमा अर्को टोली प्रवेश गरेको थियो। यो केही केटीको समूह थियो। त्यसमा नृत्य गर्न एउटा केटा पनि मञ्चमा उत्रियो। हाफ पाइन्ट र टाँक नलगाएको सर्टका तल्ला दुई फेर पेटनिर बाँधेकी केटी माइक समातेर अघि बढी।

    ‘हाई गाइज, नाउ आई एम गोइङ टु प्रेजेन्ट लाइक अ भर्जिन बाई मेडोना, ओ के?’

    ‘हाई गर्ल, आर यु अ भर्जिन?’

    ‘ह्वाट डु यु थिङ्क?’

    ‘नट, बट जस्ट लाइक अ भर्जिन।’

    ‘यु नटी, भेरी भेरी नटी ब्वायज। या...ऽ...।’

    गिटार र ड्रम सेटको चर्काे आवाजसँगै माइक समातेकी गायिका र जगल्टे युवकको नृत्य सुरु भयो। युवकहरूलाई यो निकै जोश दिने खालको थियो। केही युवक जबर्जस्ती मञ्चमा छिर्न खोजे। सुरक्षा व्यवस्था निकै कडा थियो। त्यसैले ती तलै बसेर उफ्रन बाध्य भए। केटीले आफूलाई केटाको अँगालोमा छाडिदिई र आकाशतिर च्युँडो फर्काई। केटाले च्युँडोमा चुम्बन दियो। दर्शक तीन हात उफ्रेर नाच्न थाले। यस्तो लाग्थ्यो, केटीले मेडोनाको गीतलाई पनि रिमिक्स गरिदिएकी थिई। पेटको लाम्टै बाहिर निकालूँलाझैँ गरी ऊ गाउन थाली।

    लाइक अ भर्जिन
    फिल सो गुड इनसाइड
    आ‘हाभ नथिङ टु हाइड
    .........
    दिस इज अ आँपको दाना इट इज अ पाकेको
    आई एमको लर्के जोवन यु आरलाई साँचेको
    दिस इज अ आँपको दाना...

    मेडोनाको गीत सकिँदा नसकिँदै कथामा टेलपिस जस्तै उसले जीवन्त नृत्यसहित अर्को पपगीत गाई, जुन रेडियोमा पुरुष स्वरमा सुनिन्थ्यो। गीतमा उसले लैंगिक शब्द मिलाएकी थिई र पाकेको आँपको दानारूपी आफ्नो शरीर कसैका लागि साँचेको इसारा गरेकी थिई।

    दर्शकको उत्तेजनालाई बीचमै रोकेर ऊ मञ्चको पछिल्लो भागबाट तल ओर्ली, जहाँ कुनै टेलिभिजन संवाददाता र क्यामेराम्यान उसलाई पासो थापिरहेका थिए।

    ‘यु लुक सो स्मार्ट एन्ड सेक्सी!’

    ‘थ्याङ्क यु, सबै जना यसै भन्छन्।’

    ‘ब्वायफ्रेन्ड्स कति छन्?’

    ‘डु यु वान्ट टु बी नेक्स्ट वन?’

    ‘म्युजिक के हो?’

    ‘वीच मेक्स यु इन्टरटेन।’

    ‘गायिका हुन के–के आवश्यक छन्?’

    ‘गोल्डेन भ्वाइस विथ सेक्स अपिल।’

    ‘कस्तो लुगा लगाएर नुहाउनुहुन्छ?’

    ‘सिल्ली क्वेश्चन! बाथरुममा पनि कसैले लुगा लगाएर नुहाउँछ?’

    ‘नुहाएको लुकीलुकी हेर्नेलाई के भन्नुहुन्छ?’

    ‘किप अन ट्राइङ। आई मे बी योर्स सम डे।’

    ‘मनपर्ने गायक?’

    ‘द ह्यान्डसम ओल्डी जर्ज माइकल हु सिङ्ग्स आई वान्ट योर सेक्स।’

    ‘मनपर्ने नायक?’

    ‘उम्, माई ह्यान्डसम ब्राड पिट। आई एम जेलस टु हलिवुड साइरेन एन्जेलिना जोली।’

    ‘तपाईं मेसोकिस्ट हो?’

    ‘तपाईं स्याडिस्ट हो? एनी वे, यु क्यान एक्सपिरिएन्स योरसेल्फ।’

    ‘ह्याभ यु गट म्यारिड?’

    ‘देयर इज अ भ्याकान्सी। यु क्यान अप्लाई।’

    ‘राती सुत्दा कस्तो लुगा लगाउनुहुन्छ?’

    ‘नटी ब्वाय, नो एन्सर।’

    ‘जस्ट गिभ सर्ट एन्सर्स। तपाईँको गीतमा ¥याप हुन्छ कि रेप हुन्छ?’

    ‘रेप हुन्छ। तपाईं यही चाहनुहुन्छ, हैन?’

    ‘म्यारिज के हो?’

    ‘एभ्री भर्जिन इम्प्यासेन्टली वेट्स फर एन्ड एभ्री स्पाउज वान्ट्स टु बी अवे फ्रम।’

    ‘सेक्स?’

    ‘धत्...! ननसेन्स क्वेश्चन, एनिवे, हे..हे.. सो फार, जस्ट फाइभ चान्सेज।’ 

    ‘आई जस्ट मिन योर जेन्डर!’

    ‘ओ, सिट! डु यु थिङ्क एम आई थर्ड सेक्स?’

    मञ्चमा फेरि अघिकै ‘बब मार्ले’ र अघिकै केटी ओर्लिए। केटालाई अघिकै गीत गाउन आग्रह गरियो। उसले फेरि गायो–
    पल्लो घरको झ्यालमाथि एउटी सुन्दरी छे
    स्याउ जस्ता गाला त्यसका, हिमाल जस्ता छाती
    देखाउँदै मलाई भन्छे आऊ न अलि राती
    पल्लो घरको झ्यालमाथि एउटी सुन्दरी छे
    रातीराती सधैँ मलाई त्यसले बोलाउँछे
    बारुले छ कम्मर उसको तर छाती फुक्का
    उसलाई देखेपछि मन किन हुन्छ हुक्क
    दुई टुक्रा प्याज जस्ता उसका दुई पाता
    भुतुक्कै पारिहाल्ने कस्तो उसको जात
    रामतोरियाँ उसका औँला, पिँडुलाचाहिँ थाम
    मन कसरी थाम्नु मैले हरे राम राम!

    दर्शकको भीड अब निकै उत्तेजित थियो। तिनीहरू फेरि मञ्चमा उक्लिन खोजे। बाउन्सरहरूले फेरि तिनलाई रोके। प्रहरीले पनि बाउन्सरलाई सहयोग ग¥यो। बत्तीको प्रकाश झिपिक झिपिक झिपिक भइरहेको थियो।

    एउटा संगीत टोली जबर्जस्ती स्टेजमा गयो। ‘डियर अडेन्स, यहाँ हामीविरुद्ध षड्यन्त्र हुँदै छ। हामीलाई गाउन नदिने षड्यन्त्र हुँदै छ। आर यु विद अस?’
    ‘येस।’

    ‘देन प्लिज बी एट वसन्तपुर। वी विल पर्फम देयर।’ बाउन्सर र प्रहरीले तिनीहरूलाई मञ्चबाट ओराले। तल गएर पनि तिनीहरूले दर्शकलाई वसन्तपुरमा आउन आग्रह गरे।

    केही दर्शक वसन्तपुर जान तयार भए। केहीले मुर्दावादका नारा लगाए। 

    सिँडीमा केही तनाव देखियो। दुइटी केटी तीखो स्वरमा कसैलाई चुनौती दिइरहेका थिए। हुलमुलमा युवाको विशेष रुचि हुन्छ। अतः तिनीहरूले त्यहाँ खै के गरे। 
    ‘होइन, के भएछ?’

    ‘एउटा ठिटाले छाती थिचिदिएछ।’

    ‘...त्यति मात्र गरेछ?’

    ‘दुइटी ठिटी मिलेर गाला चड्काएपछि के गरोस् त!’

    मञ्चमा नाचिरहेकी केटीले माइक समाएर दर्शकलाई आग्रह गरी, ‘डियर अडेन्स, वी विल पर्फम जस्ट फर यु अगेन।’ दर्शकको ध्यान फेरि मञ्चतिर आकर्षित भयो। वसन्तरपुरतिर लागेका दर्शक पनि फर्कीफर्की आए। अघिको गीत ब्रेक भएको थियो। फेरि नयाँ संगीत बज्न थाल्यो। 

    केटाले दर्शकतिर हेरेर भन्यो, जस्ट फर यु।

    केटीले दर्शकतिर हेरेर भनी, जस्ट फर यु।

    केटाले अघि जस्तै कपाल भित्तामा पछार्दै घुमायो। केटीले त्यस्तै गरी। केटाले अघि जस्तै कपाल फुकालेर टेबुलमा राख्यो। केटीको कपाल नक्कली थिएन। त्यसैले उसले साइबाबाको लकेट फुकालेर टेबुलमा राखी। केटाले सर्ट फुकालेर फालिदियो। केटीले पनि टिसर्ट फुकालेर फालिदिई। अब केटा भेस्ट र केटी चेस्टरमा मात्र थिए। केटाले भेस्ट पनि फुकालेर फालिदियो। केटीलाई आपत् पर्‍यो। ऊ त्यहाँ चेस्टर फ्याँक्न सक्दिनथी। दर्शकको एउटा तप्काले उसलाई चेस्टर फ्याँक्न आग्रह ग¥यो। उसले प्यान्टबाट बेल्ट मिल्काएर फालिदिई। केटाले छाती हल्लाएर भन्यो, तपाईंहरूकै लागि। केटीले स्तन हल्लाएर भनी, तपाईंहरूकै लागि। 
    केटाले प्यान्ट पनि फुकालेर फालिदियो र अन्डरवियर हल्लाउँदै भन्यो, तपाईंहरूकै लागि। केटी प्यान्ट फुकालेर पनि फाल्न सक्दिनथी। ऊ अकमक्क परी।

    दर्शकले उसलाई प्यान्ट फुकालेर फाल्न आग्रह गरे। उसले हिन्दी सिनेमाकी कुनै नायिकाले जस्तै पाइन्टको जिपर खोलिदिई। त्यसपछि दुइटा हात आफ्ना दुई स्तनमा राखेर चारैतिर घुमी। त्यसपछि पाइन्टको जिपर र बटन लगाई। फेरि बेल्ट र टिसर्ट लगाई। केटाले पनि क्रमशः लुगा लगायो। अब संगीत सुरु भयो। उनीहरू गाउन थाले, जस्ट फर यु। जस्ट फर यु। केटाले कपाल घुमायो। केटीले पनि त्यसै गरी। केटाले कपाल फुकाल्यो। केटीले लकेट फुकाली। केटाले टिसर्ट फुकाल्यो। केटीले पनि टिसर्ट फुकाली। संगीतको एकोहोरो उँचो आवाज घन्किरहेकै थियो। दर्शक उफ्री–उफ्री नाचिरहेका थिए।

    ‘ए के भएछ त्यहाँ?’

    हेर्दाहेर्दै सिँढीमा उभिइरहेका दुई युवती सोत्राम भएर तल बःहालमा ढलेका थिए। यी तिनै युवती थिए, जसले अघि एउटा बदमास केटाको गाला चड्काएका थिए। चड्कन खाने केटोले तिनीहरूलाई छुरी हानिदिएको थियो। संगीतको भोल्युम झन्झन् चर्किरहेको थियो। केही मानिस ढलेका केटीहरूलाई घेरिरहेका थिए। तिनकै अगाडि ठिटाठिटी अनियन्त्रित भएर नाचिरहेका थिए। अगाडिबाट कसैले घचेट्यो। नाचिरहेका एक हुल किशोर–किशोरी ढलेका केटी र तिनीहरूलाई घेरिरहेका मान्छेमाथि गर्लम्म ढले। 

    ‘छुरा हान्ने त्यै झगडिया मुन्द्रे होइन?’

    ‘खै कहाँ छ साले? त्यल्लाई भकुन्डो बनाइदिन्छु!’

    ‘अपराधी बसिर’न्छ?’

    ‘समाउनुपर्दैनथ्यो?’

    ‘छुरी बोकेको मान्छेलाई कसले समाउने?’

    ‘थुक्क, यत्रा मान्छे भएर...।’

    ‘च.च..च... कस्तो रहरलाग्दा केटीहरू थिए! अस्पताल लानुपर्दैन?’

    ‘लगेर कामै छैन, थिचिएरै मरिसके।’

    ‘भनेर हुन्छ? यत्रा मान्छे भएर यिनीहरू मरेको टुलुटुलु हेरिरहने?’

    ‘मैयाहरू पनि बैँसले उम्लेकै हुन् है! नत्र यस्तो हुन्थ्यो?’

    ‘क्या सेक्सी थे, आ...हा..., मर्ने भए यार!’

    ‘हा....हा...ऽऽ हाऽऽ।’

    ‘वाऽऽ फेरि..., हुर्रेऽऽ!’

    ‘ऊ... या... जस्ट फर यु। जस्ट फर यु।’

    ‘हुइऽया...जस्ट फर यु। जस्ट फर यु’ (कोरस)।

    मञ्चमा केटाले फेरि पाइन्ट फालिदिएको थियो। केटीले फेरि पाइन्टको बटन र जिपर खोलिदिएकी थिई।

अभय श्रेष्ठ

भक्तपुरका स्रष्टा श्रेष्ठका 'तेस्रो किनारा' (कथासंग्रह, २०६८), 'कायाकल्प' (कवितासंग्रह, २०६२) र 'फूलबिनाको शाखा' (गजलसंग्रह, २०६०) प्रकाशित छन् । उनले 'गरिमा उत्कृष्ट गद्य सम्मान', २०६९, 'प्रज्ञा कथा पुरस्कार' २०६१, 'दृष्टि साप्ताहिक स्तम्भकार सम्मान', २०६५, 'प्रहरी द्वैमासिक उत्कृष्ट रचना पुरस्कार', २०६५ आदि प्राप्त गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]