देउवाकै प्रेरणाले राजनीतिमा आएँ

|

साउन २३ देखि भदौ २ गतेसम्म काठमाडौंमा भएको नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनबाट निर्वाचित सभापति हुन् नैनसिंह महर। ९ वर्षपछि भएको नेविसंघ महाधिवेशनमा शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको समर्थनमा बनेको संयुक्त प्यानलका उम्मेदवार थिए डडेल्धुराका महर। नेविसंघभित्र बौद्धिक र शैक्षिक एजेण्डामा प्रष्ट नेताको रुपमा परिचित महर महाधिवेशनबाट नेविसंघको मेजर अपरेसन सकिएको र अब संगठन हिजोको जस्तो गरी नचल्ने बताउँछन्। सभापतिमा विजयपछि महरसँग थाहाखबरका लागि विनोद ढकाललिलाराज खनालले गरेको कुराकानी : 

नेविसंघमा तपाईंको विजयलाई 'काका सभापति' को रुपमा टिप्पणी भएको छ नि?

वर्तमान राजनीतिको ट्रेन्ड र चलन हेर्दा यो उमेरमा विद्यार्थी संगठनको नेतृत्व लिएकै पाइन्छ, अनेरास्ववियु बाहेक। हाम्रो संगठनको विगत ९ वर्षदेखि महाधिवेशन नभएको अवस्थामा र हामीले वर्गीय मुद्दालाई ध्यान दिनुपर्ने हुन्छ। फेरि विद्यार्थी राजनीतिमा शैक्षिक मुद्दा नै प्रमुख आधार हो भन्ने लाग्छ। मैले २० बर्षसम्म नेविसंघमा लागेर प्राप्त गरेको अनुभव उपयोग गर्न केही लक्ष्य र योजनाहरु बनाएको छु। 

त्यसैले, पार्टीको केन्द्रीय समितिमा जाने भन्दा पनि नेविसंघको अध्यक्ष भएर योगदान गरौं भन्ने मैले योजना बनाएको छु। नेविसंघको पुरानो ट्रेडलाई परिवर्तन गर्न मैले नेविसंघको नेतृत्व लिने चाहना राखेको हुँ। फेरि, शिक्षा लिने कुरामा उमेर प्रधान बिषय पनि होइन। अहिलेको जमानामा कतिपयले सेवा निवृत्त भएर पनि पढ्न थालेको पाइन्छ। तरुण संगठनमा उमेरको हदबन्दी हुन्छ तर विद्यार्थीमा त्यस्तो कुनैं लिमिटेसन छ जस्तो मलाई लाग्दैन। यद्यपी नेपाली कांग्रेसले नेविसंघको आगामी १२ औं महाधिवेशनदेखि ३२ बर्ष उमेर हद तोकेकै छ। अहिले भनेको परिस्थितिजन्य कारणले उमेर हद नलगाइएको हो।

नेविसंघको सभापति भएर शेरबहादुर देउवाले ८ बर्ष, रञ्जित कर्णले करिब ५ बर्ष नेतृत्व लिनुभयो, तपाईंले कति वर्ष नेतृत्व लिने योजना बनाउनुभएको छ? 

नेविसंघको विधानले र मैले हरेक दुई/दुई बर्षमा महाधिवेशन गर्नुपर्छ भनेको छु। विगतको माग अनुसार नै निर्धारित समय अर्थात दुई बर्ष पुग्नु एक महिना अघि नैं म महाधिवेशन गर्नेछु। मैले साथीहरुलाई भनिसकेको छु- हाम्रो काउण्ट डाउन शुरु भयो, दुई बर्षमा दुई दिन बितिसकेको छ। टाइमटेबल बनाएर हामीले काम गरिरहेका छौं। शैक्षिक एजेण्डालाई समयवद्ध ढंगले पूरा गर्दै लैजानको लागि कार्यसुची नैं हामीले बनाएका छौं। त्यसैले निर्धारित समयमै महाधिवेशन हुन्छ।

नेविसंघको महाधिवेशन ९ वर्षपछि भयो। प्रतिनिधि चयनमा पनि विवाद भयो। नेताहरुले प्रतिनिधि आ-आफ्नो कोटाबाट थपेको पनि देखियो। के यो विधिसम्मत हो जस्तो लाग्छ? 

हामी प्रजातान्त्रिक पद्धति मान्छौं। प्रजातन्त्रले आवधिक निर्वाचन खोज्छ। आवधिक निर्वाचन भन्ने बित्तिकै प्रतिस्पर्धा हुन्छ। तर प्रतिस्पर्धा भन्ने बित्तिकै डराएर भाग्ने हो भने अधिवेशन सम्भव छैन। म र उपविजेता मनोजमणि आचार्यजीबीच प्रतिस्पर्धा नभएको भए वा हामीले त्यो वातावरण नबनाएको भए आज अधिवेशन हुँदैनथ्यो। जति प्रतिनिधिहरु आउँछन्, उनीहरुबीच नैं हामी चुनाव लड्छौं भनेर हामी अघि बढ्यौं, त्यही सहमति भयो। 

नौं बर्षसम्म महाधिवेशन नभएर ग्रस्त थियो, नेविसंघ। त्यसैले हामीले यसको मेजर अपरेसन गर्नुपर्‍यो भन्यौं। केही साथीहरुले विरोध पनि गरे। तर हामीले नेविसंघको मेजर अपरेसन गरेर कोमाबाट बाहिर निस्किएर फ्रेस भएका छौं। अब नेविसंघले मुलुकको राजनीति र शैक्षिक क्षेत्रको परिवर्तनको नेतृत्व गर्छ।

तपाईंलाई कांग्रेसका नेताहरुले तोकिदिएको र भागबण्डामा परेका प्रतिनिधि वा विद्यार्थी, को बाट चुनिएको जस्तो लाग्छ? 

नौं बर्षसम्म महाधिवेशन नभएकाले २५ बर्षको विद्यार्थीहरु अहिले ३४ बर्षका भइसके, यस्तो अवस्थामा मलाई भोट दिने २५ प्रतिशत मात्र विद्यार्थी थिए भने बाँकी ७५ प्रतिशत पार्टीकै मतदाता थिए। नौं बर्षसम्म नभएको नेविसंघको महाधिवेशन गर्न पार्टीले जुन सहयोग गर्‍यो, त्यसबाट पार्टीकै नेताहरुको प्रतिनिधित्व हुनु स्वभाविक पनि छ।

१२ दिनसम्म प्रतिनिधि साथीरुलाई राखेर, कुनैपनि हालतमा महाधिवेशन गर्नुपर्छ भनेर पार्टीले जुन अठोट लियो, पार्टी सभापति शेरबहादुर देउवाले जुन अठोट गर्नुभयो, त्यसैले आज नेविसंघको महाधिवेशन सम्भव भयो। महाधिवेशनमा मलाई जिताउन पार्टीको सहयोग हुनु स्वभाविक नैं थियो। 

तर महाधिवेशनमा बन्द सत्र भएन, नेविसंघका एजेण्डामा छलफल पनि भएन। तपाईंलाई बैधानिक बाटो अपनाइएन कि भन्ने कुनै अभाव खड्किएन? 

एकदम अभाव खड्कियो। मैले मेरै प्रतिवद्धता पत्र बन्दसत्रमा राख्न सकिन। मैले विद्यार्थीका, शैक्षिक क्षेत्रका र राजनीतिक थुप्रै बिषयका एजेण्डाहरुलाई अघि सार्दै आएको छु। वास्तवमा मेरा एजेण्डाहरु बन्दसत्र नभएकाले प्रस्तुत हुन पाएनन्। अब हाम्रो कार्यनीति त्यसै अनुसार हुन्छ। 

नेविसंघको निवर्तमान कार्यसमितिले अघि सारेको एजेण्डा र मुद्दालाई, मैले अघि सारेका एजेण्डालाई र मनोजमणिजीले अघि सारेका एजेण्डालाई पूरा गर्न यो कार्यसमिति लागिपर्नेछ।

महाधिवेशनमा प्रतिनिधिहरुको संख्या कति र को को हुन भन्ने नै स्पस्ट नभई तपाई निर्वाचित हुनुभयो। यो कमजोरी थियो भन्ने लाग्छ कि लाग्दैन?

अहिले नेविसंघको विधानले काम गरेको अवस्था छैन। कार्यान्वयन नभएको विधानलाई ठीक ठाउँमा र गोरेटोमा ल्याउन पनि हामीले सहमतिको आधारमा महाधिवेशन सम्पन्न गर्नुलाई बढी प्राथमिकता दियौं। जसरी संविधानलाई ट्रयाकमा ल्याउन जसरी हामीले राजनीतिक सहमतिको आधारमा प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनायौं, त्यसैगरी नेविसंघलाई वैधानिक वाटोमा ल्याउन राजनीतिक निर्णय र सहमतिको आधारमा हामी अघि बढ्यौं। 

अब तपाईंको कार्यकालमा यो किसिमको प्रबृत्तिलाई अन्त्य गर्न सक्नुहुन्छ?

मैले नेताहरुलाई भनेको छु कि – नेविसंघ स्वायत्त संस्था होइन, मलाई थाहा छ। २० बर्षदेखि मैले नेविंघको राजनीति गर्दै आएको मेरो अनुभव तपाईहरुलाई थाहा छ। राजनीतिक, शैक्षिक र सामाजिक रुपान्तरणको बिषयमा कहिलेकाहिँ पार्टीसँग हाम्रो एजेण्डा नमिल्न पनि सक्छ। त्यस्तो अवस्थामा हामीलाई पार्टीको दबाव स्वीकार्य हुँदैन। हामीलाई नेविसंघको गरिमा र अन्य विद्यार्थी संगठनसँग मिलेर जाने कुरामा सहमति गरेरै जान्छौं। 

पार्टी महाधिवेशनको छायाँ नेविसंघमा पनि परेको देखिन्छ। जसले गर्दा प्यानल नैं खडा गरेर प्रतिस्पर्धा गर्नुभयो। अब संगठनलाई एकतावद्ध बनाएर कसरी लैजानुहुन्छ?

पार्टीमा जस्तै संगठनमा पनि हामी अलग समूह बनाएर निर्वाचनको प्रतिस्पर्धामा गएका हौं। तर जति साथीहरु निर्वाचित भएर आउनुभएको छ, उहाँहरु सबै परिचित अनुहार हुनुहुन्छ। उहाँहरु सबैलाई मिलाएर मैले लैजान सक्छु।

अन्य विद्यार्थी संगठनसँग तपाईंहरुले कसरी समन्वय गरेर जानुहुन्छ?

अहिले नेपालको अवस्था हेर्ने हो भने कुनै पनि एउटा पार्टी वा समूहले मात्र चाहेर चल्न सकिदैन। हामी अन्य विद्यार्थी संगठनको अम्रेला (छाता) संगठनको रुपमा स्थापित हुन चाहन्छौं। नेविसंघलाई भोट दिने र नदिने जोसुकै विद्यार्थी र समाज रुपान्तरणको लागि नेविसंघले काम गर्छ। 

लामो समयसम्म क्याम्पसहरुको स्ववियु निर्वाचन हुन सकेन, यस विषयमा नेविसंघले के पहल गर्छ?

स्ववियु निर्वाचनसँग नेविसंघको लामो र गहिरो सम्बन्ध छ। हाम्रो आन्दोलनको बेगलाई थेग्न नसकेर पञ्चायती व्यवस्थाले स्ववियु दिएको हो। स्ववियु निर्वाचन गर्नका लागि आजैदेखि हामीले कार्य प्रारम्भ गरेका छौं। फागुनको १४ गतेभित्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हन्छ। यसका लागि अन्य विद्यार्थी संगठन र अन्य सम्बन्धित पक्षसँग हाम्रो कुराकानी बढिसकेको छ। 

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले कलेजमा राजनीतिकरण हुन्छ भन्ने कुरा त्यो मिथ्या हो। स्ववियुले त विद्यार्थीहरुलाई भर्ना प्रक्रियामा सहयोग गर्ने, पढाइमा सहयोग गर्ने, लाइब्रेरी, खानेपानी, शौचालयको व्यवस्था र अतिरिक्त क्रियाकलापलाई ध्यान दिएर विद्यार्थीहरुलाई लिडरसिप सिकाउने काम गर्छ।लिडरसिप भन्ने बित्तिकै राजनीति मात्र होइन। वकिल, पत्रकार, कर्मचारी, उद्योगीको लागि ट्रेनिङ सेन्टरको रुपमा पनि स्ववियुलाई विकास गर्न सकिन्छ। स्ववियु निर्वाचन गर्नका लागि हामी हरेक पक्षसँग वार्ता गरेर अघि बढ्न चाहन्छौं।

नेविसंघ भित्रका चुनौतीहरु के के देख्नुभएको छ?

वैधानिक रुपले नौं बर्षसम्म महाधिवेशन हुन नसकेर खिया लागेको संगठनको नेतृत्व मैले लिएको छु। अब नेविसंघलाई वैधानिक बाटोमा ल्याउनुपर्ने चुनौती हामीसँग छ। त्यसमा सुधार गर्नुपर्ने र नयाँ आयाम थप्नुपर्ने चुनौती छन्। यसलाई मैले चुनौती मात्र होइन अवसरको रुपमा पनि लिएको छु। संगठन भित्रको परम्परागत अवधारणा र दृष्टिकोणलाई परिवर्तन र मोडरेट गर्नुपर्नेछ।

शैक्षिक चुनौतीको रुपमा शिक्षा क्षेत्रमा माफियातन्त्रको बाछिटालाई मैले लिएको छु। शिक्षामा धनी र गरीबबीचको गहिरो खाडल छ, त्यसलाई पुर्न सक्नुपर्छ। पैशा नहुने गरीब र किसानका छोराहरुले पनि मेडिकल र इञ्जिनियरिङ शिक्षा प्राप्त गर्ने अवसर पाउनुपर्छ।

राज्यले सबै नागरिकले पढ्न पाउने अवसर उपलब्ध गराउन शिक्षा क्षेत्रमा कम्तीमा २४ प्रतिशत वजेट छुट्याउनुपर्छ। नेपाललाई शैक्षिक हबको रुपमा विकास गर्न र यहाँको शिक्षा विश्वबजारमा बिक्न सक्ने बनाउनुपर्नेछ। 

नेविसंघको वर्तमान नेतृत्वमा अपवादलाई छोडेर हेर्ने हो भने धेरै जसो निर्वाचित नेता ३२ बर्ष माथिको हुनुहुन्छ। अबको महाधिवेशनमा ३२ बर्ष मुनिकाले नेतृत्व गर्ने स्थिति चुनौती होइन ?

हाम्रो मातृपार्टी कांग्रेसले आगामी १२ औं महाधिवेशनदेखि लागू हुने गरी भनेर ३२ बर्ष उमेरहद तोकिसकेपछि हामीले त्यसलाई पालना गर्नैपर्छ। त्यो लागू हुन्छ। त्यो कार्यान्वयनमा खासै चुनौती छैन। तर विधान आधिवेशनको व्यवस्था पनि विधानले गरेकोले त्यसले परिवर्तन गर्न पनि सक्छ। 

संगठन भित्रको चुनौतीलाई सामना गर्दै गर्दा तपाइँले शैक्षिक चुनौतिलाई कसरी र कहिले सामना गर्न सक्नु होला ?

मैले प्रतिवद्धता व्यक्त गरेका, मैले घोषणापत्रमा लेखेका बिषयलाई समेटेर मैले वर्कप्लानमा राख्नेछु। नेविसंघले के काम गर्दैछ भन्ने कुरा पारदर्शी ढंगले राख्नेछु। अब नेविसंघ विगतमा जस्तो ट्रेडिसनल तरिकाले चल्न सक्दैन। अब परम्परागत ढंगले होइन, नयाँ ढंगले चल्नेछ। जस्तै : मैले अघि सारेको घोषणा पत्रमा भनेको थिएँ कि ‘१ देखि ८ सम्मको शिक्षा प्राथमिक तहको हुनुपर्छ। नौं देखि १२ सम्म माध्यमिक तह भएपछि त्यो तहसम्म स्ववियु नराख्ने।’ मैले यो प्रस्तावमा समर्थन जुटाउन अन्य संगठनसँग पनि कुरा गर्छु।

संगठनलाई पूर्णता दिन केही पद मनोनित पनि गर्नुपर्छ। त्यसमा पार्टीकै सिफारिसमा परेकालाई मनोनित गर्नुहुन्छ कि के योजना छ?

पार्टीको सहयोग र विश्वास, नेविसंघका साथीहरुको भरोसा र साथ पाएर म नेविसंघको अध्यक्ष भएको हुँ। मैले नेविसंघको संगठनलाई मिलाएर लैजान र जीवन्त बनाउन जुन जुन पक्षसँग हातेमालो गर्नुपर्छ, तिनीहरुसँग सल्लाह गरेर अघि बढ्छु, किनकी संगठन सबैको साझा हो। प्रतिस्पर्धाबाट आएको संगठन चलाउन एउटा पक्षको मात्र नभएर सबैको योगदान हुनु जरुरी छ। त्यसैले प्रजातन्त्रमा आफ्नै साथीभाईसँगको् एकता पहिलो प्राथमिकता हो। त्यसपछि मात्र मुद्दा हो। 

तपाईं र कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला एउटै हो। तपाईंले उहाँको समर्थन पाएर चुनाव जित्नुमा जिल्लावासीको नाता नै हो कि संयोग हो? 

राष्ट्रिय राजनीतिमा मेरो महत्वकांक्षा जाग्नुको पछाडि शेरबहादुर देउवा राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा नभएको भए, उहाँ मेरो गृह जिल्लाको नभएको भए र उहाँसँग मेरो सामिप्यता नभएको भए सम्भव थिएन होला। म राजनीतिमा आउनुको कारण उहाँको सरसंगतले मलाई प्रेरणा दिएको छ। 

त्यो प्रेरणाका कारण मैले संगठनप्रति निरन्तर क्रियाशील रहेर, देशको पुरै भूगोल घुमेर, २०६२/६३ को आन्दोलनमा होमिएर जुन योगदान मैले दिएँ। राजनीतिक र शैक्षिक क्षेत्रको मोर्चामा जसरी मैले अरु साथीभन्दा अग्रमोर्चामा रहेर काम गरेँ त्यसै कारणले मैले यो अवसर पाउनु सम्भव भएको हो। 

नेविसंघमा ३२ बर्षे उमेर हद लागू गरिएको छ। के यसलाई पुनरावलोकन गर्न आवश्यक ठान्नुभएको छ कि?

१२ औं महाधिवेशनबाट उमेर हद लागू गर्ने विषयमा पार्टीले निर्णय गरिसक्यो। बिधान अधिवेशनले पार्टीले गरेको निर्णय बिरुद्ध त होइन, तर केही अधुरा र अपुरो रहेछ भने सुधार र संशोधन गर्न सक्छ। यो संशोधन गर्नुपर्छ कि पर्दैन भनेर म अहिले नैं बोल्ने पक्षमा छैन। विधान कार्यान्वयन गराउँदै लगिन्छ। यसको प्रयोगबाट कस्तो अनुभव प्राप्त हुन्छ अनि मात्र के गर्दा उपयुक्त हुन्छ निर्णय लिनेछु। वैधानिक व्यवस्थालाई पहिले कार्यान्वयन गर्छु अनि उमेर हद पनि समस्या भयो भने सोचौंला। विधान कार्यान्वयन गर्ने धेरै जिम्मेवरी छन्। ती पुरा गरेँ भने अन्य कुरा सोचौंला।

अधिवेशन गर्नुपर्ने जिल्लाको अधिवेशन निर्धारित समयमै हुनसक्छ? 

आजका दिनदेखि हामीले जिल्ला, क्याम्पसको समय पुगेका हरेक इकाईको अधिवेशन शुरु भयो भन्ने बुझे हुन्छ। भदौ दोस्रो साता बस्ने नेविसंघ केन्द्रीय कार्य समितिको बैठकले ती सबै बिषयमा निर्णय गरेर अघि बढ्छ। अब संगठन हिजोको जस्तो डल भएर बस्दैन। अब क्रियटिभ र कन्स्ट्रक्टिभ भएर अघि बढ्छ।

दुई बर्षको अवधि तपाईंको योजना कार्यान्वयन गर्न कम भए जस्तो लाग्दैन?

मलाई थाहा छ २ बर्षको अवधिमा सबै योजनाहरु कार्यान्वयन हुन सक्दैन। तर शुरुआत गर्न सकिन्छ। नेविसंघको एउटा अत्याधुनिक कार्यालय भवन निर्माणको योजना बनाएको छु। अन्तर्राष्ट्रिय सम्बन्ध वढाउनु पर्नेछ। हामी अहिले युजीको मात्र सदस्य छौं। यसलाई अन्तर्राष्ट्रिय युवा विद्यार्थी संगठनको एलायन्समा राख्नुपर्नेछ। एनआरएनसँगको सम्बन्ध बिस्तार गर्नुपर्ने एजेण्डा मैले अघि सारेको छु। 

मैले अघि सारेका ‘खुल्ला विश्वविद्यालय, ग्रेडिङ सिस्टम, सेमेस्टर सिस्टम लागू गर्ने, प्रमाणपत्र धरौटी राखेर ऋण पाउनु पर्छ भन्ने एजेण्डा’ अहिले पास भइसकेका छन्। तर अरु एजेण्डा पनि बाँकी छन्। मैले भनेको छु - अनुशासित र संगठित नेवसंघको जगमा निष्ठावान र बलियो कांग्रेस निर्माण गरेर यो देशलाई समृद्धि बनाउने जिम्मा हामीलाई ११ औं महाधिवेशनले दिएको छ। 

प्रजातन्त्रवादी जनशक्ति उत्पादन गर्न नेविसंघले योगदान दिनेछ। हाम्रो मिसन भनेको नेविसंघलाई ट्रेनिङ सेन्टरको रुपमा विकास गर्ने हो। टाइमटेवल अनुसार वर्कप्लान गरेर म अघि बढ्नेछु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.