|

भक्तपुर : बडादसैं विजयको प्रतिक हो। समस्त असुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकस्वरुप नेपालीहरुले बडादसैंलाई हर्षोल्लासकासाथ मनाउने गर्दछन्। त्यसैले कोतपूजा गर्ने, बलि दिने, शक्तिकी देवी नवदुर्गा, महाकाली, भवानी, चामुण्डालगायतको आराधना गर्ने प्रचलन छ।

यसै सन्दर्भमा भक्तपुरमा महानवमीको दिन मनाइने खम्ये जात्रालाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक रुपले अत्यन्त महत्वपूर्ण मानिएको छ। घाउ चोट नलागेको, दायाँबाट घुमेको चक्र भएको निख्खर कालो र ठूलो राँगो नै खम्ये हो।

नवमीको राति ब्रम्हायणी मन्दिरमा नवदुर्गा देवगणको सिद्धी प्राप्तिका लागि बलि दिन गठेमंगलका दिन नै खम्ये भित्र्याउने चलन रहेको छ। सो खम्येलाई महिषासुर राक्षसको प्रतिकको रुपमा लिइन्छ। खम्येलाई महानवमीसम्म भक्तपुर नगरपालिकाको गछेंस्थित नवदुर्गा देवीको द्यःछें (देवघर) भित्र राखेर पालन पोषण गर्ने परम्परा रहेको छ। विधिवत रुपमा नवदुर्गा द्यःछें भित्र्याएको खम्येलाई महानवमीको साँझ ब्रम्हायणी लैजान मात्र बाहिर निकालिने प्रचलन रहेको छ। सो दिन खम्येलाई नवदुर्गा द्यःछेंबाट दौडाएर ब्रम्हायणी पुर्‍याउने प्रचलन रहेको छ। यो प्रचलन भक्तपुरमा ‘खम्ये जात्रा’का रुपमा परिचित छ।

खम्येलाई गठेमंगलको दिनदेखि नवदुर्गा द्यःछेंमा ल्याई बाँध्ने र दैनिक दुई पटक नुहाइदिने, तेल लगाई विभिन्न पौष्टिक आहार दिई स्याहार गर्ने परम्परा चलिआएको छ। यदि गठेमंगलको दिनमा खम्ये नवदुर्गा देवगृहमा ल्याउन नसके खम्येको डोरी भए पनि खम्ये बाँध्ने ठाउँमा बाँध्नु पर्ने चलन रहेको संस्कृतिकर्मी ओम धौभडेल बताउँछन्।

बडादसैंको धार्मिक आख्यान महिषासुर राक्षसको बधसँग गाँसिएको छ। भक्तपुरमा खम्येलाई सोही महिषासुर राक्षससँग तुलना गरिन्छ। भक्तपुरमा राक्षसीस्वरुप खम्येको हार र दैवी शक्तिको जितको रुपमा खम्ये जात्रालाई लिन गरेको छ। यो जात्रा नवदुर्गा देवीहरु मिलेर महिषासुरलाई बध गरेको खुसियालीमा मनाउने एक मात्र पृथक जात्रा हो। महिषासुरलाई नवौं दिनमा नौ देवीको संयुक्तरुप त्रिपुरासुन्दरी प्रकट भई त्रिपुरासुन्दरीले मोहनी लगाई आफ्नो वशमा पारी बध गरेको कारण नेवार समुदायमा दसैंलाई मोहनी नखाः भन्ने गरिएको संस्कृतिकर्मी धौभडेल बताउँछन्।

खम्ये बलि दिने प्रचलनबारे एक किम्बदन्ती रहेको पाइन्छ। बनमाला समाजका पूर्व अध्यक्ष एवंम् जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाका अनुसार पहिलेपहिले तिब्बतमा व्यापार गर्न जान व्यापारीहरु बनेपाको नाला भएर जानेक्रममा भक्तपुरको ब्रम्हायणी जोल भएर नाला जाने गर्दथ्ये। यसरी त्यतिबेला तिब्बत जान भनेर हिँडेका व्यापारीहरु कोही पनि फर्केनन्। सो घटनाले भक्तपुरबासी निकै आत्तिए। त्यसपछि भक्तपुरका सोमराज गोमान्जू (ब्राम्हण) ले अन्तर्ध्यान गरेर हेर्दा व्यापारीहरु ब्रम्हायणी जोलको जंगलमा पुग्दा नवदुर्गा गणले भोगबलि लिएको थाहा पाए।

एक दिन गोमान्जू स्वयम् व्यापारीको भेषमा सोही जंगलको बाटो भई जाँदा बाटोमा सिम्हा र दुम्हाले समातेर लगी भोगबलि दिन खोज्दा गोमान्जूले मेरो बलि लिने भए मेरो एउटा बिन्ती छ, म सबै देवगणको पूजा गर्छु अनि मात्र मेरो बलि लिनु भनी देवगणसँग अनुरोध गरे। देवगणले पनि हुन्छ भने। त्यसपछि ती गुमान्जूले सबै देवगण (१९ जना) लाई पूजा गर्न थाले। त्यसैबेला उनले आफ्नो मन्त्रको तापले  १९ वटा गोजा (स्याबजी भिजाएर चैत्य शैलीमा निर्माण गरिएको विशेष प्रकारको रोटी) मा ती सबै गणलाई जजंका (सप्तरंगी काँचो धागो)ले बाँधेर कलाली (नेवार समूदायले पुजा राख्ने विशेष प्रकारको पित्तलको भाँडा) मा राखेर आफ्नो घर भक्तपुर इछुटोलमा ल्याएर एउटा कोठामा बन्द गरी राखे।

देवगणले गुमान्जूको त्यो शक्ति देखेर यो कोठामा हामीलाई दैनिक रुपमा पूजा गरेको कसैलाई थाहा नदिनु भनी बिन्ती गर्दा गुमान्जूले हुन्छ भने। केही समयपछि एक दिन गुमान्जू स्नान गर्न गएको बेलामा गुमान्जूकी श्रीमतीले कोठाको प्वालबाट हेरेको देवगणले थाहा पाए। त्यो देखेर देवगण कोप भई त्यहाँबाट निस्केर देवगण इनाचोस्थित स्वंगल्हो भन्ने ठाउँमा पुग्दा बाटोमा सुंगुर देखे र सोही संगुरको भोगबलि लिई भोजन गरी बसे।

गुमान्जू घर फर्कदा कोठाको ढोका खुल्ला भएको देखेर अन्तर्ध्यान गरेर हेर्दा देवगणले अछुत जातको पशुको भोगबलि लिएर खाएको थाहा पाए। त्यसपछि गुमान्जूले आफ्नो मन्त्रबाट त्यही समयमा देवगणलाई त्यहाँबाट लोप गरिदिए। एक दिन गुमान्जूले नवदुर्गालाई लोप गर्नु हुन्न भन्ने मनन् गरी अब सबैको अगाडि ल्याई त्यसलाई भक्तिभावका साथ पूजा चढाई जात्रा चलाउनुपर्छ भनी फेरी देवगणलाई सिद्ध गर्न ब्रम्हायणीमा यज्ञ बनाई ठूलो राँगो बली दिई पुनः देवगणलाई सिद्ध गरेको दिन महानवमी भएकाले त्यो बेला देखि महानवमीको दिनमा खम्येको बलि दिने प्रचलन चलेको लोककथन पाइन्छ।

महानवमीको मध्यरातमा नवदुर्गा देवगणलाई खम्येको रगत चढाई देवगण सिद्ध गरी विजया दशमीको दिन तलेजुको पायो(खड्ग) जात्रामा समेत खम्येको टाउकोलाई नगर परिक्रमा गर्ने प्रचलन रहेको सचिव बनमालाले बताए। खम्ये बध गरेपछि वर्ष दिनमा नवदुर्गा देवगृहमा हुने हरेक गोप्य पूजामा खम्येको मासु राखेर पूजा गर्ने परम्परा रही आएको छ। अन्तिममा भलाभला अष्टमीको दिनमा खम्येको ढाडको हड्डी र पूच्च्छर पकाएर नवदुर्गा देवगणलाई अन्तिम सगुनको दिने प्रचलन रहेको सचिव बनमालाले जानकारी दिए।

कालरात्रिका क्रममा बध गरिएका निकुथु र खम्येको मासुका टुक्रा प्रसादका रुपमा घरलगी सुकुटी बनाई धुलो पारेर ध्यूमा मुछी धुप बनाइन्छ र लक्ष्मीपुजाको दिनमा बाल्ने चलन रहेको छ। सो धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाशहुने र लक्ष्मीले बास गर्ने आदी जनविश्वास रहेको छ।

पछिल्लो समय नवदुर्गा देवीलाई खम्ये चढाउनेको घुइँचो लाग्न थालेको छ। नवदुर्गालाई खम्ये चढाए परिवारमा सुख शान्ति प्राप्ति हुने र परिवारको शत्रु नाश हुन्छ भन्ने जनविश्वास रहेको छ। सोही मान्यताअनुरुप नवदुर्गालाई खम्ये चढाउने भक्तजनको संख्या वृद्धि हुन थालेपछि आलोपालो खम्ये चढाउन पाउने व्यवस्था गरिएको सचिव बनमालाले बताए।

यसै अनुसार यसवर्ष भक्तपुर लिवालीका रामभक्त प्रजापतिले १ लाख ५ हजार मूल्य बराबरको खम्ये नवदुर्गालाई चढाएको छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.