|

विजया– विजयी बनाउने। १०– पूर्ण अंक। दशमी– पूर्ण तिथि। विजयको कामना लिएर त्रेता युगमा रामचन्द्रले विधिपूर्वक नवरात्र व्रत गरेको सन्दर्भ देवीभागवतको पञ्चम स्कन्ध, ३० औं अध्यायमा आउँछ। त्यहाँ दशमीका दिन पूजा विसर्जन गरी देवीको प्रसाद लगाई भगवान् राम विजययात्रामा निस्केको उल्लेख छ। 

नवरात्रको विधान मार्कण्डेय, पद्म आदि पुराणमा पनि पाइन्छन्। नवरात्रभरि शक्तिस्वरूपा भगवतीको आराधना गर्ने र दशमीका दिन बिहान अपराजिता, जया, विजयाको पूजा गरी विर्सजन गर्ने विधान छ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने, कन्यापूजा गर्ने, दशमीका दिन विसर्जन गरी प्रसाद लगाउने परम्परा नवरात्रको विधि हो। दसैं मनाउने सन्दर्भमा भारतीय र नेपाली सनातन धर्मावलम्बीबीचको परम्परामा केही भिन्नता पाइन्छ। १० दिनको अवधि नेपालमा दसैं र भारतमा दशहरा नामले परिचित छ। घटस्थापना गरे पनि जौलगायत अन्न छरी जमरा बनाउने र प्रसादका रूपमा लगाउने चलन भारतीयहरूमा कमै पाइन्छ। नेपाली मूलका रहने दार्जिलिङ र सिक्किमतिर भने यो चलन व्यापक छ। 

ठाउँ र परिस्थितिअनुसार आशीर्वाद फरक-फरक हुन सक्छन्। उद्देश्य एउटै हो, आफ्ना प्रियहरूको भलो कामना गर्नु।

भारतीयले दशमीको दिन विसर्जन गरी घट सोही दिन नदीमा सेलाउँछन्। हाम्रोमा भने पूर्णिमासम्म टीका प्रसाद लगाउने र पूर्णिमाका दिन विसर्जन गर्ने परम्परा छ। नौ दिनअघि शुक्ल प्रतिपदाको बिहान स्थापना गएिको घटको जलले अभिषेक गर्ने परम्परा दुवैमा रहे पनि त्यसमा छरिएको वा पूजा गरेका जौ उम्रेर बनेका जमरा (यवाङ्कुर) र रातो अक्षता प्रसाद (टिका) लगाउने परम्परा नेपालीहरूको मात्र हो। 

मातृशक्तिको आवाहन, आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीका दिन कुल–इष्ट–ग्राम–पितृ देवताहरूलाई अर्पण गरी प्रसादस्वरुप टीकासहित जमरा लगाउने परम्परा छ।  

अक्षताको अर्थ

विशेषगरी विजयादशमीमा रातो अक्षताको टीका लगाउने परम्परा छ। विशेष जातजातिमा सेता अक्षताको टीका लगाउने चलन नभएको होइन। अक्षता अर्थात् चामल। अक्षता वा चामललाई संस्कृत भाषामा ‘तण्डुल’ भनिन्छ। धानबाट बन्ने खाद्यान्न। मानिसको प्राण धान्नका लागि चामलको प्रयोग गरिन्छ। खाद्यवस्तुको रूपमा मात्र नभई देवकार्य, पितृकार्य एवं यज्ञादिमा धान/चामलकै प्रयोग गरिन्छ। यसैले सम्पूर्ण जगतकै प्राण रक्षा गर्ने भएकोले धानलाई प्राणेश्वरी अथवा ब्रह्म पनि भनिन्छ। संस्कृतमा ‘धान्य’ भनिने धानको बोटलाई लक्ष्मीको प्रतीक मानिन्छ। 

नवरात्रको प्रचलित पूजाविधिमा एउटा श्लोक आउँछ, ‘जगतः ‘प्राणरक्षार्थं ब्रह्मणा निर्मितं पुरा/उमाप्रीतिकरं धान्यं तस्माद्रक्षतु सर्वदा।’ अर्थात् विश्वको प्राण रक्षाका लागि ब्रह्माजीले धानको रचना गरेका हुन्, देवीको पनि प्रिय वस्तुको रूपमा रहेको यसले सबैको रक्षा गरोस्। यति महत्त्वको वस्तु भएकाले देवीलाई चढाउने र त्यसैबाट प्रसाद बनाउने गरिएको हो। रातोको अर्थ विजय वा उत्सव हो। निधारमा रातो अक्षताको टिकाले खुशी वा उल्लासको अवस्था जनाउँछ। 

जमराको महत्त्व

वैदिक ग्रन्थहरूमा जौलाई रोग दूर गर्ने, प्राण पुष्ट पार्ने, बल प्रदान गर्ने र यज्ञयज्ञादिमा उपयोगी ओज वस्तुको रूपमा लिइएको छ। सनातन संस्कारअनुसारका देवकार्यमा जौको प्रयोग प्रशस्त गरिन्छ। पौराणिक ग्रन्थहरूमा पनि यवोसि धान्यश....  अर्थात् जौलाई अन्नको राजा मानिएको छ। श्रीमद्भागवत महापुराणमा वामन अवताररूपी नारायणको पूजा गर्दा लोकपालहरूले जमरा चढाएको प्रसंग आउँछ। 

आयुर्वेद विधामा सानादेखि असाध्यसम्मका रोग निको बनाउन जमराको रस प्रयोग हुन्छ। औषधीय रूपमा महत्त्वपूर्ण जमरामा रहेका अनेक गुणले गर्दा प्रसादस्वरूप कान वा शिरमा सिउरिने परम्परा चलेको हो। नौ दिनसम्म सूर्यको किरण पर्न नपाएको पहेँलो जमरा लगाउने सनातन धर्मावलम्बी नेपालीहरूको पहिचान नै हो।

विजया दशमीको आशीर्वाद

दशमीको दिन बिहानीको झुल्के घामसँगै देवी विसर्जन गरी मान्यजनको हातबाट प्रसाद ग्रहण गरिन्छ। नवदुर्गाको प्रसादसँगै मान्यजनले दिने आशीर्वाद विशेष मानिन्छ। विजयादशमीको प्रसाद लगाइदिनेले योग्यताअनुसार वैदिक, पौराणिक र लौकिक आशिर्वाद दिन्छन्। ‘श्रीर्वर्चस्वमायुष्यम्...’ वैदिक मन्त्रको भावार्थ हुन्छ, ‘तिमीलाई श्री, आयु, आरोग्य, धन, धान्य, पशु (वाहन) प्राप्त होस्। असल सन्तान प्राप्त हऊन्, सन्तानका सत्कर्मले तिम्रोसमेत कीर्ति फैलियोस्। सबै सुख भोग्दै सय वर्षको आयु बाँच।’ 

विजया दशमीका लागि सरल संस्कृत मन्त्र छ, आयुर्द्रोणसुते श्रियो दशरथे... अश्वत्थामाको जस्तो आयु प्राप्त होस्, कीर्ति दशरथको जस्तो... इत्यादि। यो मन्त्रमा पौराणिक पात्रहरूका राम्रा/राम्रा एक/एक गुण तिमीलाई प्राप्त होस् भन्ने कामना गरिएको छ। मन्त्रार्थाः सफलाः सन्तु पूर्णाः सन्तु मनोरथाः/शत्रूणां बुद्धिनाशोऽस्तु मित्राणामुदयस्तव/अव्याधिना शरीरेण मनसा च निराधिना/पूरयन्नर्थिनामाशास्त्वं जीव शरदां शतम्। अर्थात् मनोकांक्षा सिद्धि होस्, तिम्रा कुभलो गर्नेको बुद्धि नाश होस्, मित्रहरू बढ्दै जाउन्, निरोगी भएर सय वर्ष बाँच।

भद्रमस्तु शिवं चास्तु महालक्ष्मीः प्रसिदतु। तुष्यन्तु त्वां सदा देवाः संपदः सन्तु सुस्थिराः। जयन्ती मङ्गला काली भद्रकाली कपालिनी/दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते।  देवीदेवताले संधै कल्याण गरुन् भन्ने अर्थ अघिल्लो मन्त्रले बोकेको छ। पछिल्लो मन्त्र दुर्गाको आराधना हो। यो मन्त्रले पनि कल्याणको अर्थ दिन्छ।

लौकिक रूपमा आफ्ना प्रियहरूको अवस्था हेरी आशीर्वाद दिने चलन छ। ठाउँ र परिस्थितिअनुसार आशीर्वाद फरक-फरक हुन सक्छन्। उद्देश्य एउटै हो, आफ्ना प्रियहरूको भलो कामना गर्नु। ‘सन्तानले डाँडाकाँडा ढाकून्’, पहाडतिर पहिलेका बुढाबुढाले दिने यो आशीर्वादलाई हामीले गलत अर्थ लगायौं। सन्तान फैलियून्। सबैतिर उनीहरूको कीर्ति फैलियोस् भन्ने कामना होला। 

डाँडाकाँडाको शब्द फैलिएर अहिले मुलुक वा विश्वभरि भन्नुपर्ने अवस्था आएको छ। आफ्ना सन्तान सबैतिर पुगुन् कीर्ति चलोस् भन्ने इच्छा कसको नहोला र! यस्तै ‘हिँड्दा ठेस नलागोस्’ भन्ने आशीर्वाद सामान्य छ तर गुढ अर्थ, कुनै पनि काम गर्दा बिघ्न नआओस्, सफलता मिलोस् भन्ने हो।

[email protected]


मन्त्र— आमोदवर्धन कौण्डिन्न्यायनको फेसबुकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.