|

झापा: झापाको कमल गाउँपालिकाका टेकबहादुर खड्का सधैँ छ सय रूपैयाँ भाडा तिरेर इलाम र पाँचथरको सिमाना सप्तमी बजार पुग्ने गर्थे। त्यस्तै सम्झेर आइतबार पनि उनी दमक- १ मा रहेको रवि बस स्टेण्ड आए। त्यहाँ आइपुगेर काउन्टरमा पुग्दा उनी अचम्ममा परे।

सधैँ छ सय रूपैयाँ गाडी भाडा लाग्ने ठाउँमा अहिले एक हजार रुपैयाँ तिर्नुपर्दा उनलाई नरमाइलो लाग्यो। दसैँको मौका छोपेर यसरी कालोबजारी हुँदासमेत सम्बन्धित निकाय बेखबर बनेकोमा उनी अचम्भित भएका हुन्। ‘पहाडमा आमा हुनुहुन्छ र टीका लगाउन जाऊँ भनेको गाडी भाडा नै एक हजार भन्छन्', उनी भन्छन्, 'एक महिनाअघिसम्म त छ सय रूपैया मात्र थियो, यति छिटो कसरी चार सय रूपैयाँ बढ्यो?’ सम्बन्धित निकायले अनुगमन नगर्दा यात्रु समस्यामा परेको उनी बताउँछन्। ‘अहिले त पहिलाको भन्दा पनि बाटो राम्रो बनेएको छ, तर पनि यात्रु ठग्ने क्रम हटेको छैन', उनको गुनासो छ, 'यो सबै सम्बन्धित निकायको कमजोरीका कारण भएको हो।’ यसरी दसैँको मौका छोप्दै यात्रु ठग्ने यातायात व्यवसायीलाई कारवाही गर्नुपर्ने उनको माग छ।

यस्तै, झापाको दमक हुँदै पाँचथरको रविसम्म जान लागेका दमक- १ का सनम लिम्बुले पनि यस पटक नौ सय रूपैयाँ गाडी भाडा तिर्नुपर्‍यो। उनी सधैँ यही बाटोमा ५५० रूपैयाँ भाडा तिरेर जाने गर्थे। तर यस पटक ह्वात्तै भाडा बढेको सुन्दा उनी अचम्भित भए। उनी भन्छन्, ‘म त अचम्ममा परेँ, अरू बेला त छ सय भाडा थियो र यस पटक पनि छ सय नै होला भनेर त्यति बोकेर आएको, पैसाले पुगेन, फेरि बुबालाई फोन गरेर पैसा मगाएको छु।’

दमक चिसापानी रवि सडक खण्डमा पर्ने इलामको फुएँतप्पा हिडेकी दमककी उमा गिरीले पनि एक हजार रूपैयाँ भाडा तिर्नुपर्‍यो। उनी सधैँ त्यही बाटो छ सय रुपैयाँ भाडा तिरेर जाने गर्थिन्। ‘दसैँमा टीका लगाउन माइत जान लागेको भाडै महँगो छ, त्यही माथि गाडी पाइँदैन', उनी भन्छिन्, 'अरू बेला जाँदा छ सय मात्र तिर्नुपर्थ्यो।’  

उनले दसैँमा यात्रुहरू समस्यामा परेको बेलामा यसरी ठग्न नहुने बाताइन्। उनी भन्छिन्, ‘यसरी दसैँको बेलामा यात्रु ठग्नेलाई अनुगमन गरेर कारवाही गर्नुपर्छ। यसबेला त नजाऊँ भने पनि हुँदैन अभर परेका बेलामा १५ सय नै भए पनि तिरेर जानुपर्ने बाध्यता छ।’ उनले एक हजार रूपैयाँको टिकट पनि काउन्टरले नै काटेर खुलेआम ठगी गर्दासमेत नियमनकारी निकाय भने बेखबर बनेको बताइन्।

सरकारले तोकेको र यसअघि लिइने भाडा दरअनुसार दमकदेखि रविसम्म ५५० रूपैयाँ मात्र भाडा दर हो। दमकदेखि रविसम्म जम्मा ४४ किलोमिटरको दूरी मात्र हो।

यता, दमक–चिसापानी–रवि सडक खण्ड (फाल्गनुन्द मार्ग) का अध्यक्ष रेवतराज पुरी गगनले बाटो राम्रो बनाएको बेलामा पनि यसरी यात्रु ठग्न नमिल्ने बताए। उनले यातायात व्यवसायीसँग कुरा गर्ने बताए।

यता, दमक यातायात व्यवसायी संघले भने भाडा दरभन्दा धेरै लिएको स्वीकार गर्दै दसैँलगत्तै भाडा घट्ने जनाएको छ। दमक यातायात व्यवसायी संघका सचिव तुलसी खड्काले दसैँलगत्तै भाडा घट्ने बताए। उनले भने, ‘फाल्गुनन्द मार्ग खुलेको ३/४ दिन मात्र हुँदै छ, त्यसअघि हामी ६ नम्बर बुधबारे हुँदै लाने गर्थ्यौँ।त्यसकारण भाडा बढी भएको हो तर अहिले फाल्गुनन्द मार्गबाटै हिँड्दै छौँ।’ उनले दसैँले गर्दा एकतर्फी जाने मात्र मान्छे हुने भएकाले पनि भाडा बढाउनुपरेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.