|

  • जङ्ग तामाङ-

पाँचथरः स्थानीय तह निर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गरेको संघीय लिम्बुवान पार्टी नेपालले प्रदेश र संघको निर्वाचनमा भने सहभागिता नजनाउने भएको छ। 

पार्टी अध्यक्ष सञ्जुहाङ पालुङ्वाले संविधान कार्यान्वयन गर्न हुन लागेको निर्वाचनमा सहभागिता नजनाउने प्रष्ट पारे। पालुङवाले चाँडै बहुल राष्ट्रिय मुक्ति क्रान्तिको कार्यक्रम सार्वजनिक गरेर आन्दोलनमा जाने पनि बताए। निर्वाचनमा जितेर पनि पार्टीले उठाएका संशोधनका एजेण्डाहरू संबोधन हुने छाँटकाट नभएकाले आन्दोलनमा जान लागेको उनले दाबी गरे। 

‘यो निर्वाचन नाटक हो। यस्तो निर्वाचनमा हामी सहभागी हुँदैनौँ’, उनले भने, ‘निर्वाचन जितेर संविधान संशोधन पनि हुँदैन बरु आन्दोलनमै जान्छौँ।’ निर्वाचनमा सहभागी हुँदा केही सिट जित्ने तर पनि सांसद र मन्त्री बनेर पहिचानवादी जनताले चाहेको आत्मनिर्णयको अधिकार प्राप्तिको आन्दोलनलाई धोका दिन नसकिने बताए। अधिकारप्राप्ति नभएसम्म आन्दोलन निरन्तर हुने पनि चेतावनी दिए। 

‘आन्दोलन गरेरै बुढो भएँ। अझै पनि गर्छौं’, उनले भने, ‘आन्दोलन गर्नै जन्मेको हुँ।’ स्थानीय तह निर्वाचनमा अरूणपूर्व नौ जिल्ला लिम्बुवान भन्दै आएको लिम्बुवानले एउटा पनि स्थानीय तह जित्न सकेन।

स्थानीय तह निर्वाचनलाई आन्दोलनको रूपमा उपयोग गरेको भनिए पनि अपेक्षाकृत नतिजा नआएपछि उक्त पार्टी आसन्न १० र २१ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुन नचाहेको विश्लेषकहरूले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.