|

बार्सिलोना : घरेलु टीम मैदानमा हुँदा सधैंजसो भरिभराउ हुने बार्सिलोनाको क्याम्पनाउ स्टेडियम आइतबार खाली थियो। स्पेनिस ला लिगाअन्तर्गत लस पाल्मसविरुद्धको खेलका लागि पुगेका बार्साका समर्थक गेटबाहिरै रोकिए। मैदान छिर्ने प्रवेशद्वार बन्द गरियो। कारण थियो, क्याटलोनियाको स्वतन्त्रताका लागि आह्वान गरिएको जनमत संग्रह र त्यसमाथि स्पेनिस प्रहरीको हस्तक्षेप।

क्याटलोनियाको राजधानी बार्सिलोनामा दिनभर हिंसा भड्कियो। आइतबारका लागि तोकिएको जनमत संग्रह रोक्न हजारौंको संख्यामा स्पेनिस प्रहरी बार्सिलोनासहित क्याटलोनियाका विभिन्न क्षेत्रमा तैनाथ थिए। जनमत संग्रहलाई असंवैधानिक भन्दै प्रहरीले गरेको हस्तक्षेपमा ८ सयभन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

खाली मैदानमा किन खेल्यो बार्सिलोनाले?

दिनभरको हिंसापछि बार्सिलोनाले खेल स्थगित गर्न स्पेनिस लिगलाई अपिल गरेको थियो। तर, ला लिगा खेल स्थगित गर्न तयार भएन। बार्सिलोना अझै नखेल्ने मनस्थितिमा थियो, तर ६ पोइन्ट पेनाल्टी लगाउने चेतावनीपछि खेल सुरु हुनुभन्दा २५ मिनेटअघि मात्र बार्सिलोना खेल्न तयार भएको बीबीसीले लेखेको छ। स्पेनिस प्रहरीको हस्तक्षेप र खेल रोक्न नदिने ला लिगाको कदमको सांकेतिक विरोधस्वरुप बार्सिलोनाले खाली स्टेडियममा खेलेको हो। खेल अवधिभर स्टेडियमको बोर्डमा स्पेनिस भाषामा (डेमोक्रासिया) अर्थात् प्रजातन्त्र लेखिएको थियो।

सो खेल बार्सिलोनाले ३-० ले जित्यो। बार्साका लागि लियोनल मेसीले २ तथा सर्जियो बुस्केटले १ गोल गरे। जितसँगै ७ खेलबाट शत प्रतिशत २१ अंक जोडेको बार्सिलोना लिगको शीर्ष स्थानमा कायम छ। यदि यो खेल नखेलेको भने बार्सिलोनालाई ९ अंक घाटा लाग्ने सम्भावना थियो। यो खेलको ३ अंक त जोडिने थिएन नै यसअघि जितेर प्राप्त कुल अंकबाट ६ अंक घटाउने ला लिगाको चेतावनी थियो।

क्याटलोनिया स्पेनको *उत्तरपूर्वमा अवस्थित छ। करिब ७५ लाख जनसंख्या रहेको यस प्रान्तको आफ्नै भाषा, संस्कृति र पहिचान छ। आफूलाई स्वतन्त्र राष्ट्र दाबी गर्ने क्याटलोनियाको राजधानी बार्सिलोना हो। क्याटलोनियाले लामो समयदेखि स्पेनबाट स्वतन्त्र हुन चाहिरहेको छ। तर, स्पेनले त्यसलाई स्वीकारेको छैन। ला लिगामा क्याटलोनियाबाट हाल ३ वटा टिम सहभागी छन्। बार्सिलोना, इस्पानियोल र गिरोना क्याटलान टोली हुन्।

खेलपछि निकै भावुक मुद्रामा प्रस्तुत भएका गेरार्ड पिकेले आफूले विश्वकपअगावै स्पेनिस टोलीबाट सन्यास लिनसक्ने संकेत गरे। उनी क्याटलोनियाकै बासिन्दा हुन्। पिकेका अलावा बार्सिलोनाका सर्जियो बुस्केट, गेरार्ड डेउलेफु, एलेक्स भिडाल, जोर्डी अल्बा, सर्जी रोबर्टो, रियल मड्रिडका किको कासिया, चेल्सीका सेस फेब्रिगास लगायत खेलाडी क्याटलान हुन्। अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका स्पेन तथा बार्सिलोनाका लिजेण्ड जाभी तथा म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलासमेत सोही राज्यबाट प्रतिनिधित्व गर्छन्।

Photo : BBC

* सच्याइएको

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.