स‌ंकट टरोस् भन्दै एकैसाथ ४ ओटा बोकाको बलि र रुद्रि पूजा

|

दीपशंकर चौलागाई-

    दोलखा : प्रसिद्ध दोलखा भीमेश्वरमा सोमबार क्षमापूजा गरिएको छ। करिब एक साताअघि भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस भन्दै क्षमापूजा गरिएको हो।राष्ष्ट्रपति कार्यालयबाट पठाएको पूजासामग्री सहितले दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो।

    भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ। सोहीअनुसार राष्ट्रपति कार्यालयबाट पठाएको पूजासहितले भीमेश्वरमा क्षमापूजा गरिएको हो। पसिना पुछिएको कपास ‘महाप्रसाद’ ग्रहण गर्दै राष्ट्रपतिले ‘मुलुकमा कुनै संकट नआओस् भन्ने कामना गरेकी थिइन्।

    सोही कामनासहित दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो। क्षमापूजाका क्रममा १३ जना पण्डितहरुबाट लघुरुद्री गरिएको छ। सरकारका तर्फबाट जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की, जनप्रतिनिधिका तर्फबाट भीमेश्वर नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष विराज श्रेष्ठले लघुरुद्रीको संकल्प गरेका हुन्।

    सो अवसरमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापा र रणभीम गणका गणपति झविन्द्रबहादुर रेश्मीको समेत सहभागिता थियो । लघुरुद्री गरिसकेपछि बलिपूजा गरिन्छ। सरकारका तर्फबाट जोरबोका र स्थानीयको तर्फबाट जोरबोका गरी ४ वटा बोका बलि दिनुपर्ने प्रचलन अनुसार बलिपूजा गरिएको छ।

    बाजागाजासहित बलिपूजा गरेपछि उपस्थित सबैलाई प्रसाद बाँडिन्छ र क्षमापूजा समापन हुन्छ। क्षमापूजा समापनपछि सोमबारै सो पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने भीमेश्वर २ का वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.