|

  • भविश्वर पाण्डे-

कावासोती: दसैँको टीकाको दिन नवलपरासीमा एक युवकको हत्या भएको खुलासा भएकोे छ। जिल्लाको सुनवल नगरपालिका- २ बत्रौली बस्ने ३२ वर्षका खेमराज (केदार) अहिरको हत्या भएको घटना बाहिर आएपछि प्रहरीले अभियुक्तहरूको खोजतलास गर्न थालेको जनाएको छ।

प्रहरीका अनुसार असोज १४ गते शनिबार बिजयादशमीको राती ९ बजे मृतक अहिरको साथी सोही गाउँ बस्ने २४ वर्षका सुरेन्द्र गिरीले अहिरलाई एक ठाउँमा जाऊँ भनेर घरबाट बोलाएर बाहिर लगेका थिए। राती ९ बजे गएका अहिर घर नफर्किएपछि उनका दाजु वासुदेव अहिर भोलिपल्ट असोज १५ गते गिरीको घरमा सोधपुछ गर्न पुगेका थिए। गिरीका बुबाले मलाई केही थाहा छैन भनेपछि मृतक अहिरको गाउँगाउँ र आफन्तहरूकहाँ खोजतलास हुन थाल्यो।

दिउँसो ४ बजेको समयमा एक जना गाउँले घाँस काटन जाँदा धानको खेतमा शव देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए। अहरिको शरीरमा लाठी र धारिलो हतियार प्रयोग भएको निशान देखिएपछि उनको हत्या गरिएको शंका गरिएको छ। फेला परेको शवलाई पोष्टमार्टम गर्न पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।

मृतक अहिरलाई उनका साथी सुरेन्द्र गिरी र गिरीकी भाउजू फूलमती गिरीले नै सुनियोजित तरिकाले हत्या गरेको पीडित परिवारको आरोप छ। घटना भइदेखि आरोपित गिरी र भाउजू फूलमती दुवै फरार रहेको प्रहरीले जनाएको छ।

आरोपित गिरी र मृतक अहिर निकटका साथी रहेका परिवारले बताएकाे छ। असोज १३ गते नवमीको दिन मृतक र गिरीको घरपरिवारसँग स्यानो विषयमा विवाद भएको थियो। विवाद मिलाअौँ भनेर गिरीले अहिरलाई लगेको पीडित पक्षले बताएका छन्।

हत्यारालाई कडाभन्दा कडा सजायको माग गर्दै मृतकका दाजु वासुदेव अहिरले सोमबार जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यानको जाहेरी दरखास्त दिएका छन्। गिरीका बुबा र भाइलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.