छापिँदैछन् ३३७ प्रकारका मतपत्र

|
प्रतीकात्मक तस्विर

काठमाडौं : निर्वाचन आयोगले २०७४ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ सात गरी ३३७ प्रकारका मतपत्र छाप्ने तयारी गरेको छ। आयोगले असोज १७ अर्थात् भोलि मङ्गलबारबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको जनाएको छ । 

'समानुपातिकतर्फको मतपत्र छपाइको तयारी पूरा भएको छ', आयोगका प्रवक्ता नवराज ढकालले भने, 'मतपत्रको ढाँचालाई आयोगले स्वीकृत गरिसकेको छ र मतपत्रको छपाइ कार्य नेपाली सेनाको सुरक्षामा भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा हुनेछ।'

एउटै पानाको माथिल्लो खण्डमा प्रतिनिधिसभा सदस्य र तल्लो खण्डमा प्रदेशसभा सदस्यको मतपत्र रहनेछ। समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छपाइ गरिनेछ । 

मतदाताले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ एउटै मतपत्रमा दुई ठाउँमा मतदान गर्नेछ । समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्यमा ११० र प्रदेशसभा सदस्यमा सात प्रदेशमा गरी २२० जनाको चयन हुनेछ। 

प्रतिनिधिसभा सदस्यका लागि देशभरिलाई एउटै निर्वाचन क्षेत्र मानी ७७ जिल्लाका १६५ वटा निर्वाचन क्षेत्रका मतदाताले मन परेको एउटा राजनीतिक दललाई मतदान गर्नेछन् । त्यस्तै प्रदेशसभाको हकमा सम्बन्धित प्रदेशलाई एउटै निर्वाचन क्षेत्र मानी सात प्रदेशको समानुपातिक प्रणालीका लागि आफूलाई मन परेको दललाई मतदान गर्न सातवटा मतपत्रको ढाँचा तयार गरिएको छ। 

सोमबार जनक शिक्षा सामग्री केन्द्र पुगेका आयोगका उपसचिव देशबन्धु अधिकारीले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको आवश्यक तयारी पूरा भएको जानकारी दिए। समानुपातिकतर्फको मतपत्र हल्का रातो रङमा छापिने उनले बताए। 

निर्वाचन चिह्न रहने कोठाहरू प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८८ र प्रदेशका लागि सम्बन्धित प्रदेशमा भाग लिएको दलहरूको सङ्ख्याअनुसार रहनेछ। निर्वाचन चिह्न राख्दा दुवै खण्ड (माथि र तल) को मतपत्रको बायाँबाट दायाँतर्फ क्रमशः १० वटा र माथिबाट तलतर्फ निर्वाचनमा भाग लिने सबै दलको निर्वाचन चिह्न अटाउने गरी निर्वाचन चिह्नहरू रहनेछन् । 

दलका निर्वाचन चिह्नहरू राख्दा निर्वाचन चिह्नहरूको क्रम प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ ले निर्दिष्ट गरेअनुसार हुनेछ । जसअनुसार अघिल्लो संविधानसभा सदस्य निर्वाचनमा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने दलले संविधानसभा सदस्य निर्वाचन २०७० मा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा मतपत्रमा दलका चुनाव चिह्न क्रमशः रहनेछन्। 

समानुपातिक निर्वाचन प्रणालीका लागि झण्डै एक करोड ८० लाखको हाराहारीमा मतपत्र छापिनेछ। आयोगले मतदाताको सङ्ख्या केही दिनभित्रै यकिन हुने जनाएको छ। समानुपातिक निर्वाचनमा भाग लिने राजनीतिक दलले उम्मेदवारको बन्द सूची यही असोज २९ गते पेस गर्नुपर्ने गरी यसअघि नै निर्वाचन आयोगबाट निर्वाचन कार्यक्रम प्रकाशित भइसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • समाचार संयोजक ज्यू, तस्बिर स्थानीय तहको राखेर समाचार चाहिँ प्रतिनिधि सभाको छ???? ख्याल गरियोस्।