|

दिपक शर्मा

सल्यान : संरक्षण अभावमा जिल्लाको चिनारी बोकेको कछुवा दह ओझेलमा पर्नुका साथै पुरिँदै जान थालेको छ। जैविक विविधताले भरिपूर्ण दह आवश्यक संरक्षणको अभावमा पुरिँदै जान थालेको हो। कालिमाटी रामपुर गाउँपालिका वडा न २ ढोरेनीमा रहेको कछुवा दह आसपासका डाँडाबाट बगेर आउने माटोको बहाव र बाढिपहिरोले गर्दा जिल्लाको दोस्रो ठूलो दह पुरिँदै गएको छ।

अव्यवस्थित रुपमा खनिएका मोटरबाटोबाट बगेर आउने माटोले जलाधार क्षेत्र पुरिँदै गएपछि कछुवा दहको अस्तित्व संकटमा परेको हो। ताल संरक्षणतर्फ सम्बन्धित निकाय मौन बस्दा आन्तरिक तथा बाह्य पर्यटकसमेत घट्न थालेको स्थानीयहरुको भनाइ रहेको छ।

दह नजिकैबाटो मोटरबाटो लिँदा दह झनै बढी पुरिँदै गइरहेको स्थानीय तिला केसीले बताइन्। उनले भनिन्, ‘आजभोलि विकास गर्ने नाममा प्राकृतिक सम्पदामा के कति असर पर्छ भनी ख्यालै नगरी खन्ने क्रम बढ्दो छ जसको असर कछुवा दहमा पनि देखिँदै आइरहेको छ।’

संरक्षण अभावका कारण १ सय ५० मिटर लम्बाइमा खुम्चिन पुगेको दह यथासक्य कुनै कदम नचाल्ने हो केही वर्षमै लोप भएर जाने सम्भावना रहेको छ। सल्यान जिल्लाकै एवं कालिमाटी रामपुर गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि कछुवा दह संरक्षणतर्फ सबै पक्ष उत्तिकै उत्तरदायी हुनुपर्ने कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताए।

उनले भने, ‘कछुवा दह एक दह मात्र नभएर यसले प्राकृतिक तथा धार्मिक महत्व पनि बोकेको छ। संरक्षणको अभावमा ओझेलमा परेको दहलाई गाउँपालिकाकै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जरुरी छ।’

यस दहनजिकै देउती बज्यैको मन्दिरसमेत रहेको छ। उक्त मन्दिरसमेत आवश्यक संरक्षणको अभावमा जीर्ण बनेको छ। यस मन्दिरमा चिताएको पूरा हुने जनविश्वास रहेको छ। यसै मन्दिरका कारण प्रत्येक वर्ष शिवरात्रिको दिन रातदिन गरेर ३ दिन मेला लाग्ने गर्दछ।

 तालको अवलोकन गर्न दाङ, सुर्खेत, जाजरकोट, बाँके बर्दिया लगायतका क्षेत्रमा आउने गर्दछन्। यस दहसँगै धार्मिक महत्व समेत रहेको मन्दिर तथा दह वरपर रहेका संरचनाको संरक्षण गर्नुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.