|

काठमाडौं: विश्व आर्थिक मञ्चले गरेको विश्व प्रतिस्पर्धा (ग्लोबल कम्पिटेटिभनेस) सर्भेमा नेपालको स्थिति गत वर्षभन्दा सुधार भएको छ। विश्वका १३७ मुलुकमा गरिएको सर्भेमा नेपाल ८८ औँ स्थानमा छ। गत वर्ष नेपाल ९८ औँ स्थानमा थियो।

बहृत् आर्थिक स्थायित्व, स्वस्थ तथा प्राथिमिक शिक्षा र विद्युतीकरणमा गरेको सुधारका कारण नेपालको स्थिति गत वर्षभन्दा राम्रो भएको मङ्गलबार ललितपुरमा प्रतिवेदन सार्वजनिक गर्दै प्राध्यापक डा। रमेशचन्द्र चित्रकारले बताए।

विश्व आर्थिक मञ्चले १२ वटा मुख्य विषयका ११४ भन्दा बढी सूचाङ्कको अध्ययन गरेर उक्त प्रतिवेदन तयार पारेको हो। ती १२ विषयमा संस्थागत विकास, पूर्वाधार, बृहत् आर्थिक स्थायित्व, स्वास्थ्य र प्राथमिक शिक्षा, उच्च शिक्षा र तालिम, वस्तु बजारको अवस्था, श्रम बजारको दक्षता, वित्तीय बजारको विकास, प्रविधि प्रयोगको तत्परता, बजारको आधार, व्यावसायिक विशेषज्ञता र नवप्रवर्तकको अवस्थालाई लिइएको थियो। प्रतिवेदनअनुसार गत वर्षझैँ यस वर्ष पनि स्वीजरल्यान्ड पहिलो स्थानमा छ भने अमेरिका तेस्रोबाट दोस्रो स्थानमा उक्लेको छ।

गत वर्ष दोस्रो स्थानमा रहेको सिङ्गापुर यस वर्ष तेस्रो स्थानमा झरेको छ। नेदरल्यान्ड र जर्मनी गत वर्षकै अवस्था चौथो र पाँचौँ स्थानमा छन्। त्यस्तै हङ्कङले नवौँ स्थाबाट छैटौँ स्थानमा आइपुगेको छ। स्वीडेन, बेलायत, र जापान गत वर्षको तुलनामा एक÷एक स्थान ओरालो लागेका छन्। ती देश क्रमशः सातौँ आठौँ र नवौँ स्थानमा छन्। ती देशमा उपादकत्वमा आएका कमीका कारण एक स्थान तल ओर्लेको प्रतिवेदनमा उल्लेख छ। फिनल्यान्डको अवस्था गत वर्षझै दशौँ स्थानमा नै छ।

यस वर्षको प्रतिवेदनले सम्पूर्ण दक्षिण एसियाली मुलुकको अवस्थामा नै सुधार देखिएको छ। समग्रमा भारत ४० औँ स्थानमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ। दक्षिण एसियाली मुलुकमध्ये भारत पहिलो, श्रीलङ्का दोस्रो, भुटान तेस्रो र नेपाल चौथो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.