|

  • बुद्धकुमार आछामी-

सिन्धुली : बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-२ भद्रकाली चियाबारीमा बुधबार भएको बोलेरो दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

जिल्लाको ग्रामीण क्षेत्र घ्याङलेक गाउँपालिका–१ अमलेबाट खचाखच यात्री लिएर सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा७च६३७ नम्बरको डबलक्याप बोलेरो दुर्घटनामा परेको हो। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइतेमध्ये घ्याङलेक-२ बस्तीपुरकी ३० वर्षीय निरुता घिसिङ, १० वर्षीय अनोज भोलन र १६ वर्षीय रोशन वाइबालाई थप उपचारका लागि काठमाडौं पठाइसकिएको र थप २ जना घ्याङलेक- २ बस्तीपुरकी ४५ वर्षीय मन्दिरा वाइबा र  सोही गाउँपालिका वडा नं. १ अमलेका ३० वर्षीय अनील वाइबालाई थप उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक टीका बहादुर केसीले जानकारी दिए।

दुर्घटनामा परी सामान्य घाइते भएका सोही गाउँपालिका स्थायी ठेगाना भएका ४० वर्षीय आइसा लामा, ५४ वर्षीय धनकुमार वाइबा, २५ वर्षीय राधिका लामा, १९ वर्षीय मन्जु वाइबा लगायतको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गाडीले क्षमताभन्दा बढी यात्री बोकेको र घुम्तीमा स्पिडका कारण पल्टिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। चालक र गाडीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकिएको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.