|

झापा: तेस्रो मुलुक पुनर्वासले झापा र माेरङमा रहेका शरणार्थी शिविरमा ठूलो पारिवारिक विचलन ल्याएको छ। धेरैको परिवार छुटेको छ। दैनिक रोएर बस्न बाध्य छन् उनीहरू।

यस्तो समस्या धेरैजसो शिविरमा रहेका वृद्धवृद्धामा देखिएको छ। कतिपय वृद्धवृद्धाहरू तेस्रो मुलुक पुनर्वास भएर नजाने र आफ्नै देशमा फर्कने भनेर यहीँ बस्दै आएका छन्। युवा पुस्ताहरू आफ्नो भविष्य खोज्दै तेस्रो मुलुक गएका छन्। शिविरमा धेरैजसोका परिवारमा छोराछोरीले बाबुआमा छाडेर तेस्रो मुलुक गएका छन्। कतिले त श्रीमानसमेत छाडेर गएका पनि छन्।

अझ पारिवारिक विचलन त दर्ताविहीन शरणार्थीमा देखिएको छ। दर्ता भइरहेको समयमा पढाइका लागि बाहिर गएका या कुनै कामले बाहिर गएकाहरूको परिवारमा ठूलो बिछोड छ। परिवारका सबै सदस्य तेस्रो मुलुक पुनर्वास भए पनि त्यो परिवारको एक जनाले त्यस समयमा फोटो खिचाउन नपाएकाले नै एक्लिनुपरेको अवस्था छ। यस्तै समस्यामा बाँचेकी छन् बेल्डाँगी शिविर जी १ छाप्रो नम्बर ७२७३ की ८३ वर्षकी रुक्मिणी न्यौपाने।

भुटान हुँदै श्रीमानले कान्छी श्रीमती ल्याएर उनलाई छाडे। उनको साथमा एक छोरी र एक छोरा थिए। भुटानी शासकहरूले उनीहरूलाई भुटानबाट लखेटे। छोरी विवाह गरिसकेकी हुनाले उनीसँग आइनन्। रुक्मिणी छोरा होमनाथको साथमा नेपाल आइन्। शरणार्थी शिविर गोलधापमा करिब १४ वर्ष बसिन्। त्यस क्रममा छोरा होमनाथ पढ्न भनेर हरिद्वार गएका थिए। छोरा लामो समयसम्म फर्केर नआउँदा उनलाई एक्लै बस्दा बिरक्त लागेको थियो। उनी छोरा खोज्न भनेर हरिद्वार गइन्। तर उनले छोरा भेटिनन्। ‘१० वर्ष हरिद्वार बस्दा मैले धेरै दु:ख झेलेँ तर त्योभन्दा बढी दुख त अहिले झेल्दै छु। छोरा नभेटेपछि म त्यतैतिर मन्दिरमा माग्दै बसेँ', उनी सम्झन्छिन्. 'एक दिन हरिद्वारमा नुहाउन लागिरहेकी थिएँ, यतैबाट गएको एकजना मान्छेले तेरो सबै परिवार अमेरिका गए भने।श्रीमान, सौता र मेरो एक मात्र छोरा अमेरिका गएको खबरले म बेहोस भएछु। उनले नै मलाई यहाँसम्म ल्याए।’

आउँदा छोरा पनि अमेरिका गइसकेको थाहा पाएको उनले बताइन्। आफूले रासन नपाउने थाहा पाएपछि अर्को पीडा थपियो उनलाई। ‘क्याम्प सचिवलाई पनि भनेरै गएकी थिएँ, तर मेरो दर्ता हटाइएछ, मैले पहिला रासन पनि खाएको हो’, रासन कार्ड देखाउँदै उनी भन्छिन्, ‘तर अहिले रासन पनि दिन छाडे। न छोरालाई भेट्न पाएकी छु, न छोरीको हाल खबर नै बुझ्न पाएकी छु।’ अर्काले छाडेको छाप्रोमा बस्दै आएकी उनलाई नाति (जेठाजुका नाति) छविलाल मिश्रले रेखदेख गर्दै आएका छन्। उनको पनि अवस्था उस्तै छ। उनी पनि दर्ताविहीन शरणार्थी हुन्। अझ उनी त श्रीमतीले कमाएको खानुपर्ने अवस्थाका छन्।

काम गर्न भनेर भारत जाँदा दुर्घटनामा परेर घाइते भएका छन् उनी पनि। उनका सबै परिवार अमेरिका पुगेका छन्। उनी दुई छोरी र श्रीमतीका साथ यहाँ बस्दै आएका छन्। श्रीमतीले गाउँबाट दूध संकलन गरेर बेचेका भरमा उनको परिवार चल्दै आएको छ। रुँदै रुक्मिणी भन्छिन्, ‘जसोतसो यही नातिले हेरेको छ, उसको पनि बिजोग छ। ऊ पनि खुनी छ, आज के खाने भोलि के खाने अवस्थामा छ ऊ पनि।’

उनलाई यस पटक दशैँ मनाउन पनि समस्या भएको छ। बुढेसकालमा काम गर्न नसक्ने भएपछि उनलाई अझ धेरै समस्या भएको बताइन्। उनले भनिन्, ‘काम गर्न पनि सक्दिनँ, रासन पनि दिँदैनन्, पैसा भएको भए पो दशैँ मनाउनु।’ उनी आफूलाई छोराले समेत वास्ता नगरेको भन्दै भक्कानिइन्। ‘छोराले कहिल्यै फोन पनि गर्दैन, यतैबाट गर्छु, आफ्नो फोन भए पो सधैँ गर्नु। फोन गरे पनि पैसा पठाइदिँदैन। पहिला २/३ हजार पठाइदियो, त्यति नै हो’, उनले भनिन्।

उनले अब आफू जीवनको अन्तिम समयमा आएर एक्लै बस्नुपर्ने भएको बताइन्। ‘कि छोरासँग भेट्टाइदेऊ, कि रासन देऊ, होइन भने म बाँच्न सक्दिनँ अब विष देऊ', सरोकारवालाहरूसँग उनको माग छ, 'म यसरी बुढेसकालमा अभावै अभावको जिन्दगी बिताउन सक्दिनँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.