|

कालिकोट : दसैंको समयमा रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ। कर्णाली राजमार्गअन्तर्गत नाग्मादेखि मुगुको गमगढीसम्मको ९५ किलोमिटर सडक निर्माण भएपछि यहाँ आउने नेपाली पर्यटक बढेका हुन्। दसैंको लामो विदामा घुम्ने प्रचलन बढेको र मौसम पनि अनुलुक भएका कारण यसवर्ष रारा आउने पर्यटक बढेका हुन्। मुगुको ताल्चा विमानस्थल केही स्तरउन्नति भएका कारणले रारा घुम्न आउनेलाई सहज भएको रारा डाँफे होटेलका म्यानेजर लोकेन्द्र बमले बताए।

‘आजभोलि आन्तरिक पर्यटक निकै आउने गरेका छन्’ उनले भने, ‘विमानस्थलको पनि केही स्तरउन्नति भएका कारणले पर्यटक आउने संख्या बढेको हो।’

रारास्थित डाँफे होटलका म्यानेजर बमका अनुसार असोज महिनादेखि काठमाडौं र पोखरादेखि मोटरसाइकल चढेर रारा आउने युवकको दैनिक दुई सयदेखि ३ सय हाराहारी छ। ‘दिनहुँ मोटरसाइकलबाट २ सयदेखि ३ सय जनासम्म युवा रारा पुग्ने गरेका छन्, पर्यटक राराको आनन्द लिएर फेरि फर्किएर आउँछौं भन्नेहरु धेरै छन्’ उनले भने।  

विगतमा सडक नहुँदा रारा पुग्नलाई महंगो हवाई यातायात प्रयोग गर्नुपर्थ्यो, जसका कारण घुम्न आउनेहरु पनि थोरै हुन्थे। सडक सञ्जालले छोए पनि सडक साँघुरो भएका कारणले पर्यटकको संख्या अझै उल्लेख्य बढ्न सकेको छैन।

सडकको स्तरउन्नति भए पर्यटकको संख्या दोब्बर बृद्धि हुने मुगु रारा छायानाथ गाउँपालिका वडा नं. ६ का नरजित ऐडीले बताए। ‘अझै आन्तरिक पर्यटकको संख्या बृद्धि हुने थियो’ उनले भने, ‘सडक साघुरो भएका कारणले ठूला सवारी साधन चल्दैनन्।’

पाँच दिन लगाएर मोटरसाइकलबाट पाल्पादेखि रारा आइपुगेका इन्द्रप्रसाद सापकोटाले सडक साँघुरो भएका कारणले मोटरसाइकल चलाउन अप्ठेरो भए पनि रारा स्वर्ग रहेको बताए। ‘मोटरसाइकलका लागि कर्णाली राजमार्गमा त्यति खतरा छैन’ उनले भने, ‘सडक साघुरो भएका कारणले केही अप्ठयारो लाग्छ।’

कर्णाली राजमार्गको अन्य ठाउँमा त्यति अप्ठेरो नभए पनि नाग्मदेखि ताल्चासम्मको सडक अप्ठेरो रहेको वीरबहादुर क्षेत्री बताए। ‘यो रारा पर्यटकीय स्थलमात्र नभई साहसिक खेलका लागि पनि उपयुक्त स्थान भएकाले पनि आफूहरूको अभियान रारामा मोटर रेस गर्न सकिने सन्देश विश्वमा फैलाउनुपर्छ’ उनले भने, ‘नजिकको तीर्थ हेला भनेजस्तै भएको छ। नेपालीहरू लाखौं रुपैयाँ खर्च गरेर विदेशमा पुग्छन् तर देशभित्रै रहेको यत्रो ताल हेर्न आउँदैनन्।’

राजमार्गका होटलमा ब्यापार बढ्यो

रारा घुम्न आउने आन्तरिक पर्यटकका कारणले कर्णाली राजमार्गका होटलमा ग्राहक बढेका छन्। कर्णाली राजमार्गका मान्म, नाग्म, सेरीज्यूलाका होटलहरुमा दैनिक १ सयदेखि २ जनासम्म बास बस्छन्। होटलहरुमा बास पाउन समेत मुश्किल पर्छ।

साना गाडी र मोटरसाइकल लिएर आएका दैनिक एक सयदेखि दुई सयजना यात्रु आफ्नो होटलमा बास बस्ने कालिकोट मान्मको सनसाइट होटलका प्रबन्धक प्रेमबहादुर शाही बताए। ‘हलुका सवारी साधनमा आउने दैनिक सयदेखि दुई सय जनासम्म मेरो होटलमा बास बस्छन्' उनले भने।  

रारा घुम्न आउनेहरुकै कारण होटलको ब्यापार राम्रो रहेको मान्मका होटेल हिल साइटका सञ्चालक अमरबहादुर शाहीले बताए। ‘पहिलेभन्दा अहिले होटल ब्यवसाय निकै फस्टाएको छ’ उनले भने, ‘यो सिजनमा रारा जाने आन्तरिक पर्यटकहरुको समय भएका कारणले ब्यवसाय बढेको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.