|

कालिकोट : मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयको तथ्याङ्कअनुसार कालिकोटको कुल खेतीयोग्य जमिनमध्ये ९० प्रतिशत अझै सिञ्चाइविहीन छ।
जिल्लाको कुल १७ हजार ९ सय ८४ हेक्टर खेतीयोग्य जमिनमध्ये २ हजार ५ सय ९ हेक्टर जमिनमा मात्र सिञ्चाइ सुविधा पुगेको तथ्याङ्कमा उल्लेख छ। यसरी हेर्दा १५ हजार ४ सय ७५ हेक्टर खेतीयोग्य जमिनमा अझै सिञ्चाइ सुविधा पुगेको छैन।

सिञ्चाइ अभाव भएका ठाउँमा खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको र बाली उत्पादनमा पनि समस्या हुने गरेको क्षेत्रीय सिञ्चाइ निर्देशनालयका लेखा अधिकृत प्रकाश पौडेलले बताए। ‘मध्यपश्चिमका अन्य जिल्लाभन्दा कालिकोटमा सिञ्चाइको समस्याका कारणले थोरै जमिनमा खेती गरिएको पाइएको छ,’ उनले भने, ‘खेतीयोग्य जमिन भए पनि सिञ्चाइको अभावका कारण बाँकी जमिन खेतीविहीन बनेका हुन्।’

कालिकोटमा सिञ्चाइ सव–डिभिजन कार्यालय भर्खर मात्र स्थापना भएको र त्यसले जिल्लामा सिञ्चाइका विभिन्न आयोजना सञ्चालनमा तीव्रता दिएको जिल्ला सिञ्चाइ सव–डिभिजन कार्यालय कालिकोटले जनाएको छ । 

‘सिञ्चाइका समस्याका कारण जिल्लाको धेरैजसो खेतीयोग्य जमिनमा बाली लाग्न सक्दैन,’ जिल्ला कृषि विकास कार्यालय कालिकोटका वरिष्ठ कृषि विकास अधिकृत सुनिलकुमार सिंहले भने, ‘सबै खेतीयोग्य जमिनमा बाली लागेको भए यहाँ खाद्यान्न अभाव हुने थिएन।’

कालिकोटमा खाद्यान्न अभाव हुनुमा सिञ्चाइको समस्या नै प्रमुख रहेको कर्णाली कृषि तथा खाद्य सरोकार समूहका अध्यक्ष कालीबहादुर मल्लले बताए । ‘कर्णाली र विषेश गरेर कालिकोटमा खाद्य असुरक्षित जिल्ला हुनुमा सिञ्चाइको समस्या प्रमुख कारण हो,’ उनले भने, ‘सिञ्चाइको व्यवस्था हुने हो भने कालिकोट कहिल्यै खाद्य असुरक्षित जिल्ला हुँदैन।’

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.