|

डडेल्धुरा :  नेपाली कांग्रेस डडेल्धुरा जिल्ला समितिको बैठकले नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, सांसद नरभान कामीसहित १४ जना नेताहरुलाई कारवाही सिफारिस गरेको छ।

मंगलबार पूर्व जिल्ला सभापति रघुबर भट्ट र वर्तमान सभापति कर्णबहादुर मल्ल समूहले प्रदेश सभाको निर्वाचनका लागि छुट्टाछुट्टै सिफारिस पठाएपछि बुधबार सभापति मल्लले कार्य समितिको बैठक बोलाएर १४ जना नेतालाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिलाई सिफारिस गरेका हुन्।

जिल्ला कार्य समितिको बैठक बहिस्कार गरी सिंहदरबारको शक्तिको आडमा छुट्टै गुटको बैठक बोलाएर नेपाली कांग्रेस जिल्ला समितिलाई कमजोर पार्ने काम गर्ने व्यक्तिहरुलाई कारबाहीका लागी सिफारिस गरिएको पार्टी सभापति मल्लले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराए। रघुबर भट्ट समूहले जिल्ला कार्य समितिविरुद्ध राज्यको शक्ति प्रयोग गरेर नेता तथा कार्यकर्ताहरुलाई विभिन्न प्रलोभन देखाएर कार्य समितिमा आफ्नो बहुमत पुर्‍याउन खोजेको भए पनि त्यसो हुन नसकेको सभापति मल्लको भनाइ छ।

'स्थानीय तहको निर्वाचनमा पनि एकलौटी रुपमा टिकट वितरण गरिएको थियो, उनले भने 'म उम्मेदवारी लिने दिने प्रवृत्तिको विरोधी हुँ।’ प्रदेश सभा तथा प्रतिनिधि सभामा नाम सिफारिस गर्ने अधिकार जिल्ला कार्य समितिलाई भएको बताउँदै सभापति मल्लले पार्टीको विधि र पद्धति मिचेर मनोगत रुपमा नाम सिफारिस गर्नेहरुलाई केन्द्रीय अनुशासन समितिले कारबाही गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित २०६६) को ठाडो उल्लघंन गर्दै नेपाली कांग्रेसको नियमावली २०६८ को परिच्छेद ९ को दफा ४१ को उपदफा २ को क, ख, ग, घ, ङ, च र ज ले गरेको व्यवस्थालाई समेत ठाडो चुनौती दिने काम गरेकाले उक्त व्यक्तिहरुलाई पार्टीको विधान अनुसार हदैसम्मको कारबाही अगाडि बढाउन जिल्ला कार्य समितिले माग गरेको छ। नेपाली कांग्रेस डडेल्धुराका पार्टी सभापति कर्णबहादुर मल्लद्वारा हस्ताक्षरित निर्णयको प्रतिलिपीमा १४ जनाको नाम उल्लेख गरिएको छ।

कारबाहीका लागि सिफारिस गरिएका नेता कार्यकर्ताहरुमा नेपाली कांग्रेस जिल्ला कार्य समिति सचिव लक्ष्मीप्रसाद अवस्थी, कोषाध्यक्ष हरिप्रसाद अवस्थी, नेपाली कांग्रेस पूर्व सभापति रघुवर भट्ट, महासमिति सदस्य गोविन्दराज बोहरा र नेपाल विद्यार्थी सघं केन्द्रीय अध्यक्ष एवं महासमिति सदस्य नैनसिंह महर रहेका छन्। त्यस्तै महाधिवेशन प्रतिनिधि तथा सांसद नरभान कामी, महाधिवेशन प्रतिनिधि भीमबहादुर साउद, कौशिला भट्ट र हरिप्रसाद भट्ट, कांग्रेस जिल्ला कार्य समिति सदस्यहरु हेमराज चटौत, डिल्लीराज जोशी, मानकुमारी थापा र पार्वतीदेवी झुकाल, चन्दी टमटालाई कारबाहीका लागि सिफारिस गरिएको छ।

कारबाहीमा सिफारिस हुने पक्षले बहुमतका आधारमा मंगलबार उम्मेदवारको टुङ्गो लगाएको दावी गरेको छ। तर उनीहरुको बहुमत नभएको पत्रकार सम्मेलनमा पार्टी उपसभापति करुणाकर भट्टले जानकारी दिएका छन्।

प्रदेश र प्रतिनिधि सभा चुनावका लागि नेपाली कांग्रेस डडेल्धुराको संस्थापन पक्षले पार्टी कार्यालय र अर्को बेग्लै समूहले पार्टी कार्यालय भन्दा बाहिर बैठक बसेर प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको नाम सिफारिस गरी केन्द्रमा पठाएका थिए। प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नाम भने दुवै पक्षबाट सिफारिस भएको छ।

हेर्नुस् कारबाहीको निर्णय

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.