|

भीमदत्तनगर : प्रदेश नं ७ बाट राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिममा अग्रज नेताहरु आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार छनोट भएका छन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाका लागि सर्वसम्मत रुपमा उम्मेदवार बकांग्रेस छन्। नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि सर्वसम्मत उम्मेदवार बकांग्रेस छन्। कांग्रेसका प्रदेश नं ७ का प्रभावशाली नेताहरु दिलेन्द्रप्रसाद बडू दार्चुला, नारायणप्रकाश साउद कञ्चनपुर क्षेत्र नं २ र रमेश लेखक कञ्चनपुर क्षेत्र नंं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिशमा परेका छन्।

प्रधानमन्त्री देउवा २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका थिए। उनी २०६४ सालको निर्वाचनमा डडेल्धुरासँगै तत्कालीन कञ्चनपुर क्षेत्र नं ४ र २०७० को निर्वाचनमा कैलाली क्षेत्र नं ६ बाट समेत निर्वाचित भएका थिए। स्थानीय तहको निर्वाचनमा डडेल्धुरा सदरमुकाम रहेको अमगरगढी नगरपालिकामा उनको पार्टी कांग्रेसले पराजय व्यहोरोपछि देउवाको आलोचनासमेत भएको थियो। 

अछाम क्षेत्र १ बाट सर्वसम्मत प्रतिनिधिसभा उम्मेदवार छनोट भएका एमाले उपाध्यक्ष रावल सोही निर्वाचन क्षेत्रमा गत संविधानसभाको निर्वाचनमा निर्वाचित भएका थिए। त्यसैगरी प्रधानमन्त्री पत्नी डा. आरजु देउवा राणा कैलालीको क्षेत्र नंं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्ने सम्भावना छ। नेकपा (माओवादी केन्द्र) का प्रदेश नं ७ का प्रभावशाली नेता लेखराज भट्ट कैलाली क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन्। यसअघिको निर्वाचनमा उनी कैलालीबाटै पराजित भएका थिए।

यसअघि चारवटा निर्वाचन क्षेत्रमा कब्जा जमाएको कांग्रेस कञ्चनपुरले यसपटक पनि निर्वाचित चारवटै सांसदलाई यहाँबाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेको कांग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले जानकारी दिए। क्षेत्र नं २ बाट सिफारिश भएका कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउद यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने कांग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखक हाल क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने प्रवल सम्भावना छ। उनी पनि तत्कालीन क्षेत्र नं ४ (हालको ३) बाट निर्वाचित भएका थिए।

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाबाट प्रतिनिधिसभाका लागि सिफारिश कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभाका लागि जिल्लाबाट उम्मेदवारमा सिफारिश भएका छन्। अघिल्लो निर्वाचनमा बडू एमालेका उम्मेदवारसित पराजित भएका थिए।

त्यसैगरी, प्रतिनिधिसभाकै लागि कांग्रेस डोटीबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर सिफारिस भएका छन्। हाल वाणिज्य राज्यमन्त्री रहेका नरबहादुर चन्दलाई कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारका रुपमा सिफारिश गरेको छ। सुदूरपश्चिमबाट आ–आफ्नो पार्टीबाट सिफारिश भएका शीर्ष नेताहरुमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा र एमाले नेता रावल मात्रै आफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवारका लागि सिफारिश भएका छन् भने बाँकी नेताहरुसँगै अन्य जिल्लास्तरका नेताको नाम पनि अधिकांश पार्टीले केन्द्रमा सिफारिश गरेका छन्। 

बझाङ, बाजुरा लगायतका पहाडी जिल्लाबाट पनि उम्मेदवार सिफारिश हुने क्रम जारी छ। कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका पार्टी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोट गर्न मै व्यस्त छन्। हालसम्मको सिफारिश विवरणमा राष्ट्रिय राजनीतिमा सक्रिय यहाँका नेताहरुको सिफारिश सबै पार्टीले प्रतिनिधिसभाकै लागि गरेको देखिएको छ। प्रदेश नं ७ सुदूरपश्चिममा हाल १६ वटा निर्वाचन क्षेत्र निर्धारण गरिएका छन्। सबैभन्दा बढी कैलालीमा पाँच, कञ्चनपुरमा तीन, अछाममा दुई र डोटी, बाजुरा, बझाङ, बैतडी, दार्चुला र डडेल्धुरामा एक/एक क्षेत्र निर्धारण गरिएका छन्। 

यसअघि २१ वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा कांग्रेस र एमालेको नतिजा अग्रस्थानमा थियो। माओवादीले प्रत्यक्षतर्फ २०७० सालको निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्न सकेको थिएन। केही दिन अघिसम्म प्रदेश नं ७ मा आगामी निर्वाचनमा प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको भए पनि परिवर्तित राजनीतिक परिवेशले माहोल मोडिएको छ। प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यहाँ १४ लाख मतदाताले मतदान गर्नेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.