|

काठमाडौँः नेपाली साहित्यको इतिहास खोतल्दै जाँदा नेपाली साहित्यको प्राथमिक चरणदेखि नै नारी सहभागिता रहेको पाइन्छ। तर पुरुष स्रष्टाका तुलनामा नारी स्रष्टाहरू संख्यात्मक रूपमा कम क्रियाशील देखिन्छन्। तथापि, नेपाली साहित्यमा नारी सृजना उत्तिकै सशक्त र उल्लेखनीय रहेका पाइन्छ। 

बेलाबेलामा नारी स्रष्टासम्बन्धी एकाध गोष्ठी र सेमिनारहरू आयोजना हुने गर्दछन्। तर समग्र नारी साहित्यकार र तिनको सृजनाको अवस्था केकस्तो रहेको छ? भन्ने विषयमा भने त्यस्तो उल्लेखनीय कार्य भएको पाइँदैन। यसै सन्दर्भमा भरखरै नेपाल प्रज्ञा–प्रतिष्ठानले  ‘नेपालका नारी साहित्यकार’ नामक परिचय–कोश प्रकाशन गरेको छ।

प्रतिष्ठानको निबन्ध तथा समालोचना विभागको परियोजनाअन्तर्गत प्रा.डा. कुमार कोइराला र रत्नमणि नेपालद्वारा सम्पादित परिचय–कोशमा अंगुरबाबा जोेशीदेखि ज्ञानु पाण्डेसम्मका ३७१ जना नारी साहित्यकारहरूको संक्षिप्त परिचय समेटिएको छ। पुस्तकमा स्रष्टाका वैयक्तिक विवरणहरू वर्णाणुक्रमअनुसार राखिएका छन्। 

जम्मा ५२० पृष्ठको कोशमा प्रतिष्ठानका कुलपति, उपकुलपति र विभागीय प्रमुखको मन्तव्यका साथै सम्पाकद्वयको सम्पादकीय भूमिका समावेश गरिएको छ। पुस्तकमा नारी साहित्यकारका साहित्यसम्बन्धी धारणाहरूसमेत अटाइएको छ। 

‘नेपालभित्र बोलिने र लेखिने विविध राष्ट्रिय भाषाका नारी साहित्यकारहरूलाई एउटै मालामा समेट्ने प्रयास गरिएको’ र ‘नेपालका नारी साहित्यकारहरूको साहित्यपरक अवस्था चित्रित गर्नुका साथै उनीहरूको समाजशास्त्रीय विश्लेषण गर्नु’ कोशको उद्देश्य रहेको सम्पाकद्वयले बताएका छन्।

प्रज्ञा–प्रतिष्ठानबाट ‘नेपाली महिला साहित्यकार’, ‘नेपालका महिला कथाकारहरू’, ‘नेपालका महिला कथाकारहरू भाग–१ र २’, ‘नेपाली डायास्पोरका नारी कथाकार र कथा’, ‘नेपाली कवितामा महिलालेखन’, ‘नेपाली नारीवादी  समालोचना’ र ‘प्रज्ञा समकालीन नेपाली नारी कविता’ जस्ता कृतिहरू प्रकाशन गरिसकेका छन्।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.