|

  • नवराज पराजुली

काठमाडौं :

तपाईंहरू सबैलाई

हिमालौँ लिटर

पहाडौँ पाथी

र, तराईयौँ केजी नमस्कार!

'पद्मश्री साहित्य पुरस्कार' मैले पाएको हैन, मैले कविता सुनाइरहेका युट्युबका भिडियोहरूले पनि पाएका हैनन्, 'सगरमाथाको गहिराई' नाम गरेको कविताको पुस्तकले पाएको हो।

उती नै अंश भएता पनि एउटा सन्तान बाबुको भन्दा बढी उसकी आमाको हो। 'सगरमाथाको गहिराई' मेरोभन्दा बढी उसकी आमाको हो, उसकी आमालाई बधाई छ। यो छोरी र उसकी आमा दुवैलाई बधाई छ!

जन्मिँदा हाम्री छोरी दुई सय तीस ग्रामकी जन्मेकी थिई। छोरीलाई पहिलोपल्ट हातमा लिएको बेला उसकी आमाका आँखाबाट हिमालौँ लिटर आनन्द बगेको थियो। त्यो पल गाजलले पहिलो पल्ट थाहा पाएको थियो- अरुमा डुबेर बग्नुमा कति मज्जा आउँछ! त्यसैले मैले बुझेको आनन्दको रङ गाजलसँग मिसिदै गरेको तर मिसिइनसकेको कलिलो आँशुको जस्तो हुन्छ।

जन्मिदाँ हाम्री छोरी उसकी आमाका हत्केलामा अटाउनेगरी सानी जन्मेकी थिई। छोरीलाई पहिलोपल्ट हातमा लिएको बेला उसकी आमाका ओठमा पहाडौँ पाथी खुसी हाँसेको थियो। त्यो पल ओठले पहिलो पल्ट थाहा पाएको थियो- प्रेमको पहिलो स्पर्शको स्वाद कस्तो हुन्छ! उसकी आमा ओठमा कुनै रङको लिपिस्टिक लगाउँदिनँ, त्यसैले मैले बुझेको खुसीको रङ लिपिस्टिक नलाएको त्यो ओठको कस्तो हुन्छ, जसलाई प्रेमको पहिलो स्पर्शको स्वाद थाहा छ।

जन्मिँदा हाम्री छोरी छत्तीस वटा मुटु लिएर जन्मेकी थिई। छोरीलाई पहिलोपल्ट हातमा लिएको बेला उसकी आमाका दुई सय छ वटै हड्डीहरुलाई तराईयौँ केजी तातोले छोएको थियो। त्यो पल हड्डीहरुले पहिलोपल्ट थाहा पाएका थिए- आफैँ थर्मोमिटर बनेर मायाको ज्वारो नाप्नु कस्तो हुन्छ! त्यसैले मैले बुझेको मायाको रङ चिसोले दुखेर रोइरहेका छातीका अनिदा हड्डीहरुलाई मायाको ज्वरो आएका हत्केलाहरुको तातो स्पर्शजस्तो हुन्छ।

यसरी जन्मेकी हाम्री छोरी एउटा यात्रामा निस्की। धेरै मान्छेले उसालई देखे, धेरै तरिकाले देखे। कसैलाई उसको कपाल हल्लिदाँ देखिने ढाँचा मन पर्‍यो। कसैलाई उसका खुट्टाको चालमा रहेको संगीत मन पर्‍यो। कसैलाई उसको पहिरनमा लुकेको डिजाइन मन पर्‍यो, त्यहाँका बुट्टाहरु मन परे। कसैलाई ऊ बोलेको मन पर्‍यो, कसैलाई चुप बसेको। कसैलाई ऊ रिसाएको मन पर्‍यो, कसैलाई ऊ लजाएको। कुन्नि किन हो धेरैलाई ऊ रोएको मन पर्‍यो, सायद उनीहरु पनि ऊजस्तै कुनै दिन रोएका थिए होलान्। उनीहरुलाई लाग्यो होला कि रुने म एक्लो हैन रहेछु, मसँगै रुने मजस्तै मेरा साथी पनि रहेछन्। हामी सबैले खोजेको आफू भेटिने अर्को एउटा साथी त हो नि!

कसै-कसैलाई उसको नाक मन परेन। हामीले त्यो स्वीकार गर्‍यौ। तर, छोरीलाई भन्यौँ, "छोरी, हावा एक्लो भएछ भने पनि ऊभित्र भएको प्रेम सुँघिरहनू। तिमी एक्लोको साथी हुनू!"

कसैकसैलाई उसका आँखा मन परेनन् । हामीले त्यो पनि स्वीकार गर्यौँ। तर छोरीलाई भन्यौँ, "छोरी, एक्लै पर्खिरहेको छ भने पनि त्यो दृश्य हेरिरहनू। तिमी एक्लोको साथी हुनू।"

कसैकसैलाई उसका केही पनि मन परेनन्। हामीले त्यो पनि स्वीकार गर्‍यौँ। तर छोरीलाई भन्यौँ, "छोरी, सबैलाई तिमी मन नपर्ला। सबैले सबैलाई मन पराउन सम्भव नै छैन, आवश्यक पनि छैन। तिमीलाई कुनै एक जनाले त पक्कै मन पराउनेछ। अझ उसले तिमीलाई त्यसरी मन पराउनेछ कि यसरी अरु कसैलाई मन पराउन सकिन्छ भन्ने कुरा पहिले कसैलाई थाहा थिएन। यसरी आफूलाई मन पराउने मान्छे चाहिएको हो सबैलाई। त्यही एउटा मान्छे! उसले तिमीलाई मन पराउनेछ, जसरी तिम्रा बाआमाले एक–अर्कालाई मन पराए, तिमीलाई उसले मन पराउने गरी, अति तिमी जन्मियौ।"

पद्मश्रीलाई ‘सगरमाथाको गहिराइ’ मन परेछ।

मैले मेरी छोरीलाई सोधेँ, "तिमीलाई यो प्रेम–प्रस्ताव कस्तो लाग्यो?’ छोरीले उसकी आमातिर हेरी। मैले पनि उसकी आमातिर हेरेँ। हामीले छोरीको बोली बुझ्यौँ र सधैँझैँ हामी दुबैले एकैचोटि भन्यौँ :

"खेमकला हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानलाई

हिमालौँ लिटर

पहाडौँ पाथी

र, तराईयौँ केजी धन्यवाद!’

हरि ॐ तद्सत!

पढ्नुस् : कविताको तरंगमा बहँदै नवराज


(खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानबाट आयोजित  ‘द्मश्री साधना सम्मान तथा साहित्य पुरस्कार वितरण समारोह'मा पुरस्कृत कवि नवराज पराजुलीले प्रस्तुत गरेको मन्तव्य।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.