|
photo: goal.com

काठमाडौं : निकै नै महत्वपूर्ण खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएपछि साविकको उपविजेता अर्जेन्टिना विश्वकपमा छनोट हुने सम्भावना निकै कम बनेको छ। अब एक खेल मात्र खेल्न बाँकी रहँदा अर्जेन्टिना अंकतालिकाको छैटौं स्थानमा झरेको छ।

यदि यही स्थान वा यसभन्दा तल रहने हो भने अर्जेन्टिनाको विश्वकप यात्रा यहीँ टुंगिने छ। १० टोली सहभागी दक्षिण अमेरिकी छनोटमा शीर्ष ४ भित्र रहने टोली विश्वकपका लागि सिधै छानिने छ। पाँचौं स्थानमा रहनेले प्लेअफ खेल्दै छनोट हुने मौका पाउने छ।

कस्तो अवस्थामा छनोट हुन्छ अर्जेन्टिना?

अंक तालिका हेर्दा ब्राजिल विश्वकपमा छनोट भइसकेको छ। इक्वेडर, बोलिभिया र भेनेजुएला बाहिरिसकेका छन्। दोस्रो स्थानमा रहेको उरुग्वेको २८ अंक र गोल अन्तर १० रहेकाले उसको सहभागिता पनि लगभग पक्का छ।

अब चिली, कोलम्बिया, पेरु, अर्जेन्टिना र पराग्वेले सिधै छनोट हुने दुई र प्लेअफ खेल्ने एक मौकाका लागि प्रतिस्पर्धा गर्नेछन्। चिलीले ब्राजिल, अर्जेन्टिनाले इक्वेवडर, पेरुले कोलम्बिया, उरुग्वेले बोलिभिया र पराग्वेले भेनेजुएलासँग खेल्न बाँकी छ।

अब हेरौं, अर्जेन्टिनाले इक्वेडरलाई जितेर २८ अंक जोड्दाको समीकरण के हुन्छ?

अर्जेन्टिनाले बाँकी १ खेल जित्ने हो भने अंक तालिकामा कम्तिमा पाचौं स्थानमा रहँदै विश्वकप छनोटका लागि प्लेअफ खेल्ने मौका पाउने पक्का छ। अझै चौंथो स्थानमा रहँदै सिधै छानिने सम्भावना पनि रहन्छ। तर, सिधै छनोट हुन बाँकी खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्छ।

मानौं चिलीले ब्राजिललाई जित्यो, यस्तो अवस्थामा २९ अंकसहित उसको विश्वकप सहभागिता पक्का हुनेछ, हारेमा त बाँकी १ खेल जितेको अर्जेन्टिनाभन्दा ऊ स्वत: पछाडि हुनेछ।

अब कुरा गरौं पेरु र कोलम्बियाको। यी दुई टोलीले एकआपसमा खेल्दैछन्। दुवै टिमले ३/३ अंक बटुल्न सम्भव छैन। एउटाले जित्दा हार्ने टिम बाँकी १ खेल जितेको अर्जेन्टिनाभन्दा स्वत: पछि पर्नेछ। यस्तो अवस्थामा आफूभन्दा अघि रहेका ५ मध्ये १ टिमलाई पछि पार्न अर्जेन्टिना सफल हुनेछ। जसले प्लेअफमा स्थान सुरक्षित हुन्छ। अझ कोलम्बिया र पेरुबीच बराबरीको नतिजाले त दुवै टोलीभन्दा अर्जेन्टिना अघि जानेछ।

सारमा भन्ने हो भने, पेरुले कोलम्बियासँग हार्दा र आफूले इक्वेडरलाई जित्दा अर्जेन्टिनाको प्लेअफमा स्थान सुरक्षित हुनेछ। बाँकी खेलको नतिजा हेर्नै पर्दैन। पेरुले जितेर कोलम्बियाले हार्दा र चिलीले ब्राजिलसँग हार्दा थप ३ अंकले अर्जेन्टिनालाई सिधै विश्वकपमा पुर्‍याउने छ।

बाँकी रह्यो पराग्वे, अर्जेन्टिनाभन्दा पछि रहेको पराग्वेको विश्वकप सम्भावना अझै टरिसकेको छैन। २४ अंक जोडेको उसले अंक तालिकाको पुछारमा रहेको भेनेजुएलासँग खेल्न बाँकी छ। यो जितले उसको कुल अंक २७ पुग्नेछ। यस्तो अवस्थामा इक्वेडरलाई जित्यो भने अर्जेन्टिना २८ अंकसहित अगाडि नै हुनेछ। यस हिसाबले अबको खेल जित्दा अर्जेन्टिनाले कम्तिमा पनि प्लेअफ खेल्ने पक्का छ।

बाँकी खेलमा पनि बराबरीले सम्भावना रहन्छ?

बाँकी खेलमा १ अंक जोडेर अर्जेन्टिना विश्वकपमा सिधै विश्वकपमा छानिने सम्भावना नै छैन। अब हेरौं प्लेअफ। यस्तो अवस्थामा अर्जेन्टिनाले प्लेअफ खेल्न बाँकी खेलको नतिजामा भर पर्नुपर्छ। अर्जेन्टिना प्लेअफमा छानिनका लागि पेरुले कोलम्बियासँग हार्नुपर्‍यो र पराग्वेले भेनेजुएलालाई जित्नु भएन। यो दुवै नतिजा भनेअनुसार नै अाएमा बराबरी पनि अर्जेन्टिनालाई प्लेअफ खेल्न पर्याप्त हुनेछ।

इक्वेडरसँग हारेमा पनि प्लेअफ खेल्ने झिनो तथा नगन्य आशा बाँकी राख्न अर्जेन्टिनाभन्दा पेरुले ठूलो अन्तरले हार्नुपर्छ र पराग्वेले जित्नु हुँदैन।

छनोट चरणको अन्तिम खेल नेपाली समयअनुसार आगामी बुधबार बिहान हुनेछ। यही दिन हुनेछ, अर्जेन्टिना, चिली, कोलम्बिया, पेरु र पराग्वेको भाग्य र भविष्यको फैसला।

प्लेअफ कोसँग?

प्लेअफका लागि छानिने दक्षिण अमेरिकी टोलीको प्रतिद्वन्द्वी न्युजिल्याण्ड हो। प्रतिद्वन्द्वी तुलनात्मकरुपमा कमजोर रहेकाले पाचौं स्थानमा रहँदा पनि विश्वकपमा छानिने सम्भावना निकै प्रवल हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.