|

लहान : सप्तरीको दक्षिणपूर्वी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुरामा पछिल्लो एक हप्तादेखि झाडापखालाको प्रकोप फैलिएको छ। झाडापखालाको प्रकोपको कारण गाउँमा एक दर्जनभन्दा बढी बिरामी परेका छन्।

पछिल्लो साउनको तेस्रो हप्ता स्थानीय खाँडो नदीमा आएको बाढीले प्रभावित गाउँ सकरपुरामा पानीजन्य र खानेकुराको कारणले झाडापखालाको प्रकोप फैलिएको स्वास्थ्यकर्मीहरु बताउँछन्। बाढीग्रस्त सकरपुरा गाउँमा नजिकै रहेको खाडो नदीमा मारेको माछा र घोंगी राम्ररी नपकाई खाएकाले झाडापखाला फैलिएको गाउँलेहरु बताउँछन्।

 झाडापखालाको प्रकोपसँगै गम्भीर रुपले बिरामी परेका तिलाठी कोइलाडी ३ सकरपुराका मनोज मण्डल र उनकी श्रीमती गीतादेवी मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ। मिर्गौला र पेटसम्बन्धी बिरामी पनि भएकाले झाडापखालाले मण्डलद्वयको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

गाउँका अन्य बिरामीको स्थानीय स्वास्थ्य चौकी र जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले अस्थायी स्वास्थ्य शिविर सञ्चालन गरी उपचार भइरहेको जनस्वास्थ्य प्रमुख बस्नेतले बताए। उनका अनुसार गाउँमा फैलिएको झाडापखाला नियन्त्रणमा आइसकेको छ। झाडापखालाले बिरामी परेका केहीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको जनस्वास्थ्य प्रमुख बस्नेतले बताए।

इपिडिमियोलोजीको टोली गाउँ जाँदै

सकरपुरामा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रणको अवस्थामा रहेको भए पनि जाँचपडतालका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको र्‍यापिड डाइग्नोस्टिक टेस्टको टोली शुक्रबार बिहान गाउँ जाने तयारीमा रहेको जनस्वास्थ्य प्रमुख बस्नेतले उल्लेख गरे।

 ‘बाढीग्रस्त गाउँ भएकाले स्वच्छ खानेपानीको अभाव, फोहोर व्यवस्थापन र र व्यवस्थित शौचालय नहुँदा झाडापखाला फैलिएको आशंका गरिएको छ’ उनले भने ‘हैजा हो कि भन्ने आशंकामा महाशाखाको टोलीले थप अनसन्धान गर्नेछ।’

टोली फर्किएपछि शुक्रबार दिउँसो जिल्लाको र्‍यापिड रेस्पोन्स टिमको बैठक बसेर दूषित पानी र खानेकुराको कारणले हुन सक्ने महामारी र प्रकोपको दीर्घकालीन समाधानका लागि योजना बनाइने जनाइएको छ। पछिल्लो वर्ष सप्तरीको कोइलाडीमा पनि वर्षातको समयमा हैजा फैलिएकाले पटकपटक दोहोरिने गरेको समस्या समाधानका लागि बैठक केन्द्रित हुने जनस्वास्थ्य प्रमुख बस्नेतले बताए। 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.