बागलुङ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) बागलुङले सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ।
पार्टी जिल्ला कमिटीको बैठकले प्रनिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो।
क्षेत्र नं १ सहित प्रदेश (क) र (ख) मा पार्टी अध्यक्ष इन्द्रलाल सापकोटा, पूर्व अध्यक्ष श्रीप्रसाद शर्मा, हीराबहादुर केसी र सूर्य पाठकलाई सिफारिस गरिएको छ। कुन उम्मेदवारलाई कुन सभामा पठाउने भन्ने निर्णय जिल्लामा हुन नसकेपछि केन्द्रले नै उम्मेदवार टुंग््याउने गरी पठाइएको पार्टी सचिव लालबहादुर थापाले बताए।
यसैगरी निर्वाचन क्षेत्र नं–२ मा प्रतिनिधिसभा सदस्यका लागि मोहनलाल शर्मालाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने निर्णय भएको छ। २ नं क्षेत्र अन्तर्गत पर्ने प्रदेश (क) मा पनि सर्वसम्मत हुन नसकेपछि आकंक्षी चार जनाको नाम केन्द्रमा सिफारिस गरिएको सचिव थापाले जानकारी दिए। सफारिस हुनेमा प्रेम खरेल, यामबहादुर श्रीस, तीर्थमणि भुसाल र रत्ना भण्डारी रहेको छ।
त्यस्तै प्रदेश (ख) बाट बडिराम अर्याल शर्मालाई सर्वसम्मत उम्मेदवार बनाउने जिल्ला कमिटिको बैठकले निर्णय गरी केन्द्रमा पठाएको छ।
प्रत्यक्षतर्फ सिफारिस भए पनि समानुपातिकतर्फ बैठकले कुनै निर्णय लिन नसकेपछि त्यसको छनोटका लागि कमिटी बनाइएको एमाले बागलुङले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।