आगजनी गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा

|

बैतडी : बैतडीको शिवनाथ गाँउपालिका-६ कनालीका करन चन्दकी १५ वर्षीय छोरी पूजा चन्दले आफूलाई बेच्न खोजेको आरोपमा छिमेकीको घर जलाएकी छन्।  छिमेकी करन रानाको घर आफूले जलाएको किशोरीले बताएकी छन्।

जिल्लाको पाटन नगरपालिकाका पवन लुहारले बिहे गर्ने भनेर भगाएको तर बिहे नगरी भारततिर लान खोजेको उनको आरोप छ। त्यसमा करन राना र उनकी श्रीमती राजु रानाको प्रत्यक्ष संलग्नता रहेको भन्दै बालिकाले उनको घर जलाएको दाबी गरेकी छन्।

५ असोज शनिबार राति रानाको एक तले पक्की घरमा आगजनी भएको थियो। बालिकाले आपूmलाई बेच्न खोज्नेहरुलाई प्रहरीले कारबाही नगरेको र आफ्नो बदनाम गरेको भन्दै रानाको घर जलाएको उनका बाबु करन चन्दले बताए। ‘आफू घरमा नभएको दिन छोरीले रिसको झोकमा उसको(करन राना) घरमा आगजनी गरेकी हो।’ उनले भने।

आफ्नो छोरीलाई बेचविखन गर्न भारत लैजान खोज्नेहरुलाई प्रहरीले पक्राउ नगरेको भन्दै चन्दले मुद्दासमेत दर्ता नगरिदिएको गुनासो गरे। प्रहरीमा राना दम्पती र लुहारविरुद्ध मुद्दा दर्ता गर्न खोजको तर प्रहरीले मुद्दा दर्ता नगरिदिएको पीडित बालिकाका बाबु चन्दले बताए। बिहे गर्छु भनेर उनकी छोरी पूजालाई एक महिनासम्म आफैंसँग राखेका लुहार अहिले  सम्पर्कविहीन छन्। 

आगजनी गरेको आरोपमा ६ जनाविरुद्ध मुद्दा

यता, घरमा आगो लगाएको आरोपमा करन रानाले भने गाउँका  ६ जनाविरुद्ध मुद्दा दर्ता गरेका छन्। गाउँमा आए मारिदिने धम्की दिएपछि विगत ६ महिनादेखि सदरमुकाममा बस्दै आएका रानाको घरमा ५ असोजमा आगजनी गरेको आरोपमा स्थानीय राजबहादुर चन्दसहति ६ जनाविरुद्ध ‘आगो लगाउने’ शीर्षकमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको हो।

तीन वर्षअघि बनाएको एक तलाको २ कोठे भवन जलेर पूर्णरुपमा नष्ट भएको र घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको भन्दै ३० लाख ५३ हजार बिगोसमेत माग गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका मुद्दाफाँटमा कार्यरत प्रहरी सहायक निरीक्षक करन धामीले बताए। ‘प्रहरी घटनास्थल पुग्दा घर जलेर पूर्णरुपमा नष्ट भएको देखियो,’ उनले भने, ‘पीडित पक्षले पनि किटानी जाहेरीमा ३० लाख ५३ हजार बिगो माग गरेको छ।’

आरोपी राजबहादुर चन्दसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ। घटनाबारे सूक्ष्म अनुसन्धानका लागि प्रहरी घटनास्थलसमेत पुगिसकेको र आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गरिने प्रहरी प्रमुख हेरम्ब शर्माले बताए। ‘निकै जघन्य अपराध भएकोले सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही हुन्छ।’ उनले भने।

शिवनाथ गाउँपालिका वडा नम्बर ६ का राजबहादुर चन्दसँगै, गोकर्ण चन्द, रमेशबहादुर चन्द, जनकबहादुर चन्द, चक्रबहादुर चन्द र दीपक बहादुर चन्दविरुद्ध मुद्दा परेको छ। गाउँबाट विस्थापित गराउनेदेखि घरमा आगजनी गर्ने घटनामा ६ जनाको संलग्नता रहेको आरोप पीडित राना दम्पतीको छ।

तर, स्थानीयहरुले भने पीडित बालिका पूजा चन्दले नै राना दम्पतीलाई कारबाही नगरेको भन्दै आक्रोशित भएर  घर जलाएको बताएका छन्। ‘पूजाले म आफैंले घर जलाएकी हुँ भनेर प्रहरीलाई समेत भनिसकेको अवस्थामा  हुँदाहुँदै पूर्वाग्रही बनेर गाउँलेलाई आरोप लगाइएको हो,’ स्थानीय अशोक चन्दले भने, ‘शिक्षकहरु र गाउँका इमानदार मान्छेलाई व्यक्तिगत रिसिबीकै कारण मुद्दा लगाइएको छ।’घटना गम्भीर प्रकारको रहेको र अनुसन्धान जारी रहेकाले अहिले नै केही भन्न सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.