|

  • पेमा लामा-

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको धुलिखेल-सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उल्लंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही थालेकोे छ।

शुक्रबार विभागको नायब सुब्बा केशवराज कटेलको नेतृत्वमा खटिएको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा उक्त राजमार्ग भएर चल्ने अधिकांश सवारी साधनहरुले यात्रुहरुसँग तोकिएको दरभन्दा बढी भाडा असुल्ने, रुट परमिट नै नभएका गाडीहरु चलाउने र १८ सिट क्षमता र १० टनभन्दा बढीको सवारीसाधन चलाउन नपाइने व्यवस्थालाई उल्लंघन गरी ठूला यात्रुबाहक बसहरु चलेको पाइएको जनाएको छ।

‘बिपी राजमार्गमा १८ सिट क्षमताका साना गाडी त्यसमा पनि १० टनभन्दा बढीको सवारीसाधन चलाउन नपाइने व्यवस्था छ तर, त्यो व्यवस्थाको उल्लंघन गरी सवारीसाधन चलाएको पाइयो’ कटेलले भने, ‘बढी क्षमताको गाडी चलाउनुका साथै यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा असुलेको, टिकटमा लिएको रकम नै उल्लेख नगरिएको र रुट परमिट नै नभएको ठाउँमा पनि गाडी चलाएको पाइयो।’

त्यसरी नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई कारबाही गरी आवश्यक कागजातसमेत नियन्त्रणमा लिएको उनले बताए। उनका अनुसार यातायात व्यवस्था विभागले दसैंलाई लक्षित गरी पूmलपातीदेखि कोजाग्रत पूर्णिमा सम्मको लागि बिपी राजमार्गबाहेक अन्य राजमार्गको लागि विनारुट परमिटले पनि चलाउन पाउने व्यवस्था गरिएकोमा बिपी राजमार्गमा नै त्यसखालको नियम उल्लंघन गरी सवारीसाधन चलाएको पाइएको हो।

अनुगमनको क्रममा टोलीले मालबाहक गाडीमा मान्छे ओसारेका सवारीसाधनलाई समेत कारबाही गरेको उनले बताए। कटेलका अनुसार सो राजमार्ग भएर चल्ने अधिकांश सवारीसाधनहरुले प्रतियात्रु ७५ रुपैयाँदेखि ५ सय रुपैयाँसम्म बढी भाडा असुलेको पाइएको छ।

यात्रुहरुले समेत आपूmहरुलाई भाडामा ठग्ने गरेको गुनासो गरेका छन्। भक्तपुरको ठिमीदेखि लाहानसम्म ९ सय रुपैयाँ भाडा लाग्ने ठाउँमा आपूmसँग १ हजार रुपैयाँ भाडा लिएको यात्रु पार्वती सिंहले बताइन्। ‘किन बढी लिएको भनेर सोध्दा लाग्ने भाडा नै यति हो भनेर टिकट काट्न लगायो’ सिंहले भनिन्। उनले आफूजस्तै अरू सँगैको यात्रुहरुलाई समेत त्यसरी नै लिएको बताइन्।

बढी भाडा लिएको विषयमा अधिकांश सवारी चालकहरुले भने आफूहरुले भन्दा पनि काउन्टरबाट नै त्यसरी बढी भाडा लिएर टिकट कटाउने गरेको बताए। मेचिनगर ट्याक्सी व्यवसायी संघद्वारा सञ्चालित सुमो मे१ज२११३ नम्बरको चालक सुरेश कार्कीले भने ‘यस्तो गल्ती हामीले गरेका होइनौं, काउन्टरको नै गल्ती देखिन्छ।’ उनले काउन्टरबाट नै त्यसरी बढी रकम लिएर यात्रुहरुसँग रकम असुलेको र रकम नै उल्लेख नगरी टिकट कटाएको बताए।

सो राजमार्ग भएर पूर्वको १५ जिल्लासँगै तराईका ७ वटा जिल्लालाई राजधानीसँग जोड्न नजिकको मार्गका रुपमा विकसित भएको बिपी राजमार्गमा दसैँ आएसँगै सवारी चाप एकाएक वृद्धि भएको छ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.