|

डडेल्धुरा : खानेपानीका मूल सुक्दै गएपछि डडेल्धुराको अजयमेरु गाउँपालिका ३ भुल्कुडा लगायतका बस्तीमा खानेपानीको अभाव हुन थालेको छ। जलवायु परिवर्तन, वनजंगल फडानी, लगायतका कारणले यहाँका पानीका मूल सुक्दै गएको छ।

खानेपानीको अभाव हुन थालेपछि यहाँका बस्तीहरु काकाकुलतर्फ उन्मुख हुँदै गएका छन्। धारामा पानी आउन छाडेपछि २ घण्टाको दूरीमा हिँडेर पानी बोक्नुपरेको भुल्कुडा गुवाडीका स्थानीय राजेन्द्र बहादुर पाण्डेयले बताएका छन्। पहिलेभन्दा आजभोलि धारोमा पानी कम आउने गरेको उनले बताए।

भुलकुडामा पानीका मूल कम हुनु, जनसंख्या बढ्दै जानुले पानीको अभाव सिर्जना भएको भरतपुर माविका प्रधानाध्यापक रामदत्त भट्टले बताएका छन्। विद्यालयमा समेत खानेपानीको अभाव हुन थालेको उनको भनाइ छ। भएका पानीका मूल सुक्दै गएपछि भरतपुर माविमा विद्यार्थीहरुलाई शौचालय जानसमेत जान समस्या भएको प्रअ भट्टले बताए।

हिँउदका दिनमा जसोतसो काम चल्छ, गर्मीयाममा पानीको धेरै सामस्या हुने गरेको उनले बताएका छन्। तामायनीमा रहेको धारखोला एक मात्रै मूलबाट विद्यालय, भुल्कुडाका ६० घरधुरीले पानी पिउँदै आएका छन्।

पछिल्ला केही वर्षयता यो मूलमा पानी कम हुँदै आएको छ। खानेपानी अभावले स्थानीयलाई मात्रै होइन वस्तुभाउलाई समेत समस्या भएको छ। पानी कम हुँदा पशुपालनमा समस्या भएको भुल्कुडाका स्थानीय नरेन्द्र पाण्डेयले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.