|

इमान, जमान, नैतिकता र इमान्दारीलाई पोलपाल पारेपछि एक किसिमले व्यक्तिको अस्तित्व सकिएसरह हुन्छ। यसले सामान्यतया उसलाई मात्र पिरोल्छ। यता, राजनीतिमा यी कुरा खडेरी परेपछि यसको प्रहार सिंगो मुलुक र मुलुकवासीले थाप्लोमा बज्रन्छ। व्यक्तिगत र दलीय स्वार्थमा जालोमा जेलिएको नेपाली राजनीति कतिखेर कतातिर लहसिन्छ, अनुमान गर्न त्यति सहज छैन। 

के थियो पहिले, के सोचेँ मैले, के भयो अहिले! एमालेसँग लहसिएको माओवादीलाई आफ्नो सामीप्यमा ल्याई आलोपालोमा चलेको वर्तमान सरकारको दानापानी चलिरहेको थियो। आगामी निर्वाचनमा पनि तालमेल गरौँला। एमाले नामधारीलाई काँटछाँट गरौँला, किनारामा धकेलौँला। मिलिजुली, बाँडीचुँडी हसुरौँला! ऊ हामीलाई हेर्दे मुख मात्र मिठ्याओस्। 

विशेषतः नेपाली कांग्रेसले कोरलेका भविष्यका चल्ला, कल्पना, चाहना, इच्छा यस्तै थिए। अकस्मात कवाफमा हड्डी आइलाग्यो अर्थात माओवादी केन्द्रलाई एमालेले फकाईफुल्याई लग्यो। भविष्यका लागि सजाइएका अपेक्षा र चाहनाविपरीत चुनावी तालमेल र पार्टी एकीकरणसम्मको हिसाब–किताबले उसको लागि उडायो सपना सबै हुरीले जस्तै भइदियो। भलै वाम तालमेल र एकीकरणको विषयभित्र केही गम्भीर सैद्धान्तिक प्रश्नहरू पनि छन्। त्यसको छिनोफानो भोलिका दिनमा होला नै। देब्रेवाला गठबन्धनको सेखी झार्न अहिले मिल्ने÷नमिल्ने सबैथरी दाहिने गठबन्धनको खेतीमा लागेका देखिन्छन्। 

विडम्बना, अहिले जिम्मेवार कतिपय नेताहरूबाट यस गठबन्धनको कारण लोकतन्त्र, गणतन्त्र, संघीयता, संविधान कार्यान्वयन जस्ता विषय लठिभद्र हुने, अलपत्र पर्ने, मुलुकलाई अधिनायकवादको खाडलमा धकेल्नेछ जस्ता गीत गाइरहिएका छन्। के गठबन्धनले यी सबै कुराहरू मास्छ? जसलाई उपलब्धि भनिएको छ (भलै फल नपाइञ्जेल यी उपलब्धि हुन् वा होइनन्? सवाल बाँकी नै रहनेछन्।)। 

१२ बुँदे दिल्ली सम्झौताले दिएको पीडाले कहिलेसम्म मुलुकलाई पिरोल्ने हो? यकिन छैन तर असर लामै समयसम्म देखिने संभावनालाई नजरअन्दाज गर्न सकिन्न। पद्धति, प्रणाली कसरी बस्छ वा बसेको प्रणाली कसरी नासिन्छ? के माथि उल्लेखित तर्कले भनेजस्तै गरी स्वाहा हुने हुन्? यति सामान्य प्रश्नलाई नेतृत्वको स्खलनले जटिल बनाइदिएको छ। किन? अहिले पनि हामी राणाले तर्साउन नसकेको पार्टी, पञ्चायत, राजालगायत सबै भिड्दा पनि नहल्लिएको दल, नाथे यो लुरे गठबन्धनले के फरक पार्छ? दाहिनेवाला आफ्नो लाजगाल छोप्न खोज्छ। देब्रेवाला पनि यी र यस्तै तर्कमा बाँचेको छ। रोदन, क्रन्दन, चिच्याहट, विलौना यिनै प्रश्नभित्र छ।

अराजकता, अस्थिरताभित्र कति समय स्थिरता फल्छ? लोकतान्त्रिक सिद्धान्त र विचार, पद्धति र परिपाटी त्यतिखेर फस्टाउँछ, जतिखेर त्यसअनुकूल नेतृत्वको व्यवहार र आचरण हुन्छ। लोकतन्त्र, प्रजातन्त्र वा गणतन्त्र जे भए पनि त्यतिखेर झ्यांगिन्छ, जब मानवअधिकार, न्याय, समानता, कानुनी शासन, सुशासन, जवाफदेहिता, उत्तदायित्व, पारदर्शिता, आर्थिक समृद्धि र विकासले गति लिन्छ। 

इतिहासले सधैँ वर्तमानलाई थाम्ने भए वर्तमान राजनीतिक नेतृत्व किन यो हदसम्म आलोचित हुन्थ्यो? हजुरबाले घिउ खाए, मेरा जुँगा चिल्ला! स्वाभाविक हो, गाईवस्तु पाल्थे, घाँस, पराल, खोले–पानी गर्थे, दूध, दही, मोही, घिउ बनाउँथे, गञ्जबसँग खान्थे, ज्यान, जुँगा दरा र चिल्ला हुनु स्वाभाविकै हुन्थ्यो। अहिले पिउने दारु अनि हजुरबाको इतिहासले कति थेग्ला?

अपवादलाई छोड्ने हो भने हिजो वीपी थिए, गणेशमान थिए, पुष्पलाल थिए, मनमोहन थिए, मदन भण्डारी थिए र पार्टी पार्टी जस्तो थियो। त्यहाँ सिद्धान्त थियो, विचार थियो, व्यवहार, आचरण एवं नैतिकता थियो। इमान्दारी थियो, केवल सत्ता थिएन। आज सत्ता छ, बाँकी सबै सिद्धिएको छ। 

अपवादलाई छोड्ने हो भने वीपीले मुलुकप्रति जुन प्रगतिको नक्सा बनाएका थिए, आज त्यो नक्सा आफूलाई उनका अनुयायी भन्नेसँग छ? किसान, हलो, गाईवस्तु, गाउँबस्तीको मुहारमा मुस्कान भर्न कोरिएको चित्र र वर्तमान चित्रबीच कति तादात्म्य छ? बहुदलीय व्यवस्था सँगसँगै छिराइएको निजीकरणले वीपीको हलो र किसानलाई स्वीकार्दछ? विकासले देश भरिँदै गएको छ भनी भुलभुलैयाको व्यापार गर्नेहरूसँग सिधा जवाफ छ– हिजो देशमा कति कारखाना थिए, आज कति छन्? किन बेचिए ती कारखाना? किन खाइयो जनकपुर चुरोट कारखाना? किन बेचियो वीरगञ्ज चिनी उद्योग? कहाँ पुग्यो चलिरहेको ट्रली बस? आदि आदि। अहिलेको विकास नेतृत्वको चाहना वा गरौँ भन्ने भावनाको उपज भन्दा पनि स्वाभाविक गतिले निम्त्याएको हो भन्नुमा अन्यथा नहोला।

सच्चा उत्तराधिकारीहरू मुलुक र नागरिकलाई केन्द्रविन्दुमा राखेर आफू प्रधानमन्त्री हुँदा भएको तलब घटाउने, पाहुना आउँदा चिया खाने चिनीसमेत नभएको वीपीको अवस्थाबारे कति विज्ञ छन्? के उनले अहिलेकाले जस्तो मुलुक लुट्न सक्दैनथे? उनको मन्त्रीमण्डल कत्रो थियो? के वर्तमान सक्कली उत्तराधिकारीलाई यसको ज्ञान छ? अहिलेको सिंहदरबार हेर्दा वीपीले मन्त्रीमण्डल हो कि जन्ती हो, छुट्याउन सक्ने सामथ्र्य राख्थे? अहिलेको वीरगाथाको अगाडि उनी नामर्द र अक्षम हुन् भन्नुपर्ने हुन्छ।!

राजनीतिमा सिद्धान्त, नैतिकता, इमान्दारीलाई आधारभूत तत्त्व मानिन्छ। जब समाजवाद चरम लाजवाद, विकृति, विसंगतिवाद, अराजकतावाद, धनवाद आदि बन्छ, माक्र्सवाद सीमित वर्ग समुदायको लागि मासुभात बन्छ भने अनि हुन्छ के? रोग–रोगको घरजम भएपछि अर्कालाई कठै, विचरा नभनी के गर्ने? गाँजा रोपेर धान फल्ने भए, खोलानाला बेचेर बिजुली बल्ने भए ठीकै थियो, काम कुरो हुन्थ्यो तर त्यो सत्य होइन। सतही नाराले जिन्दगी कति दिन चल्छ?

अराजकता, अस्थिरताभित्र कति समय स्थिरता फल्छ? लोकतान्त्रिक सिद्धान्त र विचार, पद्धति र परिपाटी त्यतिखेर फस्टाउँछ, जतिखेर त्यसअनुकूल नेतृत्वको व्यवहार र आचरण हुन्छ। लोकतन्त्र, प्रजातन्त्र वा गणतन्त्र जे भए पनि त्यतिखेर झ्यांगिन्छ, जब मानवअधिकार, न्याय, समानता, कानुनी शासन, सुशासन, जवाफदेहिता, उत्तदायित्व, पारदर्शिता, आर्थिक समृद्धि र विकासले गति लिन्छ। 

अगाडि सुन्दर गीत गाउने अनि पर्दापछाडिबाट अन्याय, अत्याचार, तस्करी, भ्रष्टाचार, अतिचार, कुविचार, व्यभिचार, दुराचार, पापाचार, कुशासनको छुरा धस्न थालेपछि स्वाभाविक रूपमा हुने यही हो, जो अहिले भइरहेको छ। 

खानपानबाहेक केही नमिल्दा आफूसँगको गठबन्धन जिन्दावाद! अनि टाढिएर अर्कोसँग जाँदा अप्राकृतिक र मुर्दावाद! मुलुक भ्रष्टाचारले घेरियो। सदाचार बिलायो। सुशासन हरायो भन्दा शिशु प्रजातन्त्रमाथि दनक दिन थालियो भन्नु कति उचित होला? नाम, थर, धर्म, गोत्र केही नमिली स्वार्थ मिल्दा उही पात्रसँग गठबन्धन पवित्र हुने अनि आफूसँग ठ्याक नमिल्दा र अर्कासँग सल्कँदा मुलुक अधिनायकवादको भासमा भासिने! कसरी पत्याउनु विचरा तर्कहरू! हाम्रो प्रवृत्ति भनेको संविधान, नियम, कानुन बनाउने हो, पालना गर्ने होइन अर्थात संविधान, कानुनतः नेतृत्व चल्ने होइन, नेतृत्वको चाहना र भावनाबमोजिम संविधान, कानुन चल्नुपर्छ भन्ने हो। 

व्यवहारले सिद्ध गरेको तथ्य हो– बर्खे च्याउ जस्ता दलहरूको उत्पादन मुलुकको आवश्यकता थिएन र होइन पनि। मुलुकमा दुई दलीय पद्धति नै उपयुक्त हुन्छ। विचार मिल्नेहरूबीचमै अनेकन चुह्ला अब चल्न संभव छैन र चल्न दिनु पनि हुँदैन। सत्ताको तर मार्न उपियाँझैँ फड्किने प्रवृत्तिले हामीलाई ठीक ठाउँमा पुर्‍याउँदैन। त्यसैले टुक्रेटाक्रे र खुद्रे पसललाई अब गतिला होलसेल पसलले विस्थापित गर्न आवश्यक छ। त्यस दिशातिर मुलुक फर्केको देखिए पनि नेतृत्वको स्वार्थले गर्दा तत्काल केही भइहाल्ला भन्नु भूल हुनेछ किनकि लामो समय लगाएर जमेका स्वार्थका पत्र त्यति सजिलै उप्किन संभव छैन। 

धर्ती फाट्यो, आकाश खस्यो भने अर्कै कुरा होला तर वर्तमान परिस्थितिमा कसैको अधिनायकत्व न जन्मन संभव छ, न टिक्न नै! यो अनावश्यक कोकोहोलो गर्नुभन्दा दीर्घकालीन सोचबाट दुई दलीय पद्धतिको यात्राको बारेमा चिन्तन गर्नु बुद्धिमानी हुन्छ। अर्काले कमाइदिएको इतिहासको बासी व्याजले वर्तमान महँगीलाई धान्न सक्दैन। अतः ऐना पुछ्ने होइन, आफ्नै मुहारमा जमेको धुलो मैलो सफा गर्नुमा नै कल्याण छ। समयले नेतृत्वमा सद्वुद्धि देओस्!

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.