सन्दर्भ : विश्व मानसिक स्वास्थ्य दिवस

|

काठमाडौं : 'कार्यस्थलमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस मनाइदैछ। विश्वमा मानसिक समस्या बढ्दै गएको अवस्थामा विश्व मानिसक स्वास्थ्य माहासंघले सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १० लाई 'विश्व मानसिक स्वास्थ्य दिवस' को रुपमा मनाउदै आएको छ।

नेपालमा प्रत्येक वर्ष मानसिक रोगीको संख्या बढ्दै गएको छ। सरकारले भने मानसिक स्वास्थ्यलाई प्राथमिकतामा नराखेकाले मानसिक रोगीले राम्रो उपचार सेवा समेत पाउन सकेका छैनन्। बेरोजगारी, असफलता, मानसिक तनाव लगायतका विषय नै मानसिक रोगको मुख्य कारक तत्व रहेको चिकित्सकहरु बताउँछन्।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा झण्डै २५ लाख मानिसमा  कुनै न कुनै किसिमका मानसिक समस्या छ। तर हाल नेपालमा ५० लाख जति मानिस कुनै न कुनै मानसिक समस्याबाट ग्रसित भएको लामो समयदेखि मानसिक स्वास्थ्य क्षेत्रमा उपचार गर्दै आएका चिकित्सकहरु बताउँछन्।

बेलैमा उपचार गरे अन्य रोग जस्तै मानसिक समस्याको पनि पूर्ण निको हुन्छ। तर मानिसहरु चिकित्सकोमा नपुग्दा सामान्यखालको मानसिक समस्याले कडा रुप लिए लिने गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा शिक्षण अस्पतालका मानसिक विभाग प्रमुख तथा मानसिक रोग विशेषज्ञ डा सरोज ओझासँग मानसिक रोगबारे गरिएको कुराकानी:

के हो मानसिक समस्या?

मानसिक  समस्या भन्नाले मानिसको मनोवैज्ञानिक समस्या भनेर बुझ्नुपर्छ।  मानिसको मानसिक स्वास्थ्य कत्तिको राम्रो छ भन्ने कुरा उसको मनोविज्ञानमा निर्भर रहन्छ। मनोविज्ञान भन्ने वित्तिकै मानिसको विचार मन र उसको व्यवहार हो। मानिसको  विचार र व्यवहारमा परिर्वतन आउनुलाई नै मानसिक समस्या भन्ने गरिन्छ। दिमागका एक या बढी क्रियाकलापहरू (जस्तै: भावना  विचार  बोली  चेतना) मा गडबडी भएर उत्पन्न अवस्था लगातार रहिरहेमा मानसिक समस्या हो।

मानिसको दैनिक क्रियाकलापमा अस्वाभाविक परिवर्तन आउनु पनि एक किसिमको मानसिक समस्या हो।  मानिसको नियमित निद्रा, यौन इच्छा, भोकमा परिवर्तन आउनु पनि मानसिक समस्या हो।

त्यसैले मानिसहरुलाई मानसिक स्वास्थ्य प्रति सचेत गराउनु आवश्यक छ। मानिस स्वस्थ रहन शारीरिक रुपमा मात्र स्वस्थ भएर हुँदैन, मानसिकरुपमा पनि स्वस्थ रहनुपर्छ।

नेपालमा ५० लाख मानसिक रोगी

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक चार जनामध्ये एक जनामा केही न केही मानसिक समस्या रहेको छ। हाल विश्वमा  ४५ करोड मानिस  मानसिक रोगी रहेको उसको तथ्याङ्क छ। नेपालमा मानसिक रोगीको संख्या कति छन् भन्ने यकीन नभए पनि करिब ५० लाख जनामा केही न केही मानसिक समस्या रहेको अनुमान छ। ५० लाखमध्ये १ लाख जनामा कडा खालको मानसिक समस्या रहेको अनुमान गरिएको छ।

कडा खालको मानसिक समस्या भएकाहरुलाई चिकित्सकको निगरानीमा राखेर उपचार गरिएको खण्डमा ५० प्रतिशतलाई मानसिक रुपमा पूर्ण स्वस्थ बनाउन सकिन्छ। तर हाम्रोमा ८० प्रतिशत मानसिक रोगीहरु  अस्पताल नै आएको पाइदैन जसले गर्दा समस्याले विकराल रुप लिएपछि मानिसले आत्महत्यासम्मको बाटो रोजेको पाइन्छ।

धेरैलाई डिप्रेसनको समस्या

मानसिक रोग भन्ने वित्तिकै मानिस बौलाउनुलाई मात्र बुझ्ने गरेको पाइन्छ। तर त्यो मानसिक रोगको एउटा प्रकार मात्र हो। मानसिक रोग एक सय भन्दा बढी प्रकारको हुन्छ।  इम्पल्सिभ, डिप्रेसन, सिजोफेनिया आदि मानसिक रोगका मुख्य प्रकार हुन्।

सामान्य समस्या हुँदा वेवास्ता गरिने  र समस्याले कडा रुप लिएपछि र  जटिल अवस्थाको लक्षण देखाउन थालेपछि मात्र चिकित्सककँहा ल्याउने चलनले गर्दा झन् समस्या थपिएको छ। धेरैजसो मानसिक समस्या सामान्य चिकित्सकीय परामर्शमा नै निको हुन्छ। कडा खालको डिप्रेसन र कडा खालको मानसिक रोगबाट ग्रसितहरुलाई पनि लामो समयसम्म औषधी सेवनबाट पूर्ण रुपमा सञ्चो बनाउन सकिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.