|

लेनिनले एउटा उक्ति भन्नुभएको छ 'यदि राजनीतिलाई हस्तक्षेप गर्नुभएन, गर्न सक्नुभएन भने राजनीतिले तपाइको जीवनलाई हस्तक्षेप गरिदिन्छ' भनेर।

यो समयको अन्तराल/चक्रमा मेरो जिन्दगीमाथि धेरै ठूलो राजनीति भयो। सामाजिक सञ्जालहरुमा पनि मलाई हिजो अस्तिदेखि मैले धेरै कमेन्टहरु पढिरहेको छु। कसैले राम्रो गर्नुभयो, तपाईं अगाडि बढ्नुस् भन्नुभएको छ। कसैले तपाईं किन जानुभएको (एमालेमा) छ? तपाईं जानै हुदैनथ्यो। विभिन्न खालका टीकाटिप्पणीहरु भइरहेका छन्। त्यसको जवाफ म यहींबाट दिन चाहन्छु :

म राजनीतिमा आउनका लागि आफूलाई प्रशिक्षित गरेको मान्छे थिइनँ। मुलुकको एउटा महत्वपूर्ण जिम्मेवारी भएको संस्थामा महत्वपूर्ण योगदान दिएर जीवन मुलुकप्रति समर्पित गरेको सिपाही हुँ। हिजोसम्म म सिपाही थिए तर राजनीतिले यस्तो बनाइदियो, परिस्थितिले यस्तो मोड लियो कि मैले राजनीतिलाई नअङ्गाल्ने हो भने मेरो अस्तित्वमाथि प्रश्नचिन्ह खडा हुने अवस्था आयो। मैले मेरो अस्तित्व जोगाउनका लागि एमालेमा प्रवेश गरेको हुँ। 

मेरो मुलुकका लागि मैले हिजो दिएको योगदान, जुन स्पिरिट, जुन मेहिनेत, क्षमताका साथ योगदान दिएको छु। त्यो मिहिनेत आज मैले फोरम चेञ्ज गरेको छु, प्लेटफर्म चेञ्ज भएको छ। त्यो उत्साह, उमंग र मुलुकप्रतिको समर्पण कदापी कम हुनेछैन, बरु बढ्नेछ। 

राज्यले मलाई अन्याय गर्‍यो

एउटा सभ्य समाज, राष्ट्रमा डेमोक्रेटिक सोसाइटीमा राज्य भनेको अभिभावक हो। राज्यले आफ्ना नागरिकहरुमाथि कानुन बमोजिम बराबरको व्यवहार गर्नुपर्छ। अभिभावकले आफ्ना बच्चाहरुमाथि, आफ्नो समर्पणमा, संरक्षणमा रहेका नागरिकहरुलाई बराबर र त्यहीअनुसारको व्यवहार गर्नुपर्छ। जुन ममाथि भएन। 

मलाई सोधिन्छ, किन तपाईं राज्यको विरुद्धमा अदालत जानुभयो? हाम्रो देशको संविधानले भनेको छ 'तिमीलाई अन्याय परेपछि अदालत छ, अदालतमा न्याय माग्न जाउ' भनेको छ र म अन्यायमा पर्दा मैले न्याय माग्न जानु अन्याय हो? यो प्रजातन्त्रको सुन्दरता हो।

सेपरेसन अफ पावर (शक्ति पृथकीकरण) छ। त्यस अन्तर्गत संस्थाहरुको आफ्नो-आफ्नो काम, कर्तव्य र अधिकारहरु छन्। जसले प्रजातन्त्रलाई अगाडि बढाउनका लागि योगदान दिइरहेको हुन्छ। मुलुकलाई अगाडि बढाउनका लागि योगदान दिइरहेको हुन्छ। 

त्यसै अन्तर्गत मैले अन्याय सहेर बस्नु पनि अपराध सहनु बराबर हो। मैले अन्याय सहे भने त्यस्ता कयौं अन्याय सहनेहरु होलान्, हुन पुग्लान्। म जस्तो शिक्षित, प्रशिक्षित, देशविदेश, संसार घुमेको, बुझेको मानिस, मैले राजनीति पनि बुझेको छु। दर्शन, समाजशास्त्र, अर्थशास्त्र बुझेको छु। मैले आफूलाई यसरी अन्यायमा पर्दाखेरि चुप लागेर बसेँ भने तमाम करोडौं अन्यायमा परेका नागरिकहरुको के हालत होला? भनेर आज म नेकपा एमालेको ब्यानरमा उभिएको छु।

अन्यायमा परेकाहरुको प्रतिनिधि

यो मुलुकमा लाखौं अन्यायमा परेका नागरिकहरु छन्। उचनीच, पीडामा परेका नागरिक छन्। उहाँहरु सबैको एउटा प्रतिनिधि पात्रको रुपमा म यहाँ उभिएको छु आज। म आज यही मञ्चबाट ती तमाम पीडामा परिरहनुभएका, उचनीच, भेदभाव, अन्यायमा परिरहनुभएकाहरु हुनुहुन्छ, त्यस्ता साथीहरुलाई सँगै मिलेर एमाले पार्टीको ब्यानरमुनि बसेर यो मुलुकलाई अगाडि बढाउन आह्वान गर्छु।

यसकारण  एमाले प्रवेश

राजनीतिमा जाने हो भने एमालेमै किन भन्नेहरु पनि छन्। त्यसको पनि जवाफ दिनुपर्छ। किन एमालेमै जानुपर्ने अवस्था भयो भन्दा एमालेको जुन आदर्श, भिजन, सोच छ। एमालेले मुलुकलाई दिशा दिएको छ।

यो ऐतिहासिक व्यक्तित्व भएका नेताहरुले नेतृत्व गरेको पार्टी हो। यहाँ बसेपछि हामीजस्ता मुलुकका लागि केही गरौं भन्ने। समृद्धिका लागि अगाडिका बाटोहरु खोलौ भन्ने आकंक्षा राख्ने मान्छेहरुलाई यो पार्टीले प्रशस्तै सम्भावनाहरु दिएको छ। 

अरु कुनै यस्तो पार्टी छैन। जहाँ देखाउँदाखेरि डेमोक्रेटिकल मुहार छ। तर उनीहरुभित्र अप्रजातान्त्रिक व्यवहार छ। यो पार्टीले मात्रै हाम्रो जीवनपद्दति परिवर्तन गर्ने सवालमा समाजवादको वैज्ञानिक विश्लेषण गर्न सक्छ, विश्लेषण गरेको छ।

अब विकासका अवधारणाहरु परिवर्तन भएर गएका छन्। भौतिक संरचनाहरु मात्रै बनाएर समृद्धि अगाडि बढ्दैन, मानव सभ्यता अगाडि बढ्दैन भन्ने सोचको विकास भएर गएको अवस्थामा मात्रै यो पार्टीले नयाँ डाइमेन्सन दिन सक्छ। यो पार्टीले मात्रै विकासका नयाँ अवधारणाहरु अगाडि ल्याउन सक्छ र समाजवादको वैज्ञानिक विश्लेषण गर्न सक्छ भन्ने मेरो ठम्याइ भएको कारणले म एमालेमा छु। 

तीन प्रश्नको जवाफ खोज्दै

मान्छेले जीवनमा आ-आफ्नो ठाउँबाट योगदान गर्ने हो। योगदान गर्दै जाने क्रममा मान्छेले आफ्नो जीवनको उत्तरार्धमा तीन कुरा सोच्छ भन्ने सुनेको छु। मैले सही अर्थमा जीवन बाँचे? मैले जीवनमा मर्यादाहरु उल्लंघन गरेँ कि गरिनँ?  मैले गर्ने कर्तव्य र उत्तरदायित्वहरु हुबहु रुपमा गरेँ कि गरिनँ? त्यसको आत्मसन्तुष्टि मलाई छ कि छैन भनेर सोच्छ रे मान्छेले। के म बाँचे सही अर्थमा? मे मैले जीवनलाई, मेरो राष्ट्रलाई, मेरो बाटोलाई माया गरेँ? सही अर्थमा बाँचे कि बाँचिन? म बाँच्नुको अर्थ रह्यो कि रहेन? 

यी तीनवटै प्रश्नको जवाफ खोज्ने सिलसिलामा मैले नेकपा एमाले मात्र यस्तो छहारी भेटेँ, जहाँ गौरव छ, जहाँ सम्भावना छ, सुदुर भविष्य उज्वल छ। राजनीतिक जीवनमा ठूल्ठूला मोडहरु आउँछन्। अहिले यही समयमा एउटा महत्वपूर्ण काम भएको छ। 

मैले पनि यो ठूलो बहावको पात्रको रुपमा आफूलाई प्रस्तुत गर्ने ऐतिहासिक अवसर प्राप्त गरेँ। नेपालको राजनीतिमा ऐतिहासिक घटना भयो। इतिहासमा बिरलै यस्ता घटना हुन्छन्, एउटा सामान्य नेताले, सामान्य रुपले गरेको जस्तो देखिन्छ। तर यस्ता निर्णयहरुले उहाँहरुलाई युगपुरुष बनाइदिन्छ। 

यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीज्यू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डज्यूको पहलमा नम्बर अफ लिडरहरु बसेर राजनीतिलाई नयाँ आयाम, नयाँ दिशा दिने जुन निर्णय भएको छ। यो नेपालको इतिहासमा सबैभन्दा महत्वपूर्ण राजनीतिक घटना हो। यसका लागि म उहाँहरुलाई बधाइ दिन चाहान्छु। 

हामीलाई मुलुकको माया छ। हामी पनि चाहन्छौ कि राजनीतिक स्थायित्व होस्। राजनीतिक स्थायित्वबिना प्रगति सम्भव छैन। अब हामी आर्थिक आन्दोलनमा जानुपर्छ। हामीले आर्थिक समृद्धि प्राप्त गर्नुपर्नेछ। अरु पार्टीका साथीहरु पनि अब हामी मोर्चा बनाउनुपर्‍यो भनेर आइरहनुभएको छ। यो एकदमै राम्रो कुरा हो।

जनताका माझमा जाऔं। हाम्रा आफ्ना कुरा, मिसन, भिजन राखौं। हामीले हाम्रा मार्गचित्रहरु प्रस्तुत गरौं। जनताको मन जितेर राज्य सञ्चालन गरौं, ५ वर्ष सञ्चालन गरौं र आफ्नो भिजनलाई कार्यान्वयन गर्न सकौं। त्यसरी मात्रै हामीले मुलुकलाई परिवर्तन गर्न सक्छौं। 

अहिले २१ औं शताब्दीको आवश्यकता पनि हो। चीन, भारत जस्ता मुलुकहरु जसरी फड्को मारिरहेका छन्। हामी सुतेर, राजनीतिक दलहरु एक अर्कामा झगडा गरेर समय खेर फाल्ने अवस्था छैन। इतिहासले हामीलाई माफ गर्नेछैन। त्यसकारण यो ऐतिहासिक घटना घटेको छ। त्यसको निर्णय नेताहरुले लिनुभएको छ इतिहासले उहाँहरुलाई युग पुरुषको रुपमा प्रतिस्थापित गर्नेछ। 

विदेशका युवा स्वदेश फर्काऔं

आज हाम्रा युवाहरु विदेशमा गएर जीवन बर्बाद गरिरहेका छन्। रेमिट्यान्स पठाएका छन्। जीडीपी (कुल ग्रार्हस्थ उत्पादन) को २९.५ प्रतिशत रेमिट्यान्सबाट आएको छ भनेर हाम्रा पोलिसी मेकरहरु (नीति निर्माताहरु) ठूलो गर्व गर्छन्। तर त्यसको लागत थाहा छ उहाँहरुलाई? दिनमा १५ सयको दरले वर्षमा ५ लाख युवाहरु बाहिर जान्छन् र १८ सय लासहरु स्वदेश फिर्ता आउँछन्। 

हाम्रा गाउँघर हेर्नुस् घरपरिवारहरु छिन्नभिन्न छन्। सामाजिक अस्तव्यस्तता छ। परिवार विघटित भएको अवस्था छ। त्यसको लागत तिर्न सक्छ राज्यले? त्यसकारण हामीले हाम्रा युवाहरु स्वदेश फर्काउनुपर्छ। यहीँ नै रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्छ। उद्योग, व्यवसाय बढाउनुपर्छ। कृषिमा आन्दोलन गर्नुपर्छ। 

हामीसँग भएको जलस्रोतको सम्भावनाको उचित प्रयोग गरेर मुलुकलाई समृद्ध राष्ट्र बनाउनुपर्छ। यसमा एमालेको जुन योजना दृष्टिकोण छ, त्यसमा म एउटा कार्यकर्ताको रुपमा योगदान गर्नेछु। 

हिजोसम्म राज्यको, आजदेखि एमालेको सिपाही

हिजोसम्म राज्यको इमान्दार सिपाहीको रुपमा मुलुकको सेवा गर्दै गरेको थिएँ भने आजदेखि नेकपा एमालेको एउटा इमान्दार सिपाहीको रुपमा तपाईंहरुको सेवा गर्नेछु। म फर्किनेछु, मेरो आवाज बुलन्द पार्नेछु र गाउँगाउँमा पीडित भएर न्याय नपाएर बसेकाहरु सम्म म आवाज पुर्‍याउनेछु र तपाईंहरुसम्म आउनेछु। 

नेकपा एमालेका गौरवशाली पार्टीका युगपुरुष केपी शर्मा ओलीज्यू म उहाँलाई धन्यवाद दिन चाहन्छु। मुलुकको समृद्धिको लागि आउँदा दिनमा अझ बढी योगदान दिनेछु। मुलुकप्रतिको स्नेह, माया कहिले कम हुनेछैन। हिजोको जुन उत्साह थियो त्यसमा तपाईंहरुले कमी पाउनुहुनेछैन।

शुक्रबार एमाले प्रवेश कार्यक्रममा सिलवालले दिएको मन्तव्यको सम्पादित अंश

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.