|

झापा: अमेरिकाको टेक्सास राज्यमा कार्यरत नेपालीहरूको संस्था नेपाली समाज टेक्सासले झापाको बाढी प्रभावित एक विद्यालयको भवन निर्माणका लागि नौ लाख रूपैयाँ सहयोग गरेको छ।

बाढी प्रभावित क्षेत्रका लागि त्यहाँ कार्यरत नेपालीबाट संकलित रकम झापा गाउँपालिका- ६ मा रहेको भृकुटी आधारभूत विद्यालयको भवन निर्माणका लागि भन्दै समाजले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त सहयोग रकम हस्तान्तरण गरेको हो। समाजका सभापति कृष्ण लामिछानेले विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा संस्थाका अध्यक्ष लामिछानेले विद्यालयमा भवन अभाव भएर विद्यार्थीलाई समस्या भएको थाहा पाएपछि सहयोग प्रदान गरेको बताए। उनले भने, ‘हामीले अमेरिकामा कार्यरत नेपालीबाट बाढी प्रभावित क्षेत्रको सहयोगका लागि भनेर राहत संकलन गरेका थियौँ, तर एउटा व्यक्तिलाई दिनु भन्दा सार्वजनिक स्थलमा दिन उचित ठानेर हामीले विद्यालयलाई सहयोग गरेका छौँ।’

समाजले विभिन्न क्षेत्रमा विभिन्न समयमा सहयोग गर्दै आएको बताउँदै उनले अझै पनि यो विद्यालयलाई सहयोग गर्दै जाने बताए। उनले रकम संकलनका बेला एउटा बस्ती निर्माण गर्ने भन्ने सोच बनाएको भए पनि जग्गा अभावमा विद्यालयलाई सहयोग गरेको बताए। उनले भने, ‘हामीले बस्ती बनाउन भनेर रकम संकलन गरेका थियौँ तर हामीलाई बस्ती बसाउँन जग्गा अभाव भयो, त्यसैले बाढीपीडित पढ्ने यस विद्यालयलाई हामीले सहयोग गरेका हौँ।’ उनले आगामी दिनमा पनि यस विद्यालयलाई यस्ता सहयोग गर्दै जाने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला नेता तथा कार्यक्रमका प्रमुख अतिथि देउमान थेवेले झापाको दक्षिणी क्षेत्रको यो विद्यालयलाई सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिए। उनले भने, ‘अन्य ठाउँबाट हेर्दा झापालाई विकसित जिल्लाका रूपमा देखिन्छ तर यहाँ यस्तो छैन। झापाको दक्षिणी क्षेत्रमा क्षेत्र अझै पनि पछि परेको छ।’

उक्त विद्यालयमा पढ्ने करिब २९ प्रतिशत बालबालिका मुस्लिम, आदिवासी तथा दलितहरू रहेको विद्यालयका प्रधानाध्यापक मदनकुमार भण्डारीले जानकारी दिए। उनले भने, ‘हाम्रो विद्यालयमा सबै गरिब बालबालिका अध्ययन गर्छन्, यो सहयोगले हमीलाई धेरै ठूलो सहयोग भएको छ।’ सोही कार्यक्रमका बीच विद्यालयका लागि दुई कोठे पक्की भवनको समेत शिलान्यास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.