|

कपिलवस्तु : अति सवेदनशील र गम्भीर प्रकृतिका बिरामीमा क्षयरोगको किटाणु पत्ता लगाउन सक्ने अत्याधुनिक जीन एक्सपर्टमेसिन जिल्लामा सञ्चालनमा आएको छ। एचआईभी सङ्क्रमित बिरामी, जतिपटक परीक्षण गर्दा पनि नेगेटिभ रिजल्ट आएको तर उसको शारीरिक अवस्थामा रोग देखिएको क्षयरोगका बिरामीको खकार मेसिनमार्फत परीक्षण गरिने अस्पतालका ल्याब असिस्टेन्ट सञ्जीव सिंहले बताए।

जिन एक्स्पर्ट मेसिनमा खकार राखेपछि आफैँ परीक्षण गरेर कम्प्युटरमा नतिजा दिने सिंहले बताए। खकारलाई कीटमा राखेर माइक्रोस्कोपको सहायतामा हेरेर रोग पत्ता लगाइने पुरानो पद्धतिबाट दुई पटकसम्म परीक्षण गर्नुपर्ने र त्रुटीको सम्भावना पनि हुने उनले बताए। यसले कुनै त्रुटी नदेखाउने र मान्छेको आँखाले हेरेर गर्ने परीक्षण जस्तो झन्झट पनि हुँदैन त्यसैले यो प्रविधि केही महंगो भए पनि प्रभावकारी छ' सिंहले भने।

भदौ २६ गतेदेखि जिन एक्स्पर्ट मेसिन अस्पतालमा सञ्चालनमा आएपछि हालसम्म कपिलवस्तुमा १५ जनाको परीक्षण गरिएको छ। उनीहरूमध्ये मात्र १ जनामा क्षयरोग भएको पुष्टी भएको अस्पतालले जनाएको छ।

क्षयरोग परिक्षण गर्ने मेसिन जिल्लामै भएपछि परीक्षणका लागि टाढा पुग्नुपर्ने बाध्यताबाट जिल्लाबासीलाई राहत मिलेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए । छोटो समयमै विश्वसनीय परिणाम आउने भएपछि बिरामीहरु ढुक्क हुन सक्ने उनको भनाइ छ।

निक साइमन्स इन्स्टिच्युट र विराट नेपाल मेडिकल ट्रस्टले अस्पताललाई सो मेसिन प्रदान  गरेको हो। टिबी रिसर्च परियोजना अन्तर्गत जिल्ला अस्पतालहरुलाई नयाँ मेसिन उपलब्ध गराइएको हो। करिब ३० लाख रुपैयाँ पर्ने यो मेसिनबाट क्षयरोगका साथै एचआईभी, हेपाटाइटिस बी, इबोला जस्ता २५ थरीका रोग परीक्षण गरी पत्ता लगाउन सकिनेछ। तर, अहिले क्षयरोग पत्ता लगाउने कार्टिज मात्र जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको हो।

माइक्रोस्कोपमा जाँच गर्दा १० हजार ब्याक्टेरिया भएमा मात्र टिबी रोग पत्ता लगाउन सक्छ। जिन एक्सपर्ट मेसिनले १ सय ३१ किटाणु भए पनि रोगबारे स्पष्ट देखाउने गर्छ। अहिले यो मेसिन कपिलवस्तु, प्यूठान, बर्दिया र गुल्मीमा जिल्लालाई उपलब्ध गराएको र सन् २०२० सम्म नेपालमा ७५ वटै जिल्लालाई वितरण गर्ने लक्ष्य सरकारले लिएको छ। कम्प्युटरको प्रयोगद्वारा खकार जाँच गरेको २ घण्टामै रिपोर्ट आउने चिकित्सकको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.