|

काठमाडौं : क्रिप्टो करेन्सी कारोबारमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं र चितवनका विभिन्न ठाउँबाट बुधबार पक्राउ गरेको शुक्रबार पत्रकार सम्मेलनमा ब्युरोका निर्देशक डीआईजी पुष्कर कार्कीले जानकारी दिए।

पक्राउ पर्नेमा सिन्धुलीका ३८ वर्षीय ज्ञानप्रसाद पौडेल (जिपी), आर्घाखाँचीका ३४ वर्षीय माधव खनाल, काठमाडौंका २५ वर्षीय प्रशान्तप्रताप शाह, नुवाकोटकी २४ वर्षीया बिन्दा ढकाल, सिन्धुपाल्चोकका ४४ वर्षीय मिङमार तामाङ, काठमाडौंका दमन बस्नेत, रुपन्देहीका मनिषकुमार गिरी रहेका छन्।

क्रिप्टो करेन्सी भनेको अनलाइनबाट पैसा जस्तै संकेत हुने भर्चुअल पैसा हो। यो भौतिक रुपमा देख्न नसकिए पनि अनलाइनको माध्यमबाट व्यक्ति व्यक्तिबीच किनबेच हुन्छ। विश्वका धेरैजसो मुलुकमा यसको कारोबारलाई अवैध मानिन्छ। नेपालमा पनि यसको कारोबारलाई गैह्कानुनी मानिन्छ।

डीआईजी कार्कीका अनुसार 'बिटक्वाइन' (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न रहेका जिपी पौडेल भनिने सिन्धुलीका ज्ञानप्रसाद पौडेल र नुवाकोटकी बिन्दा ढकाल हर्बो इन्टरनेसनल नामको नेटवर्किङ व्यवसायमा संलग्न थिए। सरकारले हर्बोलाई बन्द गराएपछि पौडेल बिटक्वाइनमा संलग्न भएका थिए। पिरामिड शैलीमा हुने यो व्यवसायको पौडेल पहिलो तहका कारोबारी हुन्। पौडेल बिटक्वाइन व्यवसायबारे अरुलाई प्रशिक्षण पनि दिने गर्थे।

ज्ञानप्रसाद पौडेललाई मात्रै पक्राउ गर्न प्रहरीलाई दुई हप्ता लागेको एक अधिकृतले बताए। उनका अनुसार सुरुमा सिन्धुली गएका पौडेल त्यसपछि पोखरा हुँदै चितवन पुगेका थिए। त्यसक्रममा उनले ५ वटा मोबाइल नम्बर परिवर्तन गरेका थिए। बिटक्वाइनलाई नेपालमा प्रवेश गराउने मुख्य व्यक्ति फरार छन्। उनी भारत लुकेर बसेको हुनसक्ने प्रहरीको अनुमान छ।

पक्राउ परेकाहरुलाई कारबाही प्रकिया अगाडि बढाइएको डीआईजी कार्कीले जानकारी दिए। उनले भने, 'नेपाल राष्ट्र बैंकको ऐन २०५८ आकार्षित हुने हुनाले हामीले जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर कारबाही प्रक्रिया अगाडि बढाएका छौं।'

बिटक्वाइन व्यवसाय विश्वमा २००९ मा सुरु भएको थियो। नेपालमा भने यो व्यवसाय सन् २०१३ मा सुरु भएको हो र अहिले नेपालमा एक बिटक्वाइनको कारोबार ४ हजार ३ सय ९३ डलर रहेको कार्कीले जानकारी दिए।

पक्राउ परेका ७ जनाले सन् २०१३ यता ८ देखि १० लाख डलरको कारोबार गरेको प्रहरीको अनुमान छ। तर डिजिटल प्रविधिबाट कारोबार हुने र एक व्यक्तिले गरेको कारोबार अरुलाई थाहा नहुने भएकोले यत्ति नै कारोबार गरेका छन् भन्न नसकिने डीआईजी कार्कीले बताए। उनले थप अनुसन्धानबाट कति कारोबार भएको भन्ने खुल्ने बताए।

के हो बिटक्वाइन र कसरी गरिन्छ व्यापार?

बिटक्वाइन विश्वव्यापी भुक्तानी प्रणाली हो जसलाई अर्को शब्दमा 'क्रिप्टो करेन्सी' पनि भनिन्छ। यो भर्चुअल मुद्रा हो जसलाई अनलाइनका माध्यमबाट खरिद बिक्री गरिन्छ। नेपालका साथै बंगलादेश, चीन, बोलिभिया, भारत, रुस, भियतनाम लगायतका देशमा गैरकानुनी रहेको छ। विश्वका केही देशहरुले भने यसलाई मान्यता दिएका छन्।

बिटक्वाइन एक देशमा निश्चित मूल्यमा खरिद गरेर अर्को देशमा सोही बराबर भुक्तानी लिन सकिन्छ। यसको प्रयोगबाट राजश्व संकलन नहुने र अवैध लगानी गर्नेहरुलाई कारोबार गर्न सहज हुन्छ। त्यस्तै बिटक्वाइनको माध्यमबाट कालोधन मार्फत कारोबार, सम्पत्ती विदेश लैजान र हुन्डीको नयाँ तरिकाको रुपमा प्रयोग गरिएको पाइएको डीआईजी कार्कीको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.