|

  • रमेश तिमल्सिना-

रौतहटः गत साउन २९ गते आएको बाढीले आमाबाबुसहित छ जना अभिभावक गुमाएकी पाँच वर्षकी बालिकालाई नेपाल पत्रकार महासंघ रौतहटले नगद सहयोग प्रदान गरेको छ।

रौतहटको परोहा नगरपालिका– ४ लौकाहमा शुक्रबार एक कार्यक्रम गरी जानबी यादवलाई महासंघले नगद २५ हजार रुपैयाँ सहयोग गरेको हो। परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल र नेपाल पत्रकार महासंघ रौतहट शाखाका  अध्यक्ष  रवीन्द्रप्रसाद साहले बालिकाको निवासमै पुगेर सो रकम सहयोग गरेका थिए। 

नेपाल पत्रकार महासंघ कोरिया शाखाले उक्त पीडित परिवारका लागि राहत स्वरूप उपलब्ध गराएको रकम आज पीडित परिवारलाई हस्तान्तण गरिएको हो। नगर प्रमुख शेख वकिलले नेपाल पत्रकार महासंघले बाढीपीडित परिवारका लागि गरेको सहयोग अतुलनीय भएको बताए। पत्रकारले बाढीपिडितको समाचार संप्रेषण गर्दागर्दै पनि नगद सहयोग गर्नु भनेको पीडित परिवारप्रति ठूलो सहानुभूति जनाउनु भएको बताउँदै उनले धन्यवाद दिए। 

गत साउन २९ गते जानबीकी आमा शर्मिला यादवको राजपुर स्वास्थ्य चौकीमा प्रसुति गराउन लाने क्रममा गाडीमा सवार आमा शर्मिलासहित बुबा चन्द्रकिशोर यादव, हजुरआमा सुमित्रादेवी, काका सरोज यादव, सानी हजुरआमा ललितादेवी र तीन वर्षकी बहिनी आरुसीकुमारीको ज्यान गएको थियो।

सोही गाडीमा सवार जानबीका अर्का काका राजन यादवले भने गाडीबाट हामफालेर ज्यान बचाएका थिए। सो दुर्घटनाले आफ्नो सम्पूर्ण परिवार गुमाउनुपरेको जानबीका हजुरबुबा रामसेवकप्रसाद यादवले बताए। नातिनीले बेलाबेलामा आमाबाबु खोज्ने गरेकाले आफूलाई झन पीडा दिने गरेको यादवको भनाइ छ। पीडित परिवारलाई सरकारले जनही दुई लाख रुपैयाँको दरले राहत दिइसकेको छ।

सो रकम नेपाल पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष रमेश तिमल्सिनाको पहलमा कोरिया शाखाका अध्यक्ष खेम कार्कीले कोरियामा रहेका नेपालीसँग संकलन भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.