जोइन्ट भेन्चर कम्पनीले ठेक्का लिएर सबकन्ट्रयाक्टरलाई कामको जिम्मा

|

उदयपुर : वैकल्पिक सडक निर्माणको काममा ठेकेदारले पनि ठेकेदारलाई लगाउँदा गुणस्तरहीन काम भएको छ। ठेकेदार कम्पनीले पूर्वाधार निर्माणलगायत काममा २० प्रतिशतसम्म मुनाफा लिएर ससाना निर्माण कम्पनी र व्यक्तिलाई जिम्मा दिएपछि गुणस्तरहीन काम भएको हो।

गिट्टी–बालुवा सडक विभागले तोकेको मापदण्डअनुसारका नभएको हो। उदयपुरको चौदण्डीगढी नगरपालिकाको वीरेन्द्र चोकदेखि बेल्टार, बेल्टार–गाईघाट, गाईघाट-मुर्कुची-नेपालटार-कटारी खण्डमा गुणस्तरहीन सामग्री प्रयोग भएको आयोजनाको कार्यालयले जानकारी दिएको छ।

धरान-चतरा–गाईघाट–कटारी-सिन्धुली–हेटौंडा सडक आयोजना पूर्वी खण्ड कार्यालय गाईघाटका प्रमुख उमेशविन्दु श्रेष्ठले बताए। चौदण्डीगढी नगरपालिकाको वीरेन्द्र चोकदेखि सिन्धुली, भिमान खण्डको निर्माणमा गुणस्तरहीन काम भएको श्रेष्ठको दाबी छ। ‘निर्माण सामग्री हेर्दा गुणस्तरीय बन्नेमा विश्वास गर्न सकिँदैन,’ श्रेष्ठले भने, ‘सामान्य व्यक्तिले हेर्दा त काम चित्तबुझ्दो छैन।

पूर्वी खण्डअन्तर्गत १ सय ३५ किमी सडक जेडआइइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चर कम्पनीले ठेक्का लिई काम गरिरहेको छ। पक्की पुलबाहेक ६ अर्ब रुपैयाँमा ठेक्का सकारेको कम्पनीले काम थालेको ८ महिना बितेको छ। पूर्वी खण्डमा ४३ पुल निर्माणको ठेक्का भने रसुवा कन्स्ट्रक्सनले लिएको छ। स्ल्याब कल्भर्ट र कजवेचाहिँ जोइन्ट भेन्चरले नै बनाउने सहमतिअनुसार काम भइरहेको छ।

ठेकेदार कम्पनीले २० प्रतिशतभन्दा बढी मुनाफा लिएर सहायक ठेकेदारमार्फत काम गराएकाले शंका गर्नुपर्ने अवस्था रहेको स्थानीय जागु चौधरीले बताए। ०७६ सम्ममा निर्माण पूरा गर्ने गरी काम थालिएको निर्माण कम्पनीको दाबी छ। सबकन्ट्रयाक्टरलाई सडकले तोकेको मापदण्डअनुसारै काम दिइएको जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले बताए। ‘कैयौं सब–कन्ट्रयाक्ट्रर भएकाले सबैले गलत नै गरेको भन्न सकिँदैन,’ उनले भने, ‘निर्माणमा गलत गरेको भए सच्याउन लगाउने छांै।’

सवारीसाधनका लागि ७ मिटर र दायाँबायाँ सोल्जर क्षेत्र २/२ मिटर गरी ११ मिटर सडक कालोपत्रे गरिने आयोजनाले जनाएको छ। तर बजार क्षेत्रमा दायाँबायाँ २० मिटर र अन्य स्थानमा ३० मिटर सडकको भाग तोकिएको छ।

३ वर्षभित्र काम सक्ने लक्ष्य

पूर्वपश्चिम राजमार्गको विकल्पमा निर्माण भइरहेको धरान-चतरा-गाईघाट-कटारी–सिन्धुलीको काम ३ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ। ३ वर्षभित्र कालोपत्रे गर्ने गरी काम थालिएको आयोजनाले जानकारी दिएको छ।

मधेस आन्दोलनले पूर्वपश्चिम राजमार्ग ठप्प बनेर जनजीवन कष्टकर बनेपछि सरकारले यो वैकल्पिक सडक निर्माणलाई उच्च प्राथमिकता दिएको थियो। सरकार र सडक विभागको निर्देशनबमोजिम पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालयले धरानदेखि हेटौंडासम्मको ३ सय १८ किलोमिटर रुटलाई आगामी ३ वर्षभित्र कालोपत्रे गर्ने योजना छ।

नयाँ संबिधान जारी भएसँगै सुरु भएको मधेस आन्दोलनले झन्डै ६ महिना राष्ट्रिय राजमार्ग ठप्प बनेपछि सरकार र सडक विभागले वैकल्पिक राजमार्गको आवश्कयता महसुस गरी कोशी ब्यारेजको विकल्पमा चतरास्थित सप्तकोशी नदीमाथि नयाँ पुल सञ्चालनमा आएपछि यस सडकले निर्माण गति पाएको बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.