|

चितवन : पश्चिम चितवनमा ‘चित्रवन रंगशाला’ निर्माणका लागि सहयोग संकलन तिब्र पारिएको छ। रंगशाला निर्माण समितिका अध्यक्ष सुरेन्द्र गुरुङले देश र विदेशमा बस्ने नेपालीहरुबाट सहयोग संकलन तिब्र पारिएको जानकारी दिए।

उनका अनुसार चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालमार्फत प्रवासमा रहेका गैर आवासीय नेपालीहरुबाट संकलित ४ लाख ७२ हजार रुपैयाँ समितिलाई प्राप्त भएको छ। यस्तै अन्य गैरआवासीय नेपालीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएको समितिका सचिव टुकमान गुरुङले जानकारी दिए।

चित्रवन रंगशाला निर्माण आर्थिक सहयोग संकलन समितिका अन्तर्राष्ट्रिय संयोजक सोम सापकोटाले पहिलो चरणमा संकलन भएको ४ लाख ७२ हजार हस्तान्तरण गरेको र अभियान अझै जारी राख्ने बताए।

यस्तै क्लिनिक नेपालका हरि भण्डारीले पनि आकर्षक गेट निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको समितिले जनाएको छ। नेपाल सरकारले ५० करोड रुपैयाँमा निर्माण गर्न लागेको रंगशालाको अहिले यहाँ निर्माण कार्य चलिरहेको छ।

रंगशाला निर्माणका लागि गैर आवासीय नेपाली संघका प्रतिनिधि कुमार पन्तले २ लाख, रामकृष्ण शर्माले १ लाख ५१ हजार, भवन भट्टले १ लाख, प्रविण गुरुङले एक लाख, गोविन्द श्रेष्ठले १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका समितिका अध्यक्ष सुरेन्द्र गुरुङको भनाइ छ।

यस्तै दीपक वलीले ५१ हजार, रमेश भट्टले ५१ हजार, हेमन्त सेढाईले ५१ हजार रुपैयाँ सहयोग गर्ने आश्वासन दिएका छन्। सरकारले गत वर्ष ५० लाख रुपैयाँ रंगशालाका लागि विनियोजन गरे पनि निर्माण कार्य प्रभावकारी हुन नसक्दा भने ३० लाख रुपैयाँ फिर्ता भएको समितिले जनाएको छ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले रंगशाला बनाउन विदेशमा बस्ने नेपालीहरुले गरेको योगदान महत्वपूर्ण रहेको भन्दै विगतमा जस्तो रंगशालामा आएको रकमलाई फिर्ता हुन नदिन निर्माण समितिलाई आग्रह गरिन्।

यसपालिको नगर परिषदबाट पनि केही रकम विनियोजन गर्ने योजना रहेको उनले प्रतिवद्धता जनाइन्। अहिले रंगशालाको वरिपरि पर्खाल लगाउने र प्याराफिटको पिल्लर निर्माणको काम भइरहेको छ। शुक्रबार यहाँ एक भव्य कार्यक्रमको आयोजना गरी समितिले सहयोगी दाताहरुलाई सम्मान गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.