|

लहान : चार निर्वाचन क्षेत्र रहेको सप्तरीमा मंसिर २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरु उम्मेदवार छनोटमा जुट्न थालेका छन्। २०७० को संविधानसभाको निर्वाचनमा १, २, ३ बाट माओवादी केन्द्र, ४ बाट एमाले तथा ५ र ६ नम्बरबाट कांग्रेसले जितेको थियो। अहिले बदलिएको निर्वाचन क्षेत्रमा कुन दल हावी होला अहिले नै अनुमान गर्न गाह्रो छ।

कुन निर्वाचन क्षेत्रमा कसले जित्ला?

निर्वाचन क्षेत्र निर्धारण आयोगको विभाजन अनुसार १ नम्बर क्षेत्रमा प्रतिनिधिसभाका लागि सप्तकोशी, कञ्चनपुर र हनुमाननगर कंकालिनी नगरपालिकासहित अग्निसाइर कृष्णासवरण र तिरहुत गाउँपालिका पर्छन्। स्थानीय तहको निर्वाचनमा ११ वटा वडा रहेको सप्तकोशीमा प्रमुख, उपप्रमुख र छ वडाध्यक्षसहित नेकपा एमालेले जितेको छ भने बाँकी पाँच वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ।

१ नम्बर क्षेत्रमा पर्ने चारवटै स्थानीय तहमा आगामी चुनावका लागि तालमेल गरेका एमालेले सात हजार दुई सय ८८ र माओवादी केन्द्रले छ हजार तीन सय १९ गरी १३ हजार दुई सय सात मत पाएका छन्।

कांग्रेसले नौ हजार आठ सय ६६, संघीय समाजवादी फोरमले नौ हजार पाँच सय ४३, राजपा  १० हजार आठ सय नौ र नेपाल लोकतान्त्रिक फोरमले पाँच हजार दुई सय ४४ मत पाएको छ।

आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको तयारीमा रहेको कांग्रेसले राजपा र लोकतान्त्रिक फोरमसँग मात्र तालमेल गर्‍यो भने जित सहज हुने आँकलन गरिएको छ।

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ को सप्तकोशीको ११, कञ्चनरुपको ८ र अग्निसाइर गाउँपालिकाको ६ गरी २५ ववडामध्ये एमालेले १२, माओवादी केन्द्रले ७, कांग्रेसले ४, राजपाले १ र नेपाल लोकतान्त्रिक फोरमले १ वडामा जित हासिल गरेको छ। त्यसैले यस प्रदेश सभामा वाम गठबन्धनको जित सुनिश्चित जस्तै देखिएको छ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को तिरहुत गाउँपालिका ५, कञ्चनरुप ४ र हनुमाननगर कंकालिनी नगरपालिकाको १४ गरी २३ वडामध्ये राजपा ९, फोरम ५, कांग्रेस ४, माओवादी केन्द्र २, राप्रपा २ र नेलोफो १ वडाध्यक्ष जितेकाले राजपा फोरम गठबन्धनले २ नम्बर प्रदेश सभा सदस्य जित्ने अनुमान गरिएको छ।

निर्वाचन क्षेत्र नम्बर २

सप्तरीको २ नम्बर निर्वाचन क्षेत्रमा पर्ने महदेवा गाउँपालिकामा २ वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्ष फोरम नेपालले जितेको छ भने तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ५ वडाध्यक्ष तथा राजविराज नगरपालिकामा प्रमुख, उपप्रमुख र ५ वडाध्यक्षसहित राजपाले जितेको छ। छिन्नमस्ता गाउँपालिका अध्यक्ष र दुई वडाध्यक्षसहित नयाँ शक्ति र उपाध्यक्ष तथा एक वडाध्यक्षसहित राजपाले जितेको छ।

स्थानीय तहको निर्वाचन परिणाम अनुसार २ नम्बर क्षेत्रमा पर्ने चार स्थानीय तहमा कांग्रेस सात हजार दुई सय ८८, एमाले दुई हजार आठ सय ३३, फोरम नेपाल नौ हजार चार सय १२, राजपा १२ हजार ६५, माओवादी केन्द्र छ हजार नौ सय ७५, नेपाल लोकतान्त्रिक फोरम तीन हजार दुई सय ४२,  नयाँ शक्ति दुई हजार आठ सय ५ र स्वतन्त्रले नौ सय ७३ मत पाएका छन्। यो क्षेत्रमा राजपा र फोरम गठबन्धनले जित्ने अनुमान गरिएको छ।

२ नं. क्षेत्रको प्रदेश सभाका लागि १ नम्बरमा पर्ने तीन स्थानीय तहका १९ वडामा राजपा ६, कांग्रेस ५, माओवादी केन्द्र ३, नयाँ शक्ति २, फोरम, नेलोफो र एक स्वतन्त्रले एक एक वडाध्यक्ष जितेकाले राजपा फोरम गठबन्धनले अन्यसँग तालमेल नगरी जित्न असहज हुने देखिन्छ।

प्रदेश सभा २ का लागि महदेवा गाउँपालिकाको १, ३ र राजविराज नगरको १६ गरी १८ वडामध्ये राजपा र फोरम ५/५, माओवादी केन्द्र ४, स्वतन्त्र २ र कांग्रेसले एक वडाध्यक्ष जितेको छ। यो प्रदेशसभामा पनि फोरम राजपा गठबन्धनको सहज जित हुने देखिन्छ।

निर्वाचन क्षेत्र नम्बर ३

शम्भुनाथ र डाक्नेश्वरी नगरपालिकासहित रुपनी, विष्णुपुर र बेल्ही चपेना गाउँपालिका रहेको ३ नं. निर्वाचन क्षेत्रमा कांग्रेस र राजपा फोरम गठबन्धनको टक्कर पर्ने देखिएको छ। शम्भुनाथ, विष्णुपुर र बेल्ही चपेनाको प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्ष कांग्रेसको पोल्टामा गएको छ भने डाक्नेश्वरी नगरको प्रमुख उपप्रमुखसहित रुपनी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष राजपाले जितेको छ। यो क्षेत्रमा पर्ने स्थानीय तहमा कांग्रेसले १४ हजार नौ सय ६७, एमालेले नौ हजार पाँच सय २८, फोरमले छ हजार सात सय छ, राजपाले १२ हजार आठ सय ३२, माओवादी केन्द्रले चार हजार छ सय नौ, लोकतान्त्रिक फोरमले दुई हजार नौ सय १४, स्वतन्त्र चार हजार ५३ र राप्रपा (प्रजातान्त्रिक) ले एक हजार एक सय एक मत ल्याएको छ।

स्थानीय तहको मत अनुसार राजपा र फोरमको मत संख्या बढी हुने देखिए पनि केही स्थानीय तहमा एमाले निकटतम् प्रतिद्वन्द्वी भएकाले कांग्रेस, राजपा फोरम गठबन्धन र बाम गठबन्धनको कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। यद्यपी यो क्षेत्रबाट प्रदेशसभाका लागि वडाध्यक्ष जितेको आधारमा कांग्रेस नौ, राजपा पाँच, फोरम ३, माओवादी केन्द, नेलोफो र स्वतन्त्रले दुई/दुई  तथा एमालेले एउटा वडाध्यक्ष जितेको आधारमा कांग्रेस तथा राजपा फोरम गठबन्धन बलियो देखिएको छ।

यो क्षेत्रको प्रदेश सभा २ का लागि बेल्ही चपेना डाक्नेश्वरी नगरपालिका र शम्भुनाथ नगरपालिकाको १२ नं. वडासहित १७ वडामा कांग्रेस ७, राजपा फोरम ४/४ र एमालेले दुई वडाध्यक्ष जितेको छ। यद्यपी शम्भुनाथको प्रमुख, उपप्रमुखमा झिनो मतले पराजित भएको एमालेसहितको बाम गठबन्धनले शम्भुनाथ, बेलही चपेनामा निकटतम् प्रतिद्वन्द्वीको रुपमा पाएको मत सुरक्षित गर्न सक्यो भने बाम गठबन्धनले जित्न सक्ने देखिन्छ। 

निर्वाचन क्षेत्र नम्बर ४

सप्तरीको निर्वाचन क्षेत्र नं. ४ मा जिल्लाको पश्चिम दक्षिणी भेगका खडक, सुरुङ्गा, बोदेबर्साइन नगरपालिकासहित बलान बिहुल गाउँपालिका पर्छन्। पछिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले सुरुङ्गा प्रमुख, उपप्रमुख, खडक उपप्रमुख जित्नुका साथै ११ हजार तीन सय २४ मत ल्याएको छ। फोरमले खडकको प्रमुख, बोदेबसाइन प्रमुख उपप्रमुख र बलान विहुल गाउँपालिकामा पनि अध्यक्ष उपाध्यक्षसहित १० हजार नौ सय ७३ मत ल्याएको छ।

उक्त क्षेत्रमा एमाले नौ हजार दुई सय ८७, राजपा सात हजार तीन सय ३८, माओवादी केन्द्र छ हजार पाँच सय, नेलोफो पाँच हजार दुई सय ९२, नेपाली जनता दलले एक हजार एक सय २३ मत प्राप्त गरेको छ।

बाम ताममेलसहित अन्य दल, कांग्रेस नेतृत्वको लोकतान्त्रिक र राजपा फोरमको गठबन्धन बन्यो भने पनि राजपा फोरम गठबन्धन अगाडि देखिन्छ। त्यसको पछि पछि वाम गठबन्धन र तेस्रो स्थानमा लोकतान्त्रिक गठबन्धन रहने अनुमान गरिएको छ।

यो क्षेत्रको प्रदेशसभा १ का लागि खडक र सुरुङ्गा नगरपालिकाको क्रमशः ११ र ८ वडामध्ये वडाध्यक्ष जितको आधारमा कांग्रेस र एमाले बराबर सात/सात, नेलोफो दुई र फोरमले तीन वडा जितेको आधारमा नेलोफोले कांग्रेसलाई सघाउने उम्मेदवारले जित्ने सम्भावना रहेको छ। त्यस्तै, चार नं. क्षेत्रको प्रदेश सभा २ मा बोदेबर्साइन नगरपालिकाका १० वार्ड, बलान बिहुल गाउँपालिकाको छ र सुरुङ्गा नगरपालिकाको ९, १० र ११ नं वडामध्ये फोरम सात, राजपा पाँच, एमाले– माओवादी केन्द्र २/२, कांग्रेस एक, नेपाली जनता दल एक र नेलोफो एक वडामा विजयी भएका छन्। यो प्रदेश सभामा राजपा फोरम गठबन्धन बलियो मानिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.