|

इलाम : वार्षिक रुपमा ४ मन अलैंची उत्पादन गर्ने इलाम नगरपालिका-४ मलातेका दीपेन्द्र दुलालले यस वर्ष १० मन सुक्खा अलैंची टिपे। सन्दकपुर गाउँपालिका ५ जमुनाका लोकेन्द्र साँवाले पनि यसपटक ९ मन सुक्खा अलैंची निकाले। धान फल्ने खेत र करेसाबारीमा रहर लाग्दो अलैंची बगान बनाएका उनले अर्को वर्ष उत्पादन दोब्बर हुने आंकलन गरेका छन्।

यो गाउँका हरेक कृषकले अलैंची खेतीलाई जंगलबाट घरबारीमा सारेका छन्। हरेकजसो घरमा बगानले ढाकेपछि सिँगो गाउँमा अलैंचीको उत्पादन बढ्दो छ। जमुनामा मात्र यो वर्ष पाँच सय मन अलैंची फल्ने अनुमान छ। हालको बजार मूल्य प्रतिमन ३० हजार रुपैयाँ छ।

यही मूल्यको आधारमा पनि यस बर्ष डेढ करोड बढी गाँउमा भित्रिने पक्का छ । पुराना बगान मासिएपछि दशकअघिसम्म यो गाउँमा अलैंचीबाट आम्दानी घटेको थियो।

रोपण, गोडमेल, सिँचाइ, टिपाइ र सुकाइसम्म स्थानीयले रोजगारीको अवसर पाएका छन्। दुई वर्षअघिको तुलनामा मूल्यमा भारी गिरावट आएको छ। तर, कृषकको आकर्षण भने थपिँदो छ। प्रतिमन १ लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएको अलैंचीको बजार भाउ हाल सरदर ३० हजार रुपैयाँ मात्र छ। यही मूल्य कायम रहे पनि मिहिनेत खेर नजाने कृषकको बुझाइ छ।

अलैंचीको मूल्यमा आएको ठूलो उतारचढावले कतिपय कृषक र व्यवसायी भने मारमा परेका छन्। अघिल्लो वर्ष प्रतिमन ८० हजार रुपैयाँको हाराहारी मूल्य पुग्दा कतिपयले अझ बढ्ला भन्ने अनुमानमा अलैंची बिक्री नगरेका किसानहरु भने मारमा परेका छन्।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांक हेर्दा पाँच वर्षयता अलैंचीको उत्पादनमा निरन्तर वृद्धि भएको छ। आर्थिक वर्ष ०६६÷६७ मा ९ सय ६३ टन उत्पादन भएको थियो। ०६८÷६९ मा उत्पादन घटेर ४ सय ४० टन मात्र भयो। क्षेत्रफल र उत्पादन दुवै बढ्दै गएकाले अघिल्लो आर्थिक वर्षमा ५ सय ७६ टन अलैंची उत्पादन भयो।

परम्परागत खेती प्रणालीले रोगको संक्रमण बढेको विज्ञहरुको दाबी

माटोको परीक्षण नगर्ने, उचाइ अनुसारको विरुवा नलगाउने, गोबर मलको प्रयोग गरिए पनि त्यसको नाइट्रोजनको मात्रा नियन्त्रणको उपाय नखोजिने जस्ता कारणले अलैंची खेतीको लामो भविष्य नदेखिएको विज्ञहरुको  भनाइ छ।

‘रोग लागिसकेपछि नियन्त्रण गर्न कठिन भएकाले रोग लाग्नै नदिने वातावरण बनाउनुपर्छ,’ जिल्ला कृषि विकास कार्यालयका प्राविधिक गणेश राईले भने, ‘हामीले निरोगी बिरुवा रोप्नेतर्फ ध्यान र्पुयाउन सकेका छैनौं।’

पाँच वर्षअघि रोपिएका कतिपय बिरुवामा रोगको संक्रमण देखिइसकेको छ। अलैंचीलाई ४.५ देखि ६ पीएच भएको माटो उपयुक्त हुन्छ। तर, माटो परीक्षण भने अधिकांश कृषकले गराएका छैनन्।

उचाइअनुसार फरक जात लगाउनुपर्छ। ६ सयदेखि १ हजार २ सय मिटरसम्मको उचाइ भएको स्थानमा डम्बरसाही र जिर्मले जात लगाउनुपर्छ। १ हजार २ सयदेखि १ हजार ६ सय मिटरसम्म गोलसाही र साउने प्रजाति र त्यसमाथि २ हजार ३ सय मिटरसम्मको उचाइमा भार्लाङ र रामशाही लगाउँदा उपयुक्त हुने फिक्ललस्थित अलैंची विकास केन्द्रका प्रमुख पदम अधिकारीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.