झापा : मेचीनगर नगरपालिका– १२ कालिझोडाकी अञ्जली राई (१०) विद्यालय छुट्टीको समयमा संधै चारआली नजिकैको पूर्वपश्चिम राजमार्गमा भेटिन्छिन्। नजिकैको कालिका आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने अञ्जली विद्यालय जाँदाको खाजा खर्च र कापी कलम किन्ने खर्च जुटाउन यसरी एक दिन राजमार्गमा निक्लन्छिन्।
पूर्वपश्चिम राजमार्गसँगै जोडिएको प्रगति सामुदायिक वन र कालिझोडा वनमा उनी दिनभर निगुरो संकलन गर्छिन्। त्यसपछि राजमार्गमा बसेर त्यहाँ सवारीमा आउने यत्रुहरुलाई बेच्छिन्। जब राजमार्गमा सार्वजनिक बस, मोटरसाइकल तथा अन्य सवारीहरु रोकिन्छन्, ‘५० को तीन मुठा...’ भन्दै यताउता गरिरहन्छिन्।
दुःख गरेर ल्याएको निगुरो सबै बिक्यो भने त उनी धेरै खुशी हुन्छिन्। भन्छिन्, ‘दिनभरि दुःख गरेर निगुरो कहिले सबै बिक्छ, कहिले बिक्नै गाह्रो हुन्छ।’ उनको परिवारमा सात सदस्य छन्। परिवार त जसोतसो तीन दाइले मजदुरी गरेर ल्याएको पैसाले चलेको छ।
दैनिक आवश्यकता पूरा नभएपछि निगुरी टिपेर बेच्ने गरेको बताउँछिन्। ‘स्कुलमा सबै साथीहरुले के के किनेर खान्छन्, राम्रो ब्याग बोकेर जान्छन्’, उनी भन्छिन्, ‘छुट्टीको बेलामा निगुरो बेच्दा केही पैसा जम्मा हुन्छ।’ यसरी निगुरो बेचेर कपी कलमसँगै विद्यालयमा दैनिक चाहिने खाजा खर्च समेत जुटाउँछिन्। उनी भन्छिन्,‘कहिले त ४ सय सम्मको पनि बिक्छ, यो पैसा म आमालाई राख्न दिन्छु र थोरै थोरै गर्दै खर्च गर्छु।’
उनीमात्र होइन कालिझोडाका धेरै बालबालिकाहरुले दैनिक खर्च जुटाउन यसरी नै निगुरो बेच्ने गरेका छन्। शनिबार र अन्य विदाका दिनभरि जंगलमा निगुरो संकलन गरो र साँझ परेपछि सडक पेटीमा बसेर उनीहरु निगुरो बेच्ने गर्छन्। कतिपय बालबालिका अविभावकसँगै आउँछन्। कतिपय समूह बनाएर आउँछन्।
यसरी नै आफ्नो दैनिक खर्च जुटाउन विद्यालय छुट्टीको दिन निगुरो बेच्न आउने गर्छिन् सोही ठाउँकी सात वर्षीया उर्मिला मेन्याङ्बो । ‘पैसा पनि कमाइने', उनी भन्छिन्, 'साथीहरुसँग खेल्दै निगुरो टिप्न पाइने।’ अहिले निगुरो धेरै बिक्री हुने गरेको उनले बताइन्। 'अरु काम गरेर त पैसा कमाउन सक्दिन तर निगुरो टिप्नचाहिँ सक्छु', उनले भनिन्, 'स्कुलमा चाहिने खर्च यसैले जुटाउँछु ।’
अरु साथीको निगुरो बिकेर आफ्नो नबिक्दा मन खिन्न हुने रहेछ उनको। ‘कहिलेकाहीँ अरु साथीको बिक्छ तर मेरो बिक्दैन', उनले दुखसो पोखिन्, 'त्यतिबेला मन खिन्न हुन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।