|

कालिकोट : मध्य तथा सुदूरपश्चिमका जिल्लाहरुमा न्यायका लागि कानुन र अदालती प्रक्रियामा जानेभन्दा पनि देवताको मन्दिरमा जानेको संख्या बढी छ। परम्परागत चलन र रुढीवादी सोचका कारण अदालत र सरकारी निकायमा जानेभन्दा धार्मिक विधि अपनाउनेहरु बढी भएका हुन्।

छिटो छरितो न्याय पाउने आसले सर्वसाधारण आफूले मान्दै आएको देवीदेवताको मन्दिर र धार्मिक स्थलमा गुहार माग्ने गर्छन्। जनैपूर्णिमादेखि लाग्ने मेलाहरुमा बढी जसो न्यायका लागि देवीदेवताको भाकल गर्नेहरु बढी रहेका कर्णालीका संस्कृतिविद चन्द्रप्रसाद कोइरालाले बताए। ‘मध्य तथा सुदूरमा अहिले पनि देवीदेवतासँग न्याय माग्नेहरु बढी छन्’ उनले भने, ‘यहाँका मानिसहरुको अझै पनि देवीदेवताप्रति विश्वास छ।’

हुम्ला, डोल्पा, कालिकोट, जुम्ला, दैलेख, सुर्खेत, अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला र डोटी जिल्लामा अहिले पनि देवीदेवतासँग न्याय माग्न जाने गरिन्छ। 

जग्गा विवाद, सम्बन्धबिच्छेद, माना- चामल, साँध-सिमाना विवाद लगायतका विवादमा सर्वसाधारणले देवीदेवतासाग न्याय माग्छन्। अदृश्य शक्तिले न्याय दिने आसमा नै सरकारी प्रक्रियामा नजाने चलन रहेकव बझाङको छान्ना गाउँपालिकाका दानबहादुर थापाले बताए। ‘न्यायका लागि अदालती प्रक्रियामा जाँदा फैसला हुन निकै समय लाग्ने र जसका कारण पीडितले थप पीडा भोग्नुपर्ने भएकाले पनि सर्वसाधारणले परम्परादेखि नै देउतालाई न्यायमूर्तिका रुपमा मान्दै आएका छन्’ उनले भने, ‘देवताका छिटो न्याय पाइने यहाँका मानिसले आशा राखेको पाइन्छ।’

कानुनी प्रक्रिया अपनाउदा अदालतबाट फैसला ढिलो आउने र लामो समयसम्म झञ्झट बेहोर्नुपर्ने भएकाले छिटो न्याय पाउन देवीदेवताको गुहार माग्ने चलन रहेको बाजुरा कोल्टीका रामबहादुर शाहीले बताए। ‘हाम्रो कोल्टीमा एउटा मष्टो देवता छ। त्यहाँ न्याय माग्न दुई सय वर्षअघिका मुद्दा लिएर पनि आउने गरेका छन्’ उनले भने, ‘पुराना पुराना मुद्दा यहाँ देवताका परेका हुन्छन्। त्यसको फैसला धामीले गर्छन्।’

आफूमाथि परेको अन्यायमा न्याय माग्न मात्र नभइ आफन्त वा आफूले गरेको गल्तीको प्रायश्चित पनि देवतासमक्ष गर्ने प्रचलन छ। मन्दिरमा गएर बाबियोको नाम्लोमा बाँधिएर मुखमा घाँस चेपेर प्रायश्चित गर्ने चलन पनि छ। देवताले न्याय दिलाउने आसले रुँदै मन्दिर परिसरको चौरमा घोप्टो परेरे आफूमाथि परेको अन्यायका लागि गुहार माग्ने चलन रहेको मुगुका पत्रकार कविराज कार्कीले बताए।

‘आफूले गरेको गल्तीको माफी तथा न्याय पाउन यहाँका स्थानीयले विभिन्न उपाय अपनाएर न्याय माग्ने गरेका छन्’ उनले भने, ‘यसो गर्दा न्याय पाइन्छ भन्ने जनविश्वास रहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.