दसैँमा समेत तलब पाएनन् कर्मचारीले

|
सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा सेवाग्राहीको भीड।

बैतडी : स्थानीय तहमा बैंक नहुँदा बैतडीका ग्रामीण क्षेत्रका नागरिकले लामोसमयदेखि समस्या भोग्दै आएका छन्। अधिकांश ग्रामीण क्षेत्रसम्म सडकको पहुँच बढेसँगै कारोबार पनि बढेको छ भने स्थानीय तह कार्यन्वयनमा आएसँगै बजेट र कर्मचारी पनि गाउँमै पुगेका छन्।

तर, बैंक नहुँदा एकतर्फ दुईदिन समय लगाएर सदरमुकाम आउनुपर्ने समस्या छ भने अर्कोतर्फ ठूलो रकम जोखिम मोलेर सदरमुकामसम्म पुर्‍याउनुपर्ने चुनौती थपिएको छ। बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरुलाई सास्ती भएको छ। बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा मात्रै बैंकका शाखाहरु रहेका छन्।

स्थानीय तहमा बैंक नहुँदा स्थानीय बासिन्दासमेत बैंकिङ कारोबार गर्न सदरमुकाम धाउन बाध्य भएको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए। ‘बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम पुगें।’ उने भने।

गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ। उनले भने हरेक आर्थिक कारोबारका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको छ।’

दुई हजार नगद झिक्न चार हजार खर्च

बैतडीको पाटनमा केही बैंकका शाखा भए पनि अधिकांश बैंकहरु अहिले सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा रहेका छन्। बैंक नभएकै कारण कतिपय स्थानिय तहका कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित हुने गरेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिकाबाट पनि सदरमुकाम आउन दुई दिन समय लाग्छ।

आधाबाटो पैदल र आधाबाटो गाडीमा गरेर सदुमुकाम पुग्न दुईदिन लाग्ने गरेको पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दशरथ मंगोलाले बताए। नागरिकहरुले २ हजारको चेक साट्न चार हजार खर्च गर्नुपरेको वडा अध्यक्ष मंगोलाको भनाइ छ। ‘दुई दिन समय लगाएर सदरमुकाम आउँदा ४/५ हजार खर्च हुन्छ,’ उनले भने, दुई हजार क्यास झिक्न चार हजार खर्चनुपर्ने यस क्षेत्रका नागरिकको पीडा छ, जो मैले पनि भोग्दै आएको छु।’

जिल्लाको सवैभन्दा ठूलो नगरपालिकाको रुपमा परिचित पुर्चौडी नगरपालिकामा पनि बैंक नहुँदा बैकिङ कारोबार गर्नको लागि डेढ दिन पैदल हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको स्थानीय लाल बहादुर भण्डारीले बताए। ‘सशस्त्र द्वन्द्वका बेला असुरक्षाले सदरमुकाम सरेका ग्रामीण क्षेत्रका बैंकका शाखाहरु अझै पुनःस्थापना भएका छैनन्,’ भण्डारीले भने, ‘अन्य सबै काम नगरपालिकामै हुन्छ तर, बैंकिङ कामकै लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ।’

शिक्षक र कर्मचारीले दसैँमा समेत तलब पाएनन्

स्थानीय तहमा बैंक नहुँदा कर्मचारीको तलब खुवाउनदेखि लिएर आर्थिक कारोबारमा समस्या भएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए। ‘कर्मचारीलाई तलब दिन र अन्य कारोबार गर्न निकै समस्या भयो,’ उनले भने, ‘सदरमुकाम धाउँदा पनि बैंकमा भीड हुने भएकाले चाडपर्वमा कर्मचारीलाई स्यालरी दिन सकिएन।’

शिक्षकहरुले दसँैमा समेत तलब नपाएको डिलाशैनी गाउँपालिकाको सेटीगाउँ बुहमुखी क्याम्पसका संयोजक खेमराज जोशीले बताए। ‘दसैँमा समेत शिक्षक र कर्मचारीले पैसा पाएनन्,’ उनले भने, ‘डिलाशैनीमा कुमारी बैंकको शाखा आउने हल्ला छ तर, स्थानीय तहबाट हुने सबै कारोबार गर्न जनप्रतिनिधिहरु सदरमुकाममुखी बनेका छन्।’

सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पुर्‍याउने भनेको भए पनि अहिलेसम्म पु¥याउन सकेको छैन। वि स २०६८ सालको जनगणना अनुसार बैतडीको २ लाख ५० हजार ८ सय ९८ कुल जनसंख्याको आधा बढी करिब १ लाख ५० हजार जनसंख्यालाई बैंकिङ कारोबार गर्न असहज हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.