प्रचण्ड प्रधानमन्त्री हुँदासम्म महाधिवेशन नहुने

|

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको भेला र महाधिवेशन स्थगित गर्ने निर्णयसँगै पार्टीको ध्यान सरकार कि संगठन भन्ने विषयमा बहस सुरु भएको छ। 

असार २१ गतेको पोलिटब्युरो बैठकले तय गरेको ११ भदौको महाधिवेशन आयोजित समिति भेला र पुस २३ गते तोकिएको महाधिवेशन दुबै कार्यक्रमलाई शुक्रबार बसेको हेडक्वार्टर समितिको बैठकले स्थगित गरेको थियो। 

यो निर्णयबाट माओवादी केन्द्रले पार्टीको गतिविधि छाडेर सबै ध्यान सरकारमा लगाएको देखिन्छ। तर भर्खरै एकतापछि भद्रगोल बनेको संगठनलाई सुधार गर्दै आगामी चुनावमा पार्टीको अवस्था सुधार गर्न सरकारमा मात्र ध्यान लगाएर नहुने भन्दै पार्टीभित्रै असन्तुष्टी देखिएको छ। ‘जतिसक्दो चाँडो महाधिवेशन गराएर पार्टीभित्रको भद्रगोललाई पन्छाउँदै जानुपर्नेमा तय भइसकेको महाधिवेशन स्थगित गरेर नेतृत्वले ठीक गरेन, यसले संगठनलाई झन् भद्रगोलतातिर धकेल्छ’ एक हेडक्वार्टर सदस्यले भने।

गएको जेठ ६ गते विभिन्न १० माओवादी घटकबीच एकता भएपनि गाउँदेखि केन्द्रसम्म सबै संगठनहरु एकतावद्ध भएका छैनन्। धैरैजसो भातृ संगठनको एकता सम्मेलन भएको छैन। एकतापछि जिल्ला सम्मेलनहरु पनि भएको छैन। एकतापछि पार्टी कसरी सञ्चालन गर्ने भन्ने विधान पनि तयार भइसकेको छैन।

त्यसैले संगठनलाई भन्दा सरकारलाई प्राथमिकतामा राख्दा पार्टीको अवस्था झन् कमजोर बन्दै जाने ती नेता बताउँछन्। जनस्तरमा संगठन विस्तारमा लाग्नुको साटो सत्तामा ध्यान दिनु पार्टीको गलत काम भएको उनले बताए।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पार्टी सरकारमा रहँदा पनि संगठनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउँछन्। ‘चुनौतीपूर्ण अवस्थामा अध्यक्ष कमरेडको नेतृत्वमा सरकारले महत्वपूर्ण कामहरु गर्नुपर्ने भएकाले हामीले महाधिवेशन स्थगन गरेका हौं’ उनले भने, ‘संगठनलाई अझ व्यवस्थित बनाउन पार्टीभित्र छलफल भइरहेको छ।’

सरकारले छोटो समयमा महत्वपूर्ण काम गर्नुपर्ने भएकाले महाधिवेशन स्थगित गरी सरकार सफल बनाउन लागेको श्रेष्ठको भनाई छ। ‘हामी अध्यक्ष कमरेडको नेतृत्वमा बनेको सरकारलाई सफल बनाउन लागिपरेका छौं’ श्रेष्ठले थाहाखबरसँग भने, ‘पार्टीको महाधिवेशन मात्रै स्थगित भएको हो, अन्य गाउँ, नगर तथा जिल्ला अधिवेशनहरु तोकिएकै मितिमा हुन्छन्।’

पार्टीले संगठन विस्तार तथा अन्य काममा ध्यान नदिँदा आगामी दिनमा ठूलो क्षति हुने माओवादी केन्द्रका एक सचिवालय सदस्यले भने। पार्टीले महाधिवेशन मिति सारेर राम्रो काम नगरेको प्रचण्ड निकटका ती नेताले बताए। जतिसक्दो चाँडो महाधिवेशन गराएर मजबुत संगठन निर्माणमा पार्टी लाग्नुपर्नेमा झन् महाधिवेशन स्थगित गरेकोमा उनको गुनासो छ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भने पार्टीका सीमित नेताबाहेक अन्य कार्यकर्ता संगठन विस्तार तथा निर्माणमै केन्द्रित रहेको बताइन्। ‘हाम्रा साथीहरु संगठन निर्माणमै आआफ्नो कार्यक्षेत्रमा लागिरहनुभएको छ। ११/१२ जना बाहेक अरु संगठन निर्माणमै केन्द्रित हुनुहुन्छ’ उनले भनिन्। महाधिवेशन आयोजक समिति भेला भने तयारी नपुगेका कारण स्थगित भएको प्रवक्ता भुसालको भनाई छ। 

पार्टीको विधान, राजनीतिक दस्तावेज लगायत तयार गर्न प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समय अभाव हुने भएपछि महाधिवेशन मिति सारेको एक नेताले बताए। ती नेताका अनुसार पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहँदासम्म माओवादी केन्द्रको महाधिवेशन हुने सम्भावना छैन। नेता श्रेष्ठले थाहाखबरसँगको कुराकानीमा प्रचण्डले सरकारको नेतृत्व गरेसम्म महाधिवेशन हुन नसक्ने संकेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.