प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

विचार

नेपाली राजनीतिमा गठबन्धनले ल्याएको तरंग
SHARES

असोज २२, २०७४

    दसैँलगत्तै नेपाली राजनीतिमा गठबन्धन भूकम्प गएको छ। लामो समयदेखि विभाजित र एकअर्काप्रति आरोप÷प्रत्यारोपमा मात्रै व्यस्त रहेका पक्षहरू वीच आपसी समझदारी मात्रै भएको छैन, पार्टी एकिकरणसम्मै पुग्नेगरी वाम र लोकतान्त्रिक गठबन्धन बनेका छन्। प्राकृतिक भूकम्पले नेपालमा संविधान दियो, राजनीतिक भूकम्पले गठबन्धन दिएर गएको छ। वाम गठबन्धन बनेको भोलिपल्टै लोकतान्त्रिक गठबन्धन बन्न पुगेको छ। 

    ट्रम्प र पिङले नेतृत्व गरेको विश्व राजनीति 
    सबैलाई थाहा भएकै कुरा हो कि यतिबेला विश्व दुई ध्रुवमा संगठित भएको छ। एउटा धुरीको नेतृत्व चीनका राष्ट्रपति सी जिन पिङले गरेका छन् भने अर्को धुरीको नेतृत्व अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्। यिनै दुई धुरीमा विश्वका अरू राष्ट्रहरू लामबद्ध बनेका छन्। हिजो सोभियत धुरीमा रहेको भारत आज अमेरिकी धुरीमा पुगेको छ भने सोभियतकालमा खासै चर्चामा नरहेको चीन आज समाजवादी धुरीको नेतृत्व गर्ने स्तरमा पुगेको छ। अमेरिकाले यतिबेला भारतको साथ पाएको छ भने चीनले अफ्रिकी मुलुकहरूसहित दक्षिण एसियाका भारत र भुटानबाहेकका सबै मुलुकहरूको साथ पाएको छ। 

    युरोपियन युनियनबाट छुट्टिएर बेलायत अमेरिकी धुरीमा छ भने सिंगो युरोपियन युनियन भने समाजवादी चीनको निकटतातर्फ अघि बढ्दै छ। दुवै ध्रुवहरू आफ्ना समर्थकहरू जम्मा गर्दै छन्। शीतयुद्धताका असंलग्न राष्ट्रका रूपमा परिचय बनाउन सफल नेपाल केही समयदेखि औपचारिक रूपमा दुवै छिमेकीको निकटतामा रहन चाहेको भनिए पनि भारतको पोल्टामा रहेको प्रष्टै थियो। निकटको छिमेकी भारतको पोल्टामा जानु अर्को छिमेकीका लागि पाच्य थिएन। त्यसैले बेला बखतमा यो वा त्यो धुरीमा ढल्केका खबर आउने गर्थे। अन्ततः दुवै छिमेकीले आफ्ना पक्षमा पार्न कोसिस गरिरहेका बखत यी गठबन्धन बन्न पुगे भन्ने चर्चा पनि बजारमा उत्तिकै छ। यसको पुष्टि भने भावी दिनका गठबन्धनका कर्महरूले नै गर्नेछन्। 

    किन पर्‍यो गठबन्धनको खाँचो?
    पंचायतकालमा दलमाथि प्रतिबन्ध लागेको भए तापनि लामो समयदेखि नेपाली राजनीति दलीय पद्धतिमा आधारित छ। बहुदल यसको विशेषता हो। लगभग सयको हाराहारीमा निर्वाचन आयोगमा राजनीतिक दलहरू दर्ता हुने स्थिति र झण्डै तीन दर्जन दलहरूले संसदमै उपस्थिति जनाउने अवस्थाले संसद बहुरंगी त थियो नै, विकृति, विसंगतिको थलोका रूपमा पनि परिणत भएको थियो। बहुदलको उपहार विकृति र विसंगतिसहितको संस्कारविहीन सरकार भन्ने आम धारणा बनिरहेको थियो। यी सबै दलहरूका आफ्नै कमजोरी थिए। यिनको अन्त्य गर्ने इच्छा राजनीतिक दलहरूले राख्नुपर्ने र त्यसका लागि पनि मत मिल्ने र मन मिल्ने दलहरू एकीकृत हुन जरुरी थियो। यो ध्येयले गठबन्धन बन्न जरुरी थियो।

    यो पनि साँचो हो कि सिंगै नेपाललाई अमेरिकी लवीमा प्रवेश गरेको भारत आफ्नो पकडबाट गुमाउन चाहँदैन भने समाजवादी धुरीको नेतृत्व गरेको महाशक्ति चीनले पनि नजिकको छिमेकी आफ्नै समर्थनमा आओस् भन्ने चाहना राख्नु विल्कुल अनौठो कुरा थिएन। सिंगै मुलुक आफ्नो पक्षमा पार्न नसक्दा दुवैले गठबन्धनमार्फत आफ्ना स्वार्थ पूरा गर्न पाइयोस् भनेर चाहना राख्नु अस्वाभाविक भएन।

    यतिबेलाका गठबन्धन यी ध्येयले बने कि बनेन्, आफ्नो ठाउँमा होला तर अस्थिर र अल्पायुका सरकार अनि विकास र समृद्धिको योजना बनाएर पनि कार्यान्वयन नहुने अवस्थाको सिर्जना भएकै थियो। कमसेकम सत्ता हातमा पारिराख्नकै लागि भए पनि गठबन्धनको खाँचो थियो। धेरैले गठबन्धनलाई सत्ताको स्वार्थका कारण बनेको भन्ने अभिमत प्रकट गरेका छन्। जे होस्, गठबन्धनको कारण दलहरू आफैँ र दलहरूका विकृतपूर्ण व्यवहार र संस्कारहरू हुन भने जनताको समृद्धिको चाहना परिपूर्ति गर्ने साधन बनुन् भन्ने पनि आम मानिसको चाहना बन्न पुगेको छ। 

    अवस्था बदल्ने गठबन्धन आवश्यक
    राणा शासन बदलियो, पंचायत बदलियो र निरंकुश राजतन्त्र पनि बदलियो। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको छ। लामो मिहिनेत, कठिन संघर्ष र बलिदानका कारणले व्यवस्था बदलिएको हो। पंचायत फाल्ने आन्दोलन एक्लै संभव भएन। त्यसका लागि वाम र लोकतान्त्रिक दुवै शक्तिको जरुरत पर्‍यो। त्यसैगरी गणतन्त्रको प्राप्तिका लागि गरिएका आन्दोलनमा पनि शान्तिपूर्ण र सशस्त्र संघर्षको मोर्चा दुवैको खाँचो पर्‍यो। संविधानसभावाट संविधान बनाउन पनि वाम–लोकतान्त्रिक गठबन्धनकै खाँचो पर्‍यो। यसैले इतिहास साक्षी छ, व्यवस्था बदल्न पनि गठबन्धनहरू भएका हुन्। व्यवस्था बदल्न गठबन्धन गरिएजस्तै अब अवस्था बदल्न यी गठबन्धनहरू कामयावी बनून्, यो पनि जनताको चाहना छ। 

    देश र जनताको अवस्था बदल्ने भनेको विकास र समृद्धिको बाटोबाट नै हो। विकास र समृद्धिका लागि दलहरूले छुट्टाछुट्टै चुह्लोमा दाउरा बाल्नुपर्दैन। विकास र समृद्धिका लागि हिजोका जस्तै पार्टी संगठनको जरुरत पर्दैन। ध्वंसको होइन, निर्माणको खाँचो हो अब। निर्माणका लागि लडाकु संगठनको दरकार पर्दैन र अरू पार्टीहरूसँग शत्रुतापूर्ण सम्बन्ध राख्न पनि जरुरी छैन। सबैसँग मित्रताका आधारमा, विकास र समृद्धिको ऐजेण्डामा सहमत हुने दलहरूको एउटै साझा मोर्चा बनाउन सकिन्छ र कालान्तरमा पार्टी एकता पनि गर्न सकिन्छ भन्ने निष्कर्षमा दलहरू पुगेको परिणाम यी गठबन्धनहरू बने भन्ने निष्कर्ष निकाल्नु सही हुनेछ। यसमा जनताको शुभकामना पनि छ।

    गठबन्धन निर्माणमा वैदेशिक चासो 
    गठबन्धन बनेर घोषणा भइसक्दा राज्यको चौथो अंग भनिने पत्रकार जगतले पनि सुइँकोसम्म पाएन। आम जनताका लागि यो वाम गठबन्धनको घोषणा त आश्चर्य नै थियो। दलका शीर्ष नेताहरू बाहेक यसै अभियानमा पहल गर्ने मानिसहरूलाई छाडेर अरूले सुइँकोसम्म पाएनन् भने गठबन्धन नै विदेशी शक्तिले बनाइदिएको भन्ने कुराको कुनै तुक छैन। तर यो पनि साँचो हो कि सिंगै नेपाललाई अमेरिकी लवीमा प्रवेश गरेको भारत आफ्नो पकडबाट गुमाउन चाहँदैन भने समाजवादी धुरीको नेतृत्व गरेको महाशक्ति चीनले पनि नजिकको छिमेकी आफ्नै समर्थनमा आओस् भन्ने चाहना राख्नु विल्कुल अनौठो कुरा थिएन। सिंगै मुलुक आफ्नो पक्षमा पार्न नसक्दा दुवैले गठबन्धनमार्फत आफ्ना स्वार्थ पूरा गर्न पाइयोस् भनेर चाहना राख्नु अस्वाभाविक भएन।

    तर वाम गठबन्धनको घोषणा हुनासाथ लोकतान्त्रिक गठबन्धन बन्नु र कूटनीतिक सक्रियता अस्वाभाविक रूपमा बढ्नु तथा एकअर्काले एकअर्कालाई चीन वा भारतले बनाइदिएको गठबन्धन भन्ने जस्ता अभिव्यक्तिहरूले वैदेशिक चासोलाई प्रष्ट त गर्छ नै, त्यसका अलावा पनि यिनै गठबन्धनका कारण दक्षिणको छिमेकी प्रधानमन्त्रीको नेपाल भ्रमण स्थगित हुनुले गहिरो अर्थ राख्छ। 

    अन्तर्राष्ट्रिय संचार माध्यमले दिएको महत्त्वले पनि गठबन्धन निर्माणको अन्तर्राष्ट्रिय चासो र महत्त्वलाई उजागर गर्दछ। खाली गठबन्धन आफ्नो स्वार्थमा केन्द्रित हुन्छन् कि विदेशी स्वार्थ पूर्ति गर्ने साधन बन्छन्, त्योचाहिँ हेर्न बाँकी छ। आम जनताको कोटीकोटी कामना छ, राष्ट्रको आवश्यकता परिपूर्ति गर्नमा गठबन्धन केन्द्रित बनून्। 

    सत्ताप्राप्तिको मात्रै साधन नबनोस् गठबन्धन
    राजनीतिक दलहरूको इतिहास गर्व गर्न लायक छ। दलहरूको अगुवाइमा जनताले गरेको संघर्ष, त्याग र बलिदानको चर्चा जति गरे पनि कमै हुन्छ। तर व्यवस्था बदलेपछि अवस्था बदल्न लाग्नुपर्ने बेलामा दलहरू सत्ता स्वार्थमा नै रुमलिए। आफ्ना सम्पूर्ण दिनहरू सत्ताकै वरिपरि नै बिताए। सत्ताको स्वाद दलका नेता, कार्यकर्ता र पहुँचवाला समर्थक, शुभचिन्तकसम्म सबैले चाखे। तर जनता भने सुख सुविधावाट सदाझैँ वंचित नै भए। सत्ताको सुनिश्चितता शक्तिविना संभव छैन, त्यसकारण पनि गठबन्धनको खाँचो परेको हो भन्ने मानिसहरूको बुझाइ छ। 

    यस पटकको गठबन्धनले विगतमा जस्तै परिवर्तनका लागि गठबन्धन भन्ने जुन मान्यता स्थापित गरेका छन्, यस पटक पनि दलहरू चुक्नुहुँदैन। दलहरूका सामु यो गठबन्धन सत्ताका लागि मात्र होइन, विकास र समृद्धिका लागि हो भन्ने पुष्टि गर्नुपर्ने चुनौती छ। यो चुनौतीको दृढतापूर्वक सामना गरेर मात्रै गठबन्धनको औचित्य पुष्टि हुनेछ। 

    अन्त्यमा
    विश्व दुई भागमा विभाजित होइन, आफ्ना स्वार्थ र स्वभावअनुसार संगठित छ। त्यसैगरी समाज विभाजित छैन, आआफ्ना स्वार्थ रक्षाका लागि दुई भागमा संगठित छ। त्यसैगरी गठबन्धनहरू पनि दुई भागमा विभाजित होइन, संगठित छन् भन्ने सन्देश प्रवाह गर्न जरुरी छ। यसो भयो भने गठबन्धनमा विभाजित मुलुक भौगोलिक रूपमा पनि विभाजन हुने हो कि वा एकआपसमा गठबन्धनहरूलाई प्रयोग गरेर देश विभाजनको संघारमा पुर्‍याइदिने पो हुन् कि भन्ने संशय पनि त्यतिकै छ।

    त्यसैले दुवै परस्पर विरोधी गठबन्धनहरू राष्ट्र विभाजनका लागि, समाज विभाजनका लागि होइन, राष्ट्र निर्माणका लागि, समृद्धि र विकासका लागि भन्ने सन्देश प्रवाह गर्न जरुरी छ। दुई भागमा संगठित अलगअलग गठबन्धनको विकास र समृद्धिको योजनामा प्रतिस्पर्धा बनोस्। सुशासनका बारेमा प्रतिस्पर्धा बनोस्।

खिमलाल देवकोटा

देवकोटा समसामियक नेपाली राजनीतिमा कलम चलाउँछन्!

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • कनहैय योगी

    राजनैतिक बिषे कलम चलाउन त आजको ई युगमा, तानतुन,टालटुल,छेकछाक,थप थाप गरेर लेखनु प्रकाशन गरनु महतोका बिषय हुदैन,हुनछ त के? भंदा लेखन र सोच नै प्रोकसी हुनुनै नेपाली राजनीतिककारको बिशेषता छ र तेसैले नेपाल पर निरभरबादी रहिरहने छ!

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२

    थाहा मिडिया ग्रुप

    थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]